रासायनिक मलको अभाव हटाऊ



नेपाल कृषिप्रधान देश हो । नेताहरुका लागि मात्र हैन नीति–निर्माताहरुको पनि प्राथमिकताको विषय बनेको देखिन्छ कृषिक्षेत्र । तर निर्वाहमुखी र परम्परागत कृषिका कारण किसानहरु आत्मनिर्भर हुन सकेका छैनन् । त्यसमाथि खेती लगाउने सिजनमा आवश्यक बीउबिजन तथा रासायनिक मलको अभावमा किसानहरु सधैँ रुमल्लिरहनुपरेको छ । किसानको हितका लागि बनेका नीति तथा राजनीतिक दलहरुको नारा कागजमा मात्र सीमित बनेको छ ।

अहिले अधिकांश जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । पहाडी जिल्लाका कृषकको बारीमा उम्रिएका मकैमा राख्नुपर्ने रासायनिक मलको अभाव भएपछि बारीमा हुनुपर्ने किसानहरु कृषि सामग्री संस्थानमा दिनभर बिताउन थालेका छन् । माघ महिनादेखि अभाव शुरु भएको रासायनिक मल जेठको दोस्रो साता भैसक्दासमेत सहज हुन सकेको छैन । यतिखेर मकैमा मल राख्ने सिजन शुरु भएको छ । कतै धानको रोपाइँसमेत शुरु भैसकेको छ । खेतीको सिजन शुरु भएसँगै युरिया मलको माग बढेको छ । अघिल्लो वर्ष पनि नाकाबन्दीका कारण युरिया मलको अभाव बेहोरेका कृषकहरुले अहिले पनि सहज रुपमा मल पाउन नसकेपछि मर्कामा परेका छन् ।

रासायनिक मल अभावबारे जिल्ला कृषि सामग्री संस्थानका कर्मचारीहरु मन्त्रालयमा पटक–पटक जानकारी गराएको बताउँछन् । कृषकहरु भने दैनिक मल लिनको लागि लाइनमा बस्दै, फर्कंदै गर्न थालेका छन् । यो सिजनमा राजधानी नजिकका सिन्धुपाल्चोक र काभ्रे जिल्लाका लागि मात्रै ५ हजार मेट्रिक टन मल आवश्यक पर्छ । अन्य जिल्लाहरुको आवश्यकता पनि काभ्रे र सिन्धुपाल्चोकको भन्दा कम छैन । केही जिल्लामा मल ढुवानी गर्ने ठेकेदारले माघ महिनामा धरौटी नै छाडेर बोलपत्र रद्द गरेपछि अहिले मलको हाहाकार भएको पनि बताइएको छ । सम्झौता गरेअनुसार ठेकेदारले मल ल्याउन गरेको सम्झौता रद्द गरेपछि तत्काल अर्काे व्यवस्था नहुँदा मलको चरम अभाव हुने पूर्वअनुमान भए पनि सम्बन्धित निकायले वैकल्पिक व्यवस्था गर्न सकेको देखिँदैन । यसको मारमा अहिले किसानहरु परेका छन् ।

कतै रासायनिक मल नपाएर किसानहरु छटपटाइरहेका छन् भने उता वीरगन्जको ड्राइपोटमा माघ महिनादेखि थन्किएको मल अहिलेसम्म १४ लाख बोरा पुगिसकेको बताइएको छ । उता राख्ने ठाउँ नभएर हैरान भएको छ, यता कृषकहरु मल नपाएर छटपटीमा परेका छन् । कृषि सामग्री संस्थानले सिफारिस दिएका आधारमा वीरगन्ज पुगेर मल ल्याउने सहकारीहरुमध्ये केहीले बाटोबाटै बिक्री गर्ने गरेको गुनासो आइरहेको छ । मध्यसिजनका बेला रासायनिक मलको अभावले उत्पादनमा समेत ह्रास आउने भएकोले सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्