इरानको दोहरो आक्रमणमा १२ जना मारिए



तेहरान, (एजेन्सी)
इरानको राजधानी तेहरानस्थित इरानी संसद् भवन र सर्वोच्च धार्मिक नेता अयातोल्लाह खोमेनीको समाधिस्थलमा भएको दोहरो आक्रमणमा कम्तिमा १२ जना व्यक्तिको ज्यान गएको र अन्य थुप्रै घाइते भएको प्रहरीले जनाएको छ। शुरूमा बन्धक बनाउने अवस्था आइपरेको संसद् भवनको आक्रमण नियन्त्रणमा आएको बताइएको छ। समाधिस्थलमा एकजना आत्मघाती बम आक्रमणकारीको मृत्यु भएको बताइएको छ।

इरानी अधिकारीहरूले तेस्रो आक्रमण असफल बनाइएको बताएका छन्। तथाकथित इस्लामिक स्टेट (आइउस ) ले यी आक्रमणका लागि जिम्मेवारी लिएको छ। आईएसद्वारा इरानमा भएको यो पहिलो आक्रमण हो।इरानी संचार माध्यमले संसद् भवनमा छिरेका ४ जना आक्रमणकारीहरूलाई सुरक्षा फौजले गोली हानी मारेको जनाएको छ।

तर मारिने १२ जनामध्ये आक्रमणकारीहरू पनि परेको वा नपरेको भन्ने स्पष्ट भएको छैन। कालास्निकोभ्स बोकेका तिनीहरू हिजो बिहान अचानक संसद भवनमा छिरेको बताइएको छ। संसद्बाहिर खिचिएको भिडियोमा भीषण गोली चलेको आवाज सुन्न सकिन्छ। ती आक्रमणकारीहरू महिलाको पोशाकमा पब्लिक ढोकाबाट भित्र आएको बताइएको छ।

त्यसै गरी हिजो बिहान स्थानीय समयअनुसार करिब १० बजेर ४० मिनेट जाँदा इस्लामिक गणतन्त्र इरानका संस्थापक अयातोल्लाह खोमेनीको समाधिस्थलमा आक्रमणकारीहरूले गोली चलाएका थिए।

तेहरानका गभर्नरलाई उद्धृत गर्दै सरकारी टेलिभिजन इरिबले उक्त समाधिस्थलमा एकजनाले आत्मघाती विस्फोट गराएको र अर्को आक्रमणकारीलाई सुरक्षाकर्मीले गोली हानी मारेको जनाएको छ।

घटनास्थलको तस्वीरहरूमा ग्रिनेड र स्वचालित हातहतियारका म्यागाजिन्स देखिन्छन्। आक्रमणकारीमध्ये कम्तिमा एकजना भने महिला नै भएको बताइएको छ। यस घटनमा समाधिस्थलमा घुम्न आएका थुप्रै सर्वसाधारण व्यक्ति घाइते भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्