सीमा नाका शिल गरींदै, सघन गस्ती र सुरक्षा परिचालन बढाईने



लक्ष्मी कुमार साह, महोत्तरी ।
असार १४ गते हुने दोस्रो स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै महोत्तरी लगायत सर्लाही र रौतहटमा तीन दिनको लागि सीमा नाका शिल गरिने भएको हो ।
बिहारको सितामढी जिल्लासंग नेपालतर्फका महोत्तरीको ३६ किलोमिटर दुरी, सर्लाहीको ५२ किमी दुरी र रौतहटको १६ किमी गरी जम्मा १ सय ४ किलोमिटरको दुरी जोडिएको सीमानाकामा ३ दिनका लागि शिल गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवको अध्यक्षतामा महोत्तरी जिल्लाको वर्दिवास नगरपालिकास्थित छिनमस्ता सशस्त्र प्रहरी गणमा सम्पन्न सीमा सुरक्षा समितिको संयुक्त बैठकमा प्रजिअ यादवले असार १४ गते हुने दोस्रो स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरिएको बताउदै निर्वाचनलाई लक्षित गर्दै बिहारको सितामढी जिल्लासंग नेपालतर्फ जोडिएको १ सय ४ किलोमिटरको दुरीमा दुवै तर्फका केन्द्रिय निकायबाट आपराधिक गतिविधि हुन नदिन सजगता अपनाईने निर्णय गरिएको बताए ।

उनले आवागमन गर्नेमाथि कडा निगरानी राख्ने, आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने र शान्ति व्यवस्था सबल बनाउन दुवै तर्फले केन्द्रिय निकायमा अनुरोध गर्ने निर्णय गरेको बताए । निर्वाचन अवधिभर दुवैतर्फका सुरक्षाकर्मीले सीमा क्षेत्रमा सघन गस्ती र सुरक्षा परिचालन बढाउने सहमति समेत भएको छ ।
बैठकमा भारतको सितामढीका डिएम राजिव रोशनले असार १४ गते हुने दोस्रो स्थानिय तहको निर्वाचनलाई मध्य नजर गर्दै संयुक्त बैठकले भारतको सितामढीसंग नेपालतर्फ जोडिएको १ सय ४ किलोमिटरको दुरीमा असार ११ गते मध्यरातदेखि १४ गते हुने निर्वाचन मतदान अवधि अबेर राती सम्मको लागि सीमा नाका पूर्णरुपले शिल गरिने निर्णय भएको बताए ।
बैठकमा महोत्तरी प्रजिअ वीरेन्द्र कुमार यादव, सर्लाही र रौतहटका प्रजिअहरु प्रदीपराज कँणेल र उद्धव थापा र तिनै सुरक्षा निकायका प्रमुखहरु र विहारको सितामढी जिल्लाका डिएम राजिव रोशन नेतृत्वमा अन्य सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्