८ ठाउँमा १ सय ८ उम्मेदवार



सिर्जना पन्त, बागलुङ

बागलुङका ८ वटा स्थानीय तहमा हुन लागेको नगर तथा गाउँ कार्यपालिकाको निर्वाचनका लागि १ सय ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचित नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूको मतदानबाट नगरपालिकामा तीन जना र गाउँ कार्यपालिकामा दलित तथा अल्पसंख्यक दुई जना तथा निर्वाचित महिलामध्येबाट ४ जना छनौट हुने व्यवस्था छ।

जिल्ला निर्वाचन कार्यालय, बागलुङले दिएको जानकारीअनुसार गल्कोट, जैमुनी नगरपालिका, बडिगाड, बरेङ, तमानखोला र काठेखोलामा १७ गते र बागलुङ र ढोरपाटन नगरपालिकामा १८ गते चुनाव हुने भएको छ।
यस्तै निसिखोला र ताराखोला गाउँपालिकामा भने निर्वाचन सम्पन्न भइसकेको छ। बागलुङ नगरपालिकामा महिला सदस्यमा ६ जनाले, दलित⁄अल्पसंख्यकमा १० जना, गल्कोट नगरपालिकामा महिला सदस्यमा ८ जना, दलित⁄अल्पसंख्यकमा ५ जना, जैमुनी नगरपालिकामा महिलामा ६, दलित⁄अल्पसंख्यकमा १० जना, ढोरपाटन नगरपालिकामा महिला सदस्यमा ६ जना, दलित⁄अल्पसंख्यकमा १० जनाले मनोनयन दर्ता गराएका छन्।
यस्तै काठेखोला गाउँपालिकाको महिला सदस्यमा ९ जना, दलित⁄अल्पसंख्यकमा ५ जना, तमानखोलाको महिला सदस्यमा ४ जना, दलित⁄अल्पसंख्यकमा ६ जना, बडिगाड गाउँपालिकाको महिला सदस्यमा ४ जना, दलित⁄अल्पसंख्यकमा ७ जना, बरेङ गाउँपालिकाको महिला सदस्यमा ४ जना र दलित⁄अल्पसंख्यकमा ८ जनाले उमेदवारी दिएको निर्वाचन कार्यालयका श्याम थापाले जानकारी दिनुभयो।

यसै गरी, काठेखोला गाउँपालिकामा १४, गल्कोटमा १३, जैमुनीमा १६, ढोरपाटनमा १६, तमानखोलामा १०, बडिगाडमा ११, बागलुङमा १६, बरेङमा १२ गरी कुल १ सय ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
बागलुङ नगरपालिकामा निर्वाचित हुने तीन जना दलित वा अल्पसंख्यक पदको लागि नेकपा एमालेबाट कविराम किसान, नवीनबहादुर किसान र सञ्जु नेपाली एवं नेपाली कांग्रेसबाट जमुना हरिजन, रनसिंह थापा बोहरा र रविलाल विश्वकर्माको उम्मेदवारी छ।

यस्तै, महिला सदस्यमा नेकपा एमालेबाट कालिका सापकोटा, पुष्पा केसी, बबिता रामदाम विक, लक्ष्मी बोहरा र सीता थापा छन् भने नेपाली कांग्रेसबाट अनीता केसी बस्याल, टुकादेवी शर्मा आचार्य, निर्मला जिसी पन्त, यामकुमारी दमै र लक्ष्मी सार्कीको उम्मेदवारी रहेको बताइएको छ।

यो निर्वाचनले नगर र गाउँका कार्यपालिकामा महिला, दलित र अल्पसंख्यकको कार्यकारी अधिकार सुनिश्चित गर्ने देखिन्छ। कार्यपालीका सदस्य र न्यायीक समितिलाई पूर्णता दिइएपछि स्थानीय तहको निर्वाचन प्रक्रिया सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्