६ मुस्लिम देशद्वारा कतारसँगको राजनीतिक सम्बन्ध विच्छेद



दुबई, (एजेन्सी)
साउदी अरेबिया, इजिप्ट, बहराइन, यमन, लिबिया र संयुक्त अरब इमिरेट्सले कतारसँगको राजतीनिक सम्बन्ध विच्छेद गरका छन्।

ती ६ वटा मुस्लिम देशहरुले कतारमाथि इस्लामिक स्टेट र अल कायदाको समर्थन गरिरहेको आरोप लगाएका छन्। तर कतारले ती सबै आरोपलाई अस्वीकार गरेको छ।

संयुक्त अरब इमिरेट्सले कतारसँगको सम्बन्ध विच्छेदको घोषणालगत्तै ४८ घण्टामा कतारका सबै कूतनीतिक व्यक्तिहरुलाई देश छोड्ने आदेश दिएको छ। त्यसै गरी संयुक्त अरब इमिरेट्सको सबै एयरलाइन्सले कतारको उडान स्थगित गरेका छन्।

यमनमा हुथी विद्रोहीसँग लडिरहेको साउदी अरेबियाको नेतृत्वको गठबन्धनबाट कतारलाई अलग गरिएको छ।

त्यसै गरी रियादले कतारसँगको आफ्नो स्थल, हवाई तथा सामुद्रिक सीमा बन्द गरेको सउदी अरेबियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

कतारले केही मुस्लिम देशहरुबाट चालेको उक्त कदमलाई आधारहीन र अनुचित भएको बताएको छ। इजिप्ट र ५ खाडी देशले कतारसँग सम्बन्ध विच्छेद गरेको पछिल्लो ताजा कदमलाई खाडी देशमा आएको विभाजनका रुपमा हेरिएको छ।

इजिप्टको विदेश मन्त्रालयले पनि कतारका जहाज तथा विमानका लागि हवाईक्षेत्र तथा बन्दरगाह बन्द भएको जानकारी दिएको छ। इजिप्टले कतारमाथि प्रतिबन्धित इस्लामिक कट्टरपन्थी समूह मुस्लिम ब्रडरहुडलाई सहयोग गरिरहेको आरोप लगाएको छ। त्यसै गरी बहराइनको सरकारी समाचार एजेन्सीले कतारले उसको देशको आन्तरिक मामिलामा दखल दिएको आरोप लगाएको छ।

इजिप्टको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कतारले इजिप्टविरुद्ध शत्रुतापूर्ण नीति अख्तियार गर्दै आइरहेको आरोप लगाएको छ। कतारले मुस्लिम ब्रदरहुडसहित कट्टरपन्थी संगठनको समर्थन गरेको र इजिप्टको सुरक्षालाई निसाना बनाउने कट्टरपन्थी कार्यलाई प्रश्रय दिएको आरोप पनि लगाएको छ।

उक्त विज्ञप्तिमा इजिप्टको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र अरब देशको राष्ट्रिय सुरक्षाका लािग खतरा उत्पन्न गराउने खालको आरोप पनि लगाएको छ।
साउदी अरेबियाले विगत केही वर्षदेखि दोहामाथि सार्वजनिक र गोप्यरुपमा साउदी अरेबियको सम्प्रभुतालाई खतरामा पुर्याउने र देशमा विभाजन ल्याउने उद्देश्यले गम्भीर उल्लंघन गरेको आरोप लगाएको थियो।

साउदी अरेबियाले बहराइन र साउदीको कतिफ प्रान्तमा मुस्लिम ब्रदरहुड, इस्लामिक स्टेट र इरानी समर्थित कट्टपन्थी संगठनसहित पृथकतावादीलाई मद्दत गरेको कतारमाथि आरोप लगाएको छ।

ती ६ देशले कतारलाई इरानको सहयोगी भएको आरोप पनि लगाएको छ तर कतारले ती आरोपहरुलाई अस्वीकार गर्दै आइरहेको छ।

यसअघि ती देशहरुले कतारका अमिर सेख तमिम बिन हमद अल थानीको विवादास्पद टिप्पणी प्रसारित गर्दै आइरहेको समाचार वेबसाइटमाथि रोक लगाएको थियो। कतारस्थित अल जजिरा नेटवर्कको एउटा प्रभावशाली वेबसाइटसहित थुप्रै वेबसाइटमाथि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनमा रोक लगाइएका छन्।

कतारले सेख तमिमको भनिएको उक्त टिप्पणी कीर्ते भएको र उक्त समाचार एजेन्सी ह्याक भएपछि उक्त सामग्री इन्टरनेटमा आएको स्पष्टीकरण दिएको थियो।

कतारको सेखको विवादित टिप्पणीमा थुप्रै संवेदनशील क्षेत्रीय मुद्दा उठाएको थियो तर सबैभन्दा धेरै असन्तुष्टि साउदी अरेबियाका कट्टर विरोधी इरानको प्रशंसा र साउदीको निन्दा गरिएको थियो।

प्रतिवेदनमा सेख तमिमले भनेका थिए– ‘इरानबाट अरबसँगको शत्रुताको कुनै कारण छैन र इजरायलसँग हाम्रो सम्बन्ध राम्रो छ।’

उक्त बयानमा इरानका समर्थक लेबनानस्थित सिया आन्दोलन हिज्बुल्लाह समूहको पक्षमा पनि टिप्पणी गरिएको थियो।

कतारले उक्त टिप्पणी फर्जी भएको बताएका भए पनि साउदी अरेबियाको सञ्चार माध्यममा त्यसलाई लिएर समाचार आइरहेको थियो। कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दलरहमान अल थानीले ह्याकिङका दोषीहरुलाई कानुनी कारबाही गरिने बताएका थिए।

उनले यसलाई कतारविरुद्ध सञ्चारमा चलाइएको अभियान भएका बताएका थिए।
गत महिना आफ्नो पहिलो विदेश यात्रामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियादमा अरब इस्लामिक–अमेरिका सम्मेलनमा भाग लिएका थिए। उक्त सम्मेलनमा उनले इरानको आलोचना गर्दै कडा टिप्पणी गर्ने क्रममा तेहरानले कट्टरपन्थीलाई प्रोत्साहन गरिरहेको र क्षेत्रीय विवादमा हस्तक्षेप गरिरहेको आरोप लगाएको थियो।

कतारविरुद्ध साउदी अरेबिया, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सको यो कदम इरानसँगको बढ्दो तनाबको बीचमा आएको हो। कतार इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीको पनि समर्थक हो भने सिरियामा पनि इस्लामिक विद्रोही समूहका समर्थक मानिएको छ।

सन् २०१३ मा इजिप्टका इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाले हटाएपछि कतार र अन्य खाडी देशहरुबीच तनावको शुरुआत भएको हो। साउदी सरकार सञ्चालित सञ्चार माध्यममा इजिप्टको मुस्लिम ब्रदरहुडका लागि कतारको समर्थनलाई लिएर असन्तोष व्यक्त गरिएका समाचार आइरहेका छन्।

मोहम्मद मोर्सी हिज्बुल्लाका सदस्य थिए जसलाई अरब देशले कट्टरपन्थी संगठन मानेका छन्। सन् २०१४ मा पनि साउदी अरेबिया, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारमाथि उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै आफ्ना राजदूतलाई फिर्ता बोलाएका थिए। इजिप्टले यसअघि नै अल जजिरामाथि कट्टरपन्थी भड्काएको र गलत समाचार बनाएको आरोप लगाएका थिए।

तेल र ग्यासका लागि अत्यन्त धनी मानिएको कतारको राजनीतिक मामिलामा भूमिका प्रखर बन्दै गइरहेको छ। प्रभावशाली अलजजिरा न्युज नेटवर्क पनि कतारमा छ र यो विश्वमा सबैभन्दा लोकप्रिय सञ्चार माध्यम मध्येको एक हो। उक्त नेटवर्कप्रति साउदी अरेबिया र खाडीका अन्य देशको धारणा आलोचनाले भरिएका छन्।

ऐतिहासिक रुपमा ६ देशमा साउदी अरेबियाले गल्फ कोपरेसन काउन्सिलको नेतृत्व गर्दै आइरहेको छ र कतारको सरकारसँग सञ्चार माध्यमलाई नियन्त्रणका लागि सम्झौता पनि गरिसकेको छ।
अलजजिरा नेटवर्कको झुकाव इजिप्टको इस्लामिक शक्तिको पक्षमा रहेको र उसले इजिप्टका अपदस्थ पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई हटाइएको घटनालाई सेनाको सत्ता कब्जा भन्दै आइरहेको छ।

इजिप्टमा अलजजिराका पत्रकारहरुमाथि कारबाही पनि भइसकेको छ। अलजजिरा अरब तथा इस्लामिक देशमा मात्र नभई युरोपेली मुलुकहरुमा पनि लोकप्रिय रहेको छ। तर आलोचकहरुले यसलाई कतारको विदेश नीतिको एक औजारका रुपमा मानेका छन्।

प्रतिक्रिया दिनुहोस्