शैक्षिक गुणस्तर सुधारका लागि ३७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक



नेपाल समाचारपत्र, बैतडी ।
बैतडीमा शैक्षिक गुणस्तर सुधारका लागि ३७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।
जिल्लाका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किएको भन्दै शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । पाटन नगरपालिका वडा नं ९ मा रहेको ज्ञानेश्वर माविमा जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले एक कार्यक्रमकाबीच प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
प्रतिबद्धता पत्रमा विद्यालय शान्ति क्षेत्रलाई प्रभावकारी बनाउने, सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा वृद्धि गर्ने, परीक्षा प्रणालीमा सुधार ल्याउने, विद्यालयमा प्राप्त श्रोतहरुको समुचित प्रयोग गर्ने, विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने, सबै बालबालिकाहरुको विद्यालयमा पहुँच पुर्याउने लगायतका कुराहरु समेटिएका छन् ।
यस्तै विद्यालयहरुमा निशुल्क पाठ्यपुस्तक समयमै पुर्याउने, शिक्षण सिकाइलाई प्रभावकारी बनाउने लगायतका बुँदाहरु समेटिएका छन् । शैक्षिक गुणस्तर सुधारका लागि अहिले क्षेत्रभरी नै प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शिक्षाको गुणस्तरमा सुधार ल्याउनका लागि पहल भईरहेको क्षेत्रीय शिक्षा निर्देशक लालजंग चौहानले बताउनुभयो ।
शिक्षाको गुणस्तर सुधारमा सबैभन्दा बढी शिक्षक र अभिभावकहरुले चनाखो हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि समुदायले पहल गर्नुपर्ने र राज्यले प्रदान गरेका श्रोतहरुको सही सदुपयोग हुनुपर्छ ।’
यस्तै जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभिभावक र विद्यार्थीको त्रिपक्षीय सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्