ट्रम्पले बजेटमा तिब्बतीलाई दिँदै आएको सहयोग रोक्ने



वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिब्बतीलाई अमेरिकाले दिँदै आइरहेको आर्थिक मद्दत सन् २०१८ बाट रोक्ने संकेत दिएका छन्। उनले दशकौंअगाडि बनाइएको उक्त नीतिमा परिवर्तन गर्ने प्रस्ताव दिएका हुन्।

ट्रम्प प्रशासनले यो सहयोग अन्य देशले देओस भन्ने चाहेको छ। तिब्बतीहरूलाई उनीहरूको अलग पहिचान कायम राखिरहन उक्त मद्दत दिँदै आइरहेका हुन्।
ट्रम्पले कार्यकाल सम्हालेपछि अमेरिकी विदेशमन्त्रालयले पहिलो वार्षिक बजेटको प्रस्ताव संसद्मा पठाएको हो। प्रशासनले यसपटकको बजेटलाई २८ प्रतिशतले कम गरिएको जनाएको छ। प्रशासनले तिब्बतीहरूलाई दिइरहेको मद्दत बन्द गर्ने निर्णय अत्यन्त कठिन फैसला मध्यको एक भएको जनाएको छ।

अमेरिकी बजेटमा आफूले पाइरहेको सहयोग धनराशी कटौती गरिएको विषयमा अमेरिकामा सक्रिय तिब्बती समुदायका नेताले कुनै टिप्पणी गरेका छैनन्। उनले अहिले बजेटको डकुमेन्ट अध्ययन गरिरहेको बताएका छन्। डेमोक्र्याटिक पार्टीका नेता नेन्सी पेलोसीले उक्त कदमप्रति चिन्ता व्यक्त गरेकी छिन्।

सन् २०१८ अक्टोबरबाट शुरु हुने आफ्नो बजेटमा विदेश मन्त्रालयले दशकौं पुरानो तिब्बत फन्ड र नगवांग कोएफेल फेलोजको बजेट अन्त्य गर्न लागेको हो। ती दुई विषयमा सन् २०१७ र २०१६ मा १० लाख अमेरिकी डलरभन्दा बढी बजेट छुट्याइएको थियो।

यसैबीच सेन्ट्रल तिब्बतीयन एडमिस्ट्रेसनका अध्यक्ष लोबसांग संगायले बुधबार वासिंगटनमा चिनियाँ सरकार चीनमा बौद्ध धर्म समाप्त गर्ने योजनामा रहेको आरोप लगाए। चीनले १४औं दलाइ लामा तिब्बतलाई चीनबाट अलग गर्नका लागि पृथक्तावादीको जस्तो काम गरिरहेको बताउँदै आइरहेको छ।

सन् १९५९मा तिब्बतमा चीनविरुद्धको असफल विद्रोहपछि दलाइ लामा भारत पलायन भएका थिए। हालै मात्र अमेरिको ८ सदस्य रहेको प्रतिनिधिमण्डलले दलाइ लामालाई धर्मशालामा भेटेका थिए। उक्त भेटमा उनीहरूले तिब्बतीप्रति अमेरिकाको प्रतिबद्धता कायम रहेने दोहार्याएका थिए। उक्त घटनालाई लिएर चीनले कडा आपत्ति जनाइसकेको छ। बेइजिङले तिब्बतको स्वतन्त्रतालाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धतालाई अमेरिकाले तोडेको र उक्त भेटघाटले विश्वलाई अन्त्यन्त गलत सन्देश गएको प्रतिक्रिया दिएको छ।

अमेरिकाबाट आएको उक्त प्रतिनिधि मण्डलमा अमेरिकी पूर्वसभामुख नेन्सी पेलोसी पनि थिइन्। उनी लामो समयदेखि तिब्बतीहरूको समर्थकका रूपमा चिनिएकी छिन्। यसअघि उनी सन् २००८ मा धर्मशाला आएकी थिइन्। बेइजिङ ओलम्पिकपछि तिब्बतमा फैलिएको अस्थिरतामा उनले त्यहाँका जनताको पक्षमा ऐक्यबद्धता देखाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्