बुधबार हुँदै छ भव्यरूपमा शपथ



ईश्वरराज ढकाल
काठमाडौंका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले वसन्तपुरस्थित कुमारीको पहिलो दर्शन गरेपछि मात्रै महानगरपालिकाको कामको थालनी गर्नेहुने भएको छ। काठमाडौं महानगरपालिकाले तयार गरेको भव्य कार्यसूचीअनुसार आतिसबाजीदेखि रात्रिभोजको समेत व्यवस्था गरिएको छ। पर्सि बुधबार बिहान राष्ट्रिय सभागृहमा काठमाडौं जिल्लाका १० सांसद, जिल्लाका १० नगरपालिका, स्थानीय र निर्वाचन आयोगका सचिव, पूर्वजनप्रतिनिधिका साथमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

प्रमुख उपप्रमुख र वडा अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र्र अधिकारीले शपथ गराएलगत्तै मेयरबाट वडा सदस्यलाई शपथ गर्ने कार्यक्रम रहेको छ। त्यसलगत्तै मेयरलाई १५ मिनेटसम्म पुष्पगुच्छाले शुभकामना दिने र सामूहिक तस्वीर खिच्ने कार्यक्रम तय भएको छ। कामपाले सो दिन बिहान साढे ११ देखि राति करिब १० बजेसम्म रात्रिभोजसहितको कार्यक्रम तालिका तयार गरेको छ। शपथलगत्तै मेयर, उपमेयर र मुख्य निर्वाचन अधिकृतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम भएसँगै पूरै समय बाजागाजा बजाइरहने कार्यक्रम रहेको छ।

मेयर शाक्य र उपमेयर खड्गी तथा सबै जनप्रतिनिधिले शपथपछि शहीदगेटमा रहेका चार शहीद र वसन्तपुरस्थित जीवित देवी कुमारी दर्शन गर्ने हुनुभएको छ। कुमारी दर्शनपछि मेयर शाक्य र एमालेबाट विजयी वडा अध्यक्षले नेकपा एमालेका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठको चम्पादेवीस्थित पार्कमा पुष्पगुच्छा अर्पण गर्न जाने कार्यक्रम तय भएको छ। उपमेयर खड्गी र केही वडा अध्यक्षसहितका जनप्रतिनिधिले भने रत्नपार्क शान्तिवाटिकास्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

शपथका दिन कामपाले तयार गरेको कार्यक्रमअनुसार कुमारी दर्शनपछि पुष्पलाल र शान्तिवाटिकामा श्रद्धाञ्जली अर्पण गरेर कामपा मुख्यालयमा प्रवेश गर्ने कार्यक्रम रहेको छ। जेडीए भवनको ६ तलामाथिको कार्यालयमा पहिला मेयर र त्यसपछि उपमेयरले पदभार ग्रहण गरेलगत्तै आफूले जनाएको प्रतिबद्धताअन्ुसार एउटा निर्णय गर्ने कार्यक्रम रहेको छ। त्यसलगत्तै महानगर कार्यपालिकाको पहिलो बैठक बस्ने कार्यक्रम छ। बैठकको निर्णय पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको कामपाको प्रशासन महाशाखाले जनाएको छ। बैठक सम्पन्न भएलगत्तै सोही दिन सबै वडा अध्यक्षलाई वडाका प्रशासकीय अधिकृतले वडामा लैजाने छन्। सोही दिन राति साँझ साढे ७ बजे राष्ट्रिय सभागृहमा आतिसबाजी गर्ने र सोपछि अतिथिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही राति ८ बजे नवनिर्वाचित जनप्रतिनिधिको सम्मानमा करिब ४ सय जनालाई रात्रिभोजको कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ। जनप्रतिनिधिहरूको स्वागतका लागि लाखौं रुपियाँ खर्च हुने भएको छ।

स्रोतका अनुसार मेयर शाक्यले शपथ लिएकै दिनदेखि लागू हुने गरी ८४ वर्ष उमेरभन्दा माथिका महानगरभित्रका जेष्ठ नागरिकलाई वार्षिक १५ हजार महानगरभत्ता दिने घोषणा गर्ने तयारी भएको छ।

उनीहरूलाई प्रत्येक महिना घर–घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्ने घोषणा पनि त्यही दिनबाट लागू हुने गरी गर्ने तयारी भइरको छ। महानगरभित्र धूलो–धुँवामुक्त नो माक्स सिटी बनाउन कार्यदल बनाएर तत्काल कार्य आरम्भ गर्ने पनि उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्