रहलपहल



हिजो नयाँ प्रधानमन्त्री छान्नु अघि संसद्मा देखिएका विभिन्न दृश्य धरहरालाई पनि रमाइलो लागेको छ। हिजोको पहिलो बैठकमा एमाले नेता केपी शर्मा ओली र निवर्तमान प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डबीचको जुहारी निकै रमाइलो थियो। ओलीले बचन पालना गर्न एमाले पक्का छ भन्दा माओवादीका सांसदहरु मुसुमुसु हाँसिरहेका थिए। सायद यसअघि प्रधानमन्त्री पद प्रचण्डलाई सुम्पने बेलामा भएको घटनाक्रम उनीहरुले संझेका होलान् भन्ने धरहराको अनुमान छ।

ओली बोल्दै गर्दा निवर्तमान उपप्रधानमन्त्री बिजयकुमार गच्छदार झकाइरहनुभएको धरहराबाट देखियो। राति के गर्नुभएछ र उहाँ संसद्मा सुत्नुभएको होला भनेर धरहरावरपर धेरैले प्रश्न उठाएका थिए। धरहराले टाढाबाट खिचेकोले मधुरै भए पनि माननीय गच्छदारको तस्वीर प्रस्तुत गरेको छ।

धरहरावरपर धेरैले भने नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाको कुरा नबुझेर हैरान भएको देखियो। जेहोस् उहाँ चारपटक प्रधानमन्त्री भएको अनुभवी मान्छे भएकाले बोली नबुझिए पनि उहाँको कार्यकाल राम्रै होला भन्ने अहिलेलाई ठानौं। देउवाले राखेको कुरालाई प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने बेलामा प्रचण्डले नै उहाँले प्रष्ट ढंगले कुरा राख्नुभएको भनिसकेपछि अब चिन्ता नगर्नु राम्रो होला। समर्थन गर्ने क्रममा कांग्रेस नेता रामचन्द्र पौडेल मञ्चतिर जाने क्रममा एमालेका केही सांसदले टिप्पणी गर्दै गरेको धरहराबाट देखियो– विचरा⁄ मुटुमाथि ढुंगो राखेर समर्थन।

प्रतिक्रिया दिनुहोस्