निर्वाचनमा केन्द्रित हुन प्रहरीलाई निर्देशन



नेपाल समाचारपत्र
काठमाडौं
गृहमन्त्री जनार्दन शर्माले पहिलो चरणको निर्वाचन सम्पन्न गर्न प्रहरी महानिरीक्षकलगायत सबै दर्जाका प्रहरी कर्मचारीहरूले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो। दोस्रो चरणको निर्वाचनलाई सम्पन्न गर्न उच्च मनोबलका साथ कार्यसम्पन्न गर्न उहाँले निर्देशनसमेत दिनुभयो।

प्रहरी प्रधानकार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रहरी कर्मचारीलाई निर्देशन विभिन्न चुनौती र साधानस्रोतको अभावका बाबजुद पनि नेपाल प्रहरीले गरेका काम प्रशंसनीय रहेको बताउनुभयो।

उहाँले प्रहरीको बृत्तिविकास, भौतिक संरचना, साधनस्रोत, प्रशिक्षणलगायतका विषयमा क्रमिकरुपमा सुधार गर्नका लागि तत्काल सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिँदै उहाँले यसका लागि समन्वयात्मक रूपमा कार्य गर्न गृहमन्त्रालय सदैव प्रहरीको साथमा रहेको बताउनुभयो।

आफू चुनौतीको सामना गरेर अगाडि बढ्न चाहने उल्लेख गर्दै गृहमन्त्री शर्माले नेपाल प्रहरीमा रहेका चुनौतीहरूको सामूहिक रुपमा मिलेर सामना गर्दै राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो। चेन अफ कमान्डलाई सुदृढ र व्यवस्थित गर्नुपर्ने, अनुशासनको पालना गर्दै विधि स्थापना गर्नुपर्ने र त्यसैबाट समस्या समाधान गर्नुपर्ने तथा समस्याको समाधान संगठन भित्रैबाट खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नयाँ संविधानअनुसार नेपाल प्रहरीको प्रादेशिक र संघीय संरचनाबारे सरकारको ध्यान जाने चर्चा गर्दै उहाँले परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा सांगठनिक रुपमा तयार हुनुपर्ने बताउनुभयो। अन्यायमा परेकाहरूका लागि न्यायको अनुभूति दिलाउने कुरामा मन्त्रालय कटिबद्ध रहने र चेन अफ कमान्डमा रहने प्रहरी संगठनलाई अझै सबल बनाउँदै प्रभावकारी कार्य गर्ने वातावरण सिर्जना गर्न मन्त्रालय तत्पर रहेको बताउनुभयो।

समारोहमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले समसामयिक निर्देशनलाई मार्गदर्शनका रुपमा अवलम्बन गर्नुको साथै यसको मर्म र भावनालाई कार्य सम्पादनमा अक्षरसः पालना गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

प्रहरीका कानूनसम्मत काममा नेपाल सरकारको तर्फबाट सदैव सहयोग, सद्भाव र भरोसा प्राप्त भइरहेको चर्चा गर्दै उहाँले व्यावसायिकतालाई आत्मसात गरी कर्तव्यपालन गरिरहेका होनहार प्रहरी कर्मचारीहरूको बृत्तिविकासमा सुनिश्चिता ल्याउनु हालको आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्