तीन तहमा मतदान केन्द्रको सुरक्षा



 मतदान केन्द्रको अवलोकन गर्दै अधिकारीहरु

नेपाल समाचारपत्र, बाँके । बाँके प्रहरीले मतदान केन्द्रमा तीन तहको सुरक्षा रणनीति बनाएको छ ।
अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्रको वर्गीकरण गरेको प्रहरीले सोही अनुसार सुरक्षा व्यवस्था मिलाउने जनाएको छ । बाँकेमा २ सय ९५ वटा मतदान केन्द्र रहेका छन् ।

त्यसमा सयबढी अति संवेदनशील रहेको प्रहरीको अध्ययन रहेको छ । दक्षिणी नाकासँग जोडिएका मतदान केन्द्रलाई अति संवेदनशील मानिएको छ । भारतबाट अपराधिक समूह आएर भाडभैलो गर्नेदेखि हुलमुलमा उताका नागरिक आएर मत हाल्न सक्नेतर्फ सुरक्षा निकाय सचेत भएको स्रोतले बताएको छ ।
बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले बाँकेका हरेक मतदान केन्द्र संवेदनशील रहेको र ती सबै प्रहरीको कन्ट्रोलमा रहने बताउनुभयो । ‘निर्वाचनमा खटिने कर्मचारीदेखि हामीले मत हाल्न आउदा, मत हाल्दा र फर्किएर घरसम्म पुग्द नै सुरक्षा दिने व्यवस्था मिलाएका छौं, बाँके प्रहरीले भनेको छ ।

जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक रहने प्रमुख जिल्ला अधिकारी रविलाल पन्थसहितको टोलीले सबै मतदान केन्द्रको अवस्था बुझ्ने काम गरिरहेको छ । मत हाल्न जाने, फर्किने ठाउँदेखि अपाङमैत्री छन् कि छैनन् भन्ने अवलोकन भइरहेको छ ।
सीमावर्ती जिल्ला भएकाले बाँकेमा भारतीय अपराधिक समूहको प्रवेश, निर्वाचनको विरोधमा रहेका समूहको चुनौती रहेको छ । सुरक्षा निकायले निर्वाचन विरोधी गतिविधि गर्ने समूहको सुक्ष्म निगरानी गरिरहेको छ ।
बाँके प्रहरीले जिल्लाभरी नै जुनसुकै ठाउँमा घटना हुने बित्तिकै दश मिनेटमा प्रहरी पुग्ने गरी व्यवस्था मिलाएको दावी गरेको छ । यद्यपि, जिल्लाका कतिपय प्रहरी चौकीमा प्रहरीको सेटले काम गर्दैनन् । त्यहाँ फोनको व्यवस्था मिलाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्