देउवा ४०औं प्रधानमन्त्री



बीपी साह, काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित हुँदै नेपालको ४०औं प्रधानमन्त्री बन्नुभएको छ। संसद्को सबैभन्दा ठूलो पार्टीका सभापति देउवा संसद्को तेस्रो ठूलो पार्टी माओवादी केन्द्रको सहयोगमा झन्डै दुई तिहाइ मतले निर्वाचित हुनुभएको हो।

व्यवस्थापिका संसद्को कुल सदस्य संख्या ५ सय ९३ मध्ये प्रधानमन्त्रीको निर्वाचनमा ५ सय ५८ मत खसेकामा देउवाको पक्षमा ३ सय ८८ मत र विपक्षमा १ सय ७० मत खसेको छ। मंगलबार व्यवस्थापिका संसद्मा ३५ जना सांसद सहभागी भएका थिएनन्।

सत्तारूढ कांग्रेस, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपालसहित अन्य साना दलको समर्थनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो। उहाँको सत्ता गठबन्धनमा माओवादी, राप्रपा र लोकतान्त्रिक फोरम सरकारमा सहभागी हुने जनाइसकेका छन्।

देउवा ४९ वर्षको उमेरमा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो भने दोस्रोपटक २०५८ साल र तेस्रोपटक २०६१ सालमा प्रधानमन्त्री हुनुभएको थियो।

यसअघिका कुनै पनि कार्यकाल उहाँ लामो समयसम्म टिक्न सक्नुभएको थिएन। पहिलोपटक प्रधानमन्त्री हुँदा एमालेले अविश्वासको प्रस्ताव ल्याएका बेलामा आफ्नै पार्टीका दुई सांसदको अनुपस्थितिका कारण पदच्यूत हुनुपरेको थियो। त्यतिबेलै माओवादी युद्ध पनि शुरु भएको थियो। देउवा दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि पार्टीभित्रैबाट आलोचित हुनुभयो। त्यसपछि पार्टी विभाजन गरेर देउवाले निर्वाचन घोषणा गर्नुभएको थियो। निर्वाचन गराउन असफल भएको भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई पदच्यूत गर्नुभयो।

उहाँ तेस्रोपटक राजा ज्ञानेन्द्र कै कृपामा प्रधानमन्त्री बन्नुभएको थियो। तर ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिदैं देउवा असक्षम भनेर पदच्यूत गर्नुभएको थियो। चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाले आफ्नो पहिलो प्राथमिकता बाँकी रहेका निर्वाचन र संविधान संशोधन हुने बताउनुभएको छ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद्बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले आफ्नो पहिलो प्राथमिकता संविधान संशोधन गरेर सबै पक्षलाई समेटी निर्वाचन गराउनु रहेको बताउनुभयो। उहाँले भारत र चीनसँगको सम्बन्धलाई सदृढ गर्दै आर्थिक बृद्धिदर अगाडि बढाउने बताउनुभयो।

देउवा प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सकारात्मक काममा सहयोग गर्ने र नकारात्मक काममा विरोध गर्ने प्रतिक्रिया दिनुभयो।तीन पटकसम्म असफल हुँदै आउनु भएका देउवालाई यस पटक सफल हुन खनालले शुभकामनासमेत दिनुभयो।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले इमानदारिता देखाउँदै देउवालाई प्रधानमन्त्री बनाएको दाबी गर्नुभयो। उहाँले देउवासँगको सहकार्य लामो समयसम्म टिक्ने र देशले विकासको गति लिने दाबी गर्नुभयो।

ससर्त समर्थन
राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले देउवालाई सर्तसहित समर्थन गरेका छन्। कांग्रेस र माओवादीसँग तीन बुँदे सहमति गर्दै राजपा र फोरम नेपालले समर्थन गरेका हुन्। समर्थन गरे पनि दुबै पार्टी सरकारमा सहभागी नहुने जनाइसकेका छन्।

शपथ आज १ः४५ बजे

काठमाडौं, (नेस)
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ। मंगलबार संसद्बाट ४०औं प्रधानमन्त्रीका रूपमा निर्वाचिन हुनुभएका प्रधानमन्त्री देउवाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनुहुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस सल्लाहकार माधव शर्माका अनुसार आज दिउसो १ः४५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम राखिएको छ।

मोदीको बधाई

काठमाडौं, (नेस)
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ टेलिफोन गरेर बधाई दिनुभएको छ। प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई टेलिफोन गरेर भारत नेपाललाई पूर्णरूपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ। प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले देउवाको भनाइ उद्धृत गर्दै भन्नुभयो– ‘बधाई दिनुभएकामा धन्यवाद, विगतमा पनि भारतबाट सहयोग रहँदै आएको छ र दुई देशको आपसी हित हुने गरी काम गर्नेछु।’

संसद्मा तीन शीर्षको घोचपेच

मधुसूदन रायमाझी, काठमाडौं
प्रधानमन्त्री पदको निर्वाचनअघि मंगलबारको संसद्को बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच एक अर्कामा आरोप प्रत्यारोप र घोचपेच भएको छ। विगत कोटइउनेदेखि लिएर चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयसम्मलाई लिएर आरोप–प्रत्यारोप र घोचपेच चलेको हो।

बैठकको शुरूमै बोल्नुभएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा मतपत्र च्यातिएको विषयमा बढी चर्चा गर्नुभएको थियो। ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति प्रहार गर्नुभएको थियो।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले राम्रो काम गर्दा पनि एमालेले दम्भ देखाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। एमाले अध्यक्ष ओलीले धन्यवाद दिनुको सट्टा दम्भ देखाएको आरोप लगाउनुभयो।

प्रधानमन्त्री प्रचण्डले भरतपुरमा मतपत्र च्यात्नु गलत भएको बताउँदै कुनै एउटा घटनालाई सामान्यीकरण र सैद्धान्तिकरण नगर्न आग्रहसमेत गर्नुभयो। घटना भएको भोलिपल्ट आफूले निर्वाचन आयोगका पदाधिकारीहरूलाई बोलाएर भरतपुर घटना गलत भएको भन्दै जे ठीक लाग्छ त्यही गर्न आग्रह गरेको दाबी गर्नुभयो। उहाँले प्रचण्डले छोरीसँगको संवादको प्रसंग कोटइउँदै भन्नुभयो– ‘भरतपुर घटनाको केही दिनअगाडि मेरो र छोरी रेणु दाहालको बीचमा फोन भएको थियो, मैले भनेको थिएँ, तिमीले जिते पनि जित्यौ, हारे पनि जित्यौं ढुक्कसँग बस्नु।’ उहाँले मतपत्र च्यातिएको घटना गलत भएको बताउनुभयो।

लोकतान्त्रिकरणको इमान्दारितामाथि नै प्रश्न उठाएकोमा ओलीप्रति असन्तुष्टि जनाउदै उहाँले दोस्रो संविधानसभामा पार्टीले नराम्रो हार व्यहोरेपछि पार्टीकै केही नेताले मतपत्र च्यातौं र जलाऔं भनेरभन्दा आफूले रोकेको खुलासा गर्नुभयो। गणतन्त्रप्रतिको निष्ठाका कारण सेना र हतियार समायोजन जस्ता जोखिमपूर्ण काम सहजतापूवर्क गरेको दाबी गर्नुभयो।

एमालेकै इतिहास हेर्ने हो भने पनि कति वर्ष लाग्यो लोकतान्त्रिकरण हुन ? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘तपाईंहरूले के–के गर्नुभएको थियो इतिहास त सबैले हेरेकै छन्। न्यायालयका विरुद्ध के–के भएका थिए भन्ने पनि हामीलाई थाहा छ।

सरकारले दोस्रो चरणको चुनाव असारमा निर्णय गर्दा एमालेका नेताहरूले अब स्वीमिङ कस्टम लगाएर भोट हाल्न जानुपर्ने भयो भनेको स्मरण गर्दै प्रचण्डले डुंगा चढे पनि, स्वीमिङ कस्टम लगाए पनि असार १४ गते भोट हाल्न जानैपर्ने बताउनुभयो।

सबै तहको निर्वाचन गरी संक्रमणकालको अन्त्य नगरेसम्म अवस्था सहज नहुने बताउँदै प्रचण्डले त्यसैले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। संविधान निर्माणदेखि यो कालको अन्त्यका लागि राष्ट्रिय सहमति आवश्यक भएकोमा आफू गम्भीर रहँदै उल्लेख गर्दै राजनीतिक स्थिरता र सहमति भए नेपालको आर्थिक समृद्धि पनि अगाडि बढ्छ, विकास आफैं हुन्छ भन्ने विश्वास लिएको बताउनुभयो।
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले अब बन्ने सरकारले आउने माघ ७ गतेभित्र प्रदेश र संघीय निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

एमाले अध्यक्ष ओलीले प्रदेश र संघीय निर्वाचनका बारेमा आशंका जनाएपछि उहाँले प्रदेश र केन्द्रको निर्वाचन माघ ७ गतेभित्र नै गर्ने भएकाले शंका नगर्न आग्रह गर्नुभयो।

आफ्नो नेतृत्वमा बन्ने सरकार लोकतान्त्रिक मूल्य, मान्यता र परम्पराको पालना गर्ने र अनुशरण गर्दै स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन गराउन निर्वाचन आयोगलाई सघाउन सदा तत्पर रहने बताउनुभयो।

प्रतिपक्षी दलका नेताले भरतपुर महानगरपालिकाको निर्वाचन र मतगणनाको सम्बन्धमा उठाएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो– ‘भरतपुरको सम्बन्धमा निर्णय निर्वाचन आयोगले गरेको हो। हामीले निर्वाचन आयोगको निर्णयलाई स्वीकार मात्र गरेका हौं। यसमा चित्त नबुझेर प्रतिपक्षी दल अदालत गएको छ, जे छ, अदालतको आदेशमा छ।’

उहाँले प्रधानमन्त्री प्रचण्डले दिनुभएको राजीनामाका बारेमा प्रतिपक्षी दलका नेताले लिनुभएको चिन्तालाई सकारात्मक रुपमा लिँदै यस्तै चिन्ता पछि पनि गर्दै जान एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो।

सरकारको नेतृत्व परिवर्तनको विषय सत्ता साझेदार दलहरूको सहमतिअनुसार चलेको उल्लेख गर्दै दलबीच भएको सहमतिअनुसार नै नेतृत्व परिवर्तन भएको बताउनुभयो। आफ्नो पार्टीको आदर्श नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद रहेको बताउँदै एमालेले आफूहरूलाई राष्ट्रियता पाठ सिकाउनु आवश्यकता नरहेकाले पार्टी यो तीन कुरामा कसैसँग सम्झौता नगर्ने दाबी गर्नुभएको थियो।

साथै देउवाले मतपत्र च्यात्ने काम विगतमा पनि भएको स्मरण गर्दै मतपत्र पहिले पनि च्यातिएका थिए, यो नौलो होइन, पुरानो कुरा नगरौं जवाफ दिनुभएको थियो। देउवाले ओलीको दाबीको खण्डन गर्दै हुलाकी राजमार्ग एमालेले नभएर गिरिजाप्रसाद कोइरालाले शुरु गरेको बताउँदै पूर्वपश्चिम राजमार्ग चौडा बनाउने योजना पनि कांग्रेसले नै ल्याएकाले हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको चिन्ता गरेकोमा ओलीलाई धन्यवाद दिनुभयो।

नेकपा एमालेका अध्यक्ष ओलीले सत्तापक्ष चुनाव हार्न तयार नभएको आरोप लगाउनुभयो। भरतपुर महानगरपालिका १९ को केही मतपत्र च्यातिएको भरमा प्रायोजित रूपमा पुनः मतदानमा जाने निर्णय डरलाग्दो र दुःखद् भएको बताउननुभयो।

‘चुनावमा हारजित हुन्छ। तर, सत्तापक्ष केहीकेही ठाउँमा हार्न तयार भएको छैन’ –ओलीले भन्नुभयो। भरतपुरमा मतपत्र च्यात्नेलाई तत्काल प्रहरीले नियन्त्रणमा लिँदा पनि ‘कब्जा’ भन्नु अनौठो भएको बताउँदै निर्वाचन अधिकृतले मतगणनास्थल रणभूमितुल्य भएको र मतगणना सहज रूपमा गर्न नसक्ने अवस्था भएको रिपोर्ट पठाएको बताउनुभयो।

ओलीले आफ्नो पार्टी मधेसी विरोधी हुन नसक्ने बताउँदै विगतमा कांग्रेस र मधेसवादी दलहरूबीच भएको सहमति पालना नहुँदा विवाद सृजना भएको बताउनुभयो।आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम छुटयाएको बजेटअनुसार नै हुलाकी राजमार्ग र फास्ट ट्रयाक निर्माणको काम अगाडि बढाएको बताउनुभयो। उहाँले प्रचण्डले दोस्रोपटक फास्टट्रयाकको शिलान्यास गरेको भन्दै व्यंग्य गर्दै पहिला प्रधानमन्त्रीका रूपमा दिएको एउटा मन्तव्यमा ११२ वटा गरिनेछ भनिएकोमा कति गरिए? भन्ने प्रश्न पनि सोध्नुभएको थियो।

देउवाद्वारा प्रचण्डको प्रशंसा
देउवाले माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डको प्रशंसा गर्नुभएको छ। व्यवस्थापिका संसद्मा बोल्दै देउवाले शान्ति प्रक्रिया स्थापनाका लागि गिरिजाप्रसाद कोइराला र प्रचण्डको उच्च भूमिका रहेको बताउनुभएको हो। प्रचण्डले राजनेताको भूमिका निर्वाह गरेको बताउँदै देउवाले भन्नुभयो–, ‘नेपाल अविश्वास बढी भएको देश हो। शंका उपशंका भएको देश हो। कहाँ छोड्छन र प्रचण्डले भन्ने गर्थे, तर सहमतिअनुसार प्रचण्डले सरकारको नेतृत्व हस्तान्तण गर्नुभयो, मेन अफ कमिटमेन्टका रूपमा उहाँ देखिनुभयो।

प्रतिक्रिया दिनुहोस्