मैलुङखोला जलविद्युत्को साधारण शेयर निष्काशन



नेपाल समाचारपत्र
रसुवा
सुवाको डाँडागाउँमा रहेको मैलुङखोला जलविद्युत् कम्पनीले बिहीबारदेखि जिल्लाबासीका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। प्रभावित क्षेत्र र आयोजना निर्माण भएको रसुवाका सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको हो।

कम्पनीले वितरण गर्ने ११ करोड ४३ लाख कित्ता शेयरमध्ये पहिलो चरणमा रसुवाबासीलाई तीन लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरिन लागिएको कम्पनीका प्रबन्धक बसन्त मरहठ्ठाले जानकारी दिनुभयो।

पहिलो चरणमा स्थानीयबासीका लागि प्रतिशेयर सय रुपियाँमा तीन लाख ६८ हजार १४४ कित्ता शेयरमध्ये आयोजना प्रभावित क्षेत्र साबिकका हाकु, डाडागाउँ र राम्चे गाविसका प्रभावितलाई १ लाख ८४ हजार ७२ कित्ता र बाँकी १ लाख ८४ हजार ७२ कित्ता सेयर जिल्लाबासीलाई वितरण गर्न लागिएको कम्पनीका प्रबन्धक बसन्त मरहठ्ठाले जानकारी दिनुभयो।

ऋण काढेर शेयर खरिद
रसुवाका नागारिकका लागि भनेर चिलिमे जलविद्युत कम्पनीले पहिलोपटक २०६६ सालमा आईपीओ जारी गरेको थियो।
जिल्लाबासीका लागि १० प्रतिशत शेयर अनिवार्य दिने व्यवस्था त्यही बेलादेखि शुरू भएको हो। शुरूआतमा आईपीओ जारी गर्दा पैसा हराउँछ, शेयरमा लगानी गरेर फाइदा हुँदैन भनेर हल्ला भएपछि धेरैजनाले शेयर खरिद गरेनन्। तर, जतिले शेयर खरिद गरे उनीहरू हिजोआज सामान्य कृषकबाट व्यवसायी बनेका छन्। त्यतिखेर पनि ऋण काढेर शेयर भर्ने धेरै नागारिक थिए। शेयर निष्काशनको समयमा जनता बैंकले ऋणमा शेयर खरिद गर्ने व्यवस्था गरिदिएपछि ऋणमा शेयर भर्ने धेरै भएका हुन्।

अहिले पनि सबै नागारिकसँग शेयरमा लगानी गर्नसक्ने अवस्था छैन। त्यसकारण पनि ऋण काढ्ने तयारीमा छन्। पार्वतीकुण्ड गाउँपालिका–१ का बलराम विकले १५ हजार ऋण काढेर चिलिमेको शेयर खरिद गर्नुभएको थियो। अहिले विकको २६० किस्ता शेयर पुगेको छ। ‘अहिले एक जना बराबर एक सय किस्ता भर्ने र सो भन्दा बढी शेयर खरिद गर्न पाएमा ऋण काढेरै भए पनि एक जना बराबर ५०० किस्तासम्म भर्ने योजना रहेको विकले सुनाउनुभयो।

घर बनाउन दिएको किस्ता शेयरमा
भूकम्पले भत्किएका निजी आवास निर्माणका लागि सरकारले उपलव्ध गराएको पहिलो किस्ता ५० हजार धेरैले दशैं खर्चमा सकाए। अहिले किस्ता बुझेकामध्ये १० प्रतिशतले मात्र घर निर्माण थालेका छन्। घर नबनाएर बैंकमा जम्मा गरेर राखेको रकम अब शेयरमा हाल्ने तयारीमा भूकम्प प्रभावित रहेका छन्। घर बनाउन शुरू नगरेका प्रभावितमध्ये धैरेले शेयरमा लगानी गर्ने सोचका साथ अघि बढेका छन्।

बैंक र प्रशासनमा भीड
शेयर खरिदका लागि जिल्ला प्रशसन कार्यालयमा नागरिकता बनाउने र बैंकमा खाता खोल्नेको भिड लागेको छ। दैनिक १०⁄१५ जना सेवाग्राही पुग्ने प्रशासनमा एक सातादेखि सेवाग्राहीको भीड लागेको छ। मंगलबार मात्र ९५ जनाले नागरिकता बनाएका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो। साथै जिल्लामा सञ्चालित निजी बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेको भीड लागेको छ।

प्रतिक्रिया दिनुहोस्