तीन तहमा मतदान केन्द्रको सुरक्षा



नेपाल समाचारपत्र
बाँके
बाँके प्रहरीले मतदान केन्द्रमा तीन तहको सुरक्षा रणनीति बनाएको छ। अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्रको वर्गीकरण गरेको प्रहरीले सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउने जनाएको छ। बाँकेमा २ सय ९५ वटा मतदान केन्द्र रहेका छन्। त्यसमा सय बढी अति संवेदनशील रहेको प्रहरीको अध्ययन रहेको छ। दक्षिणी नाकासँग जोडिएका मतदान केन्द्रलाई अति संवेदनशील मानिएको छ। भारतबाट आपराधिक समूह आएर भाँडभैलो गर्नेदेखि हुलमुलमा उताका नागरिक आएर मत हाल्न सक्नेतर्फ सुरक्षा निकाय सचेत भएको स्रोतले बताएको छ।

बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले बाँकेका हरेक मतदान केन्द्र संवेदनशील रहेको र ती सबै प्रहरीको कन्ट्रोलमा रहने बताउनुभयो। ‘निर्वाचनमा खटिने कर्मचारीदेखि हामीले मत हाल्न आउँदा, मत हाल्दा र फर्किएर घरसम्म पुग्दा नै सुरक्षा दिने व्यवस्था मिलाएका छौं’ –बाँके प्रहरीले भनेको छ।

जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक रहने प्रमुख जिल्ला अधिकारी रविलाल पन्थसहितको टोलीले सबै मतदान केन्द्रको अवस्था बुझ्ने काम गरिरहेको छ। मत हाल्न जाने, फर्किने ठाउँदेखि अपांगमैत्री छन् कि छैनन् भन्ने अवलोकन भइरहेको छ।

सीमावर्ती जिल्ला भएकाले बाँकेमा भारतीय आपराधिक समूहको प्रवेश, निर्वाचनको विरोधमा रहेका समूहको चुनौती रहेको छ। सुरक्षा निकायले निर्वाचन विरोधी गतिविधि गर्ने समूहको सूक्ष्म निगरानी गरिरहेको छ।

बाँके प्रहरीले जिल्लाभरि नै जुनसुकै ठाउँमा घटना हुनेबित्तिकै दश मिनेटमा प्रहरी पुग्ने गरी व्यवस्था मिलाएको दाबी गरेको छ। यद्यपि, जिल्लाका कतिपय प्रहरी चौकीमा प्रहरीको सेटले काम गर्दैनन्। त्यहाँ फोनको व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्