कांग्रेसद्वारा उम्मेदवार सिफारिस



लक्ष्मीकुमार साह, महोत्तरी

असार ९ गते हुने दोस्रो चरणको स्थानीय चरणको निर्वाचनका लागि जलेश्वर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ। नेपाली कांग्रेसको प्रमुख, उपप्रमुखर तथा वडा अध्यक्षमा आकांक्षीहरूको नाम धेरै भएपछि नेपाली कांग्रेस जिल्ला महोत्तरीलाई उम्मेदवार छान्न सकस भएको छ।

जलेश्वर नगरपालिकामा भने प्रमुखका लागि मात्रै अशोक कुमार साह, दिलीप पाण्डे, श्यामनन्दनप्रसाद साह, अनीता शर्मा, बजरंग नेपाली, राजेन्द्र कुँवर, वरुण मिश्र, ईश्वरनारायण पाण्डे, रवीन्द्र ठाकुर, शम्भुनारायण पाठक गरी १० जनाको नाम सिफारिस भएको छ। उपप्रमुखमा अनीता शर्मा, उमा शर्मा, अशोक पाण्डे, जफिर राइन, मञ्जु वर्मा, मिनिता झा, रवीन्द्र पाण्डे, महमाया देवी, गीता देवी गरी ९ जनाको नाम सिफारिस भएको छ।

जलेश्वर नगरपालिकामा एक प्रमुख र एक उपप्रमुखको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट प्रमुखमा १० जनाको र उपप्रमुखका लागि ९ जनाको नाम सिफारिस भएको नेपाली कांग्रेसका नगर सभापति अशोककुमार साहले जानकारी दिए।

नेपाली कांग्रेस जलेश्वर नगर सभापति साहले करिब २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले उम्मेदवारको आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न कठिनाइ भएको बताए।

यसै गरी जलेश्वर नगरपालिकामा १२ वडा अध्यक्षको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट वडा अध्यक्षमा जलेश्वर नगरपालिकाको वडा नं. १ देखि वडा नं. १२ सम्मका लागि ४८ जनाको नाम सिफारिस भएको बताउनुहुँदै जलेश्वर नगरपालिकामा ४८ सदस्यहरुको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट सदस्यहरुमा जलेश्वर नगरपालिकाको वडा नं. १ देखि वडा नं. १२ सम्मको लागि ७० जनाको नाम सिफारिस भएको साहले थपे।

नगरपालिका तथा गाउँपालिकाको हकमा प्रमुख तथा उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार अनिवार्यरूपमा हुनुपर्ने प्रावधानले पनि नेताहरुलाई उम्मेदवार छनोट गर्न कठिन भएको नेपाली कांग्रेसका नगर सदस्य कपिलदेव रिजालले बताउँदै वडा सदस्यहरुको हकमा पनि प्रत्येक वडाको चार सदस्यहरुमध्ये एक दलित महिलासहित दुई महिला उम्मेदवार हुनुपर्ने प्रावधान रहेको जानकारी दिए।

नगरप्रमुख र उपप्रमुखलगायत वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारीको निर्णय लिन नगर पार्टी नेतृत्वलाई कठिन भएको बताउँदै नगर सभापति अशोककुमार साहले अन्तिम निर्णयको लागि क्षेत्रीय समितिलाई नामावली पठाइसकिएको जानकारी दिए। यता जेठ ३१ गते हुने दोस्रो स्थानीय तहको चुनाव सरकारले असार ९ गते सार्ने निर्णय गरेपछि दलहरुमा भने केही सिथिलता आएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्