नाकामा संयुक्त गस्ती शुरु



नेपाल समाचारपत्र, बाँके । बाँकेमा संयुक्त गस्ती शुरु गरिएको छ ।
डेढ हप्ता अघि सीमावर्ती दुई देशका अधिकारीहरुले गरेको निर्णय अनुसार बाँकेको जमुनाहा–साईगाउँ खण्डमा मंगलबार संयुक्त गस्ती गरिएको हो ।

जिल्लाले बनाएको निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत संयुक्त गस्ती थालिएको बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले बताउनुभयो । दुई देशका अधिकारीहरुको बैठकपछिको पहिलो संयुक्त गस्तीमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, एसपी राई, सशस्त्र प्रहरीका एसपी राजु अधिकारी सहभागी थिए ।
जमुनाहादेखि साईगाउँसम्मको करिव ५ किलोमिटरमा संयुक्त गस्ती गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज सुधीर खड्काले बताउनुभयो । एसपी राईका अनुसार, संयुक्त गस्तीमा नेपाल र भारतका गरी ५९ जना सहभागी थिए । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का इन्स्पेक्टर जगदीश सिंहको नेतृत्वमा १३ जना गस्तीमा आएका थिए । नेपालतिरबाट सशस्त्र र नेपाल प्रहरी सहभागी थिए ।
सो अवसरमा प्रजिअ पन्थले नेपाल र भारतको सदियौंदेखिको सम्बन्धलाई अझ मजबुत गराउनका लागि सीमामा हुने अपराधलाई दुवै देश मिलेर रोक्नु पर्ने बताउनुभयो । जेठ १२ गते नेपालगञ्जमा भारत बहराइच र श्रावस्ती जिल्लाका डिएम र प्रहरी प्रमुख तथा बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीचको बैठकले नेपालमा हुन थालेको स्थानीय निकायको चुनावलाई लक्षित गरी चुनावको ४८ घण्टा अघिदेखि नाका सील गर्नेदेखि संयुक्त गस्ती गर्ने निर्णय भएको थियो ।
सीमावर्ती क्षेत्रमा चुनाव हुँदा भारतबाट अपराधिक समूह हतियारसहित प्रवेश गरेर धाँधली गर्न सक्नेतर्फ बाँके प्रहरी, प्रशासन सचेत देखिएको छ । दुई देशका अधिकारीहरुको बैठकमा मुख्यसँगै छोटी नाकाहरुमा पनि कडाई गर्ने निर्णय भएको छ । बाँकेको दक्षिणभाग दशगजासँगै जोडिएकाले त्यस क्षेत्रमा विशेष निगरानी गर्नुपर्नेमा जोड दिइएको छ । मंगलबार ३१ नम्बर पिलरतिर गस्ती गरिएको थियो ।
साना हतियार र विष्फोटक पदार्थको ओसारपसारदेखि लागु औषध तथा मानव बेचबिखनका लागि नेपालगञ्ज नाका जोखिममा मानिन्छ । पश्चिम नेपालको व्यस्त नाका भएर भीडभाडमा भारत तथा खाडीमुलुकसम्म चेली पु¥याउन, हतियार र लागु औषधका साथै तस्करीका सामान भित्र्याउन कारोबारीहरु लागि परेको पाइन्छ । चुनाव केन्द्रित सुरक्षा योजनाले नाकामा सुक्ष्म जाँच थालेपछि यस्ता गतिविधिमा कमी आएको छ ।
इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज खड्काले सीमावर्ती स्थानीय सुरक्षा निकायका बीचमा सौहार्दपूर्ण वातावरण रहेकाले अब आवश्यकता अनुसार संयुक्त गस्ती र जाँच हुने बताउनुभयो । ‘हामीहरुका बीचमा धेरै राम्रो सम्बन्ध छ । जतिबेला पनि संयुक्त गस्ती र जाँच गर्न सक्छौं, इन्चार्ज खड्काले भन्नुभयो ।
बाँकेका प्रहरी–प्रशासन र सीमावर्ती भारतीय अधिकारीहरुका बीचमा विश्वासिलो सम्बन्ध कायम रहेकाले पछिल्ला दिनमा दुवैतिर सहयोग आदान प्रदान भइरहेको स्रोतले बताएको छ । ‘अपराधी’ लाई नियन्त्रण लिने कुरामा दुवैतिरबाट सहयोग मिलेको छ, स्रोतको भनाई छ । सीमावर्ती जिल्ला भएकाले नेपालगञ्जमा अपराध गरेर भारतमा लुक्ने र उता अपराध गरेर यता आएर लुक्ने गरेको पाइन्छ । यस्ता अपराधीलाई एक अर्काले पक्राउ गरेर दिनका लागि हरेक पटक हुने दुई देशीय अधिकारीको बैठकमा नाम र फोटो साटासाट हुने गर्दछ । ‘पहिला फोटो र नाम साटासाट मात्रै हुन्थे, अहिले काम पनि हुन थालेको छ, स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्