उद्देश्य सत्ता र पैसा



तिलकबहादुर कुमाल

आचरण र सच्चरित्रता सबै मानिस र राजनीतिक वृत्तका नेता तथा कार्यकर्तामा हुनुपर्ने अनिवार्य गुण हो। नियमपूर्वक नीति, विधि, विधान, आचार संहितामा रहनु प्रगति र परिवर्तनको सूचक मानिन्छ। राजनीतिक इतिहासमा विगतको समालोचना गर्दा इमान्दारिता, सदाचारिता, जनप्रिय र विवेकशील व्यक्ति राजनेता र निर्वाचनका लागि उम्मेदवार चयन गरिन्थ्यो। वर्तमान समयमा जुन व्यक्ति आर्थिकरूपमा सुसम्पन्न छ, त्यो व्यक्तिलाई नै उम्मेदवार बनाइन्छ। प्रतिनिधि वा उम्मेदवार चयन गर्नुपर्ने अवस्था पनि दलहरुको बाध्यात्मक पाटो एकातिर छ किनकि विचार, विवेक, नीति र इमान्दारितालाई कमै मात्रामा वास्ता राखेको पाइन्छ। जसकै कारण राजनीतिप्रति वर्तमान समयमा जनतामा वितृष्णा जागेको पाइन्छ।

मुलुकमा हुने निर्वाचनमा विजय हासिल गर्न सम्पन्न व्यक्तिलाई नै रोजाइमा राखिन्छ। विचार, विवेक, नीति र सिद्धान्तमा भन्दा राजनीति अर्थोपार्जनमुखी व्यक्ति, दलको स्वार्थमा केन्द्रित बनेको हो कि भन्ने आभाष जनमानसमा रहेको छ। धनको पोको जसले फुकाएर खर्च गर्न सक्छ त्यो व्यक्ति नै उम्मेदवार वा निर्वाचनमा सफल हुने सम्भावना अधिकतम हुने पक्ष आत्मसाथ गरी उम्मेदवार निश्चित गर्ने प्रचलनले बढावा पाइरहकै छ।

हरेक नीतिको मूल नीति राजनीति हो। जुनसुकै व्यक्ति, समाज र क्षेत्र राजनीतिसँग निकट हुन्छ। राज्यलाई व्यवस्थित, योजनाबद्ध र नीति नियमसङ्गत विधिबाट सञ्चालनार्थ आधार र नीतिलाई राजनीति भनिन्छ, जसको सम्बन्ध मुलुकको व्यवस्था, परिवर्तन र विकास अपरिहार्य हुन्छ, जुन प्रक्रियामा मूलतः सत्ता प्राप्तिका लागि अनेकरूपमा क्रियाशीलता भइरहेकै हुन्छ अन्ततः सत्ता नै अन्तिम गन्तव्य हुन्छ।

राजनीतिको परिभाषा व्यक्ति वा सन्दर्भअनुसार फरक–फरक लगाउन सकिन्छ। नेपाली बृहद् शब्द कोशको परिभाषाअनुसार ‘प्रजाको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिअनुकूल नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीतिलाई राजनीति भनिन्छ ’ जहाँ सत्ता प्राप्तिमा निरन्तर सङ्घर्ष हुन्छ, त्यहाँ गुटबन्दी हुन्छ र अन्त्यमा विभाजनमा टुङ्गिन्छ। जनताको समर्थनमा नयाँ सत्ताको निर्माण पनि हुन सक्छ। नेतृत्व गर्ने परिपाटी घर, परिवार, समाज तथा राष्ट्र सबैमा लागू हुन्छ। राजनीतिक परिवेश र वृत्तमा सत्ता प्राप्तिका लागि आकाङ्क्षीहरु जब एकै ठाउँ हुन्छन्। त्यहाँ आकाङ्क्षीहरूमा समूहको रूप लिन्छ र त्यही समूहले संगठनको रूप लिन पुग्छ। भइरहेको सत्ता जोगाउने र नयाँ सत्ता प्राप्ति गर्ने पार्टी बीचमा परापूर्व कालदेखि नै विभिन्न संघर्ष भएको पाइन्छ।

तर, जबरजस्त मृत्युपर्यन्त पार्टी सत्ताको चाबी हातमा लिएर बस्नु कुनै पनि प्रजातान्त्रिक अभ्यास र सांगठनिक पद्धतिको अभ्यास होइन। राजनीतिक पार्टी तथा नेताको लक्ष्य सत्ता प्राप्त गर्नु नै हुन्छ र स्वाभाविक पनि हो। तर, सत्ता प्राप्ति कुन प्रयोजनका लागि भन्ने एउटा स्पष्ट दृष्टिकोण नभएको नेतृत्वले सत्ता प्राप्त गर्नुको परिणाम कस्तो हुन्छ ? भन्ने हाम्रा राजनीतिक क्रियाकलापले देखाइसकेको छ। जसलाई गन्तव्य थाहा छैन कसैले दिशा निर्देश गर्दा कहाँ पुगिएला ? दोधारको अवस्थाबाट गुज्रिरहेका नेतृत्वकर्ता छन्। कुहिरोको कागसरह हाम्रो अग्रगमनको यात्रा भएकाले कोही सुनेका, कोही देखेका र कसैले अह्राएका भरमा गरिएको कामबाट हामीले परिणाम खोजेका छौं।

संघर्षको मैदानमा जसले विजय प्राप्त गर्यो त्यही नै सत्ता प्रमुख हुन्छ। यद्यपि, संघर्षका रूप र प्रक्रिया अनेक हुन सक्दछन्। कहिले ती संघर्ष हिंसात्मक हुन्छन् त कहिले शान्तिपूर्ण र लोकतान्त्रिक पनि, दुवैको लक्ष्य विजय नै हुन्छ, सोही जगमा विभिन्न परिवर्तनका लागि राजनीतिक पार्टीहरुको निर्माण भएको हुन्छ। सबै पार्टीमा एउटा पार्टी सत्ताको निर्माण भएको हुन्छ भने गन्तव्य राज्यसत्ता प्राप्त गर्नुहुन्छ। यिनै सत्ता प्राप्तिको लागि पार्टीभित्र ठूल्ठूला अन्तरसंघर्ष चल्दछन् भने यसकै लागि ठूल्ठूला हिंसात्मक र अहिंसात्मक आन्दोलन पनि विश्वमा अनवरतरूपमा चलिरहेको पाइन्छ। लक्ष्य नै सत्ता हुनेहुँदा एक थरी सधै पाइरहेको विरासत जोगाउन ठूला ठूला चुनौती सामना गरिरहन्छ। अर्को पक्ष सत्तासीन हुन अनेक संघर्ष गरिरहन्छ। यसैले सत्ताबाहिर हुने र सत्तासीनबीच सधैं संघर्षशील सम्बन्ध हुन्छ।

आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक यी सबै तत्त्वहरुको सामूहिक र संगठित रूप समाज हो। यिनै तत्त्वहरुको अवस्थाले समाजको चरित्र र वर्ग निर्धारण गर्दछ। जुन समाजमा यी तत्त्वहरुको अवस्थाले समाजको चरित्र निर्धारण गर्दछ। त्यो समाजमा उल्लिखित सामाजिक तत्त्वहरु सीमित व्यक्तिहरुको वरिपरि रहेका हुन्छन्। त्यहाँ बहुसंख्यक गरिब, किसान र मजदुर राज्यको सुविधा र सत्ताको पहुँचबाट टाढा हुन्छन्। परिणामतः सधैं शासित तथा शोषितहरुको मुक्ति तथा यिनीहरुकै अधिनायकत्वको सत्ता निर्माणकै लागि माक्र्सवादलाई आफ्नो मार्गदर्शन सिद्धान्त मान्दै विभिन्न माक्र्सवादी अर्थात्, कम्युनिष्ट पार्टीहरु संसारभरि निर्माण भए। यसरी नै नेपालमा पनि कम्युनिष्ट पार्टीको स्थापना भएको हो। यसका साथै विभिन्न बुर्जुवा सङ्गठन पनि स्थापना भए। कोही राणाकालीन शासन सत्तालाई विस्थापित गरेर राज्य सत्ता निर्माण गर्न चाहन्थे। तर, माक्र्सवादीहरु सर्वहारावर्गको अधिनायकत्वसहित सर्वहाराको सत्ता निर्माण गर्ने दीर्घकालीन लक्ष्य बोकेर तत्कालीन सत्तासँग संघर्ष गर्दै रहे। सत्ता प्राप्तिको अन्तरसंघर्ष सबै पार्टीले गरे। कसैलाई यो दीर्घकालीन यात्रा पट्यारलाग्दो भयो, कसैलाई पार्टी सत्ता नै लक्ष्य प्राप्ति हो भन्ने निष्कर्ष भयो। तर, कसैले बाटो छोट्याउने प्रयास पनि गरे। अन्ततः सबै सर्वहाराको नाम भजाएर तिनकै सपना बेचेर आफ्नै सत्ता निर्माण गर्न उद्यत रहे। यसले सबैलाई बाटो छोट्याउनु नै उपयुक्त उपाय लाग्यो र चाँडै सत्तामा पुर्यायो पनि। जनचाहना, सर्वहाराको सपना र अधिनायकत्वसहितको राज्यसत्ता प्राप्तिका खातिर परिवर्तनमुखी नारा व्यवहारतः लागू नभई कुनै मोडमा छुटे।

विगतमा तिनै गरिब, किसान तथा मजदुरको रगत र पसिनाको तागतमा भूमिको राष्ट्रियकरण तथा जमिन जोत्नेको र घर पोत्नेको जस्ता माग राखेर सामन्तको जमिनमा झण्डा गाड्ने क्रान्तिकारीहरु नै भेडाको रूपधारण गरी भेडाकै बथानमा मिसिएको ब्वाँसोजस्तो बनेर निस्किए। गरिब किसानको रगत र पसिनामा कुल्चिएर सत्ताको स्वाद चाख्न हतारमै आफ्नो असली रूप प्रदर्शनमा ल्याए। राज्य सत्ताको बागडोर सम्हालेर तिनै अनुहार कैयौं पटक भूमि सुधार तथा कृषिमन्त्री बनेर जनताको मानमर्दन गरिरहको कुरा नकार्न सकिँदैन। भूमिको राष्ट्रियकरणको कुरा त परै रह्यो भूमिको हदबन्दीसम्बन्धी कानुन निर्माण गर्नसमेत पछि सरे। अन्ततः आफ्नो वर्गहितको पक्षमा कित्ताकाट गरेर छुट्टिए। न त, यी हिजो सर्वहारा थिए न दिनभरि काम गरेर भोकै सुत्ने गरिब र किसान थिए। आखिर थिए त अवसरवादी चरित्रसहितका भेडाको रूपमा काला ब्वाँसा। यिनलाई जसरी पनि सत्तामा पुग्नु थियो। सहज बाटो एउटै गरिब किसानको भावनामा खेल्नु थियो र सम्भव पनि यही बाटो थियो। गरिब, अल्पसंख्यक, दलित, सीमान्तकृत र उत्पीडितवर्ग जसलाई मुक्ति चाहिएको थियो, जो अशिक्षित र असहाय थिए। सजिलै भ्रममा पर्दथे। तिनैका बलिदानमा सत्ताको यात्रा सहज भयो नयाँ सत्ता समीकरण सम्भव भयो। दर्शन र सिद्धान्त फगतका विषय भए। कसैले इमान्दारितापूर्वक माक्र्सवाद छाडेको घोषणा गरे त कसैले अहिले पनि भ्रम छर्न सम्भव भएसम्म हिङ बाँधेको टालो लिएर डुल्दै छन्। यी त राज्य सत्तासम्म पुग्न गरिएका यत्न प्रयत्नका केही रूप थिए।

अर्को सत्ता त्यो हो, पार्टी सत्ता। जो राज्य सत्ता पाए पनि, नपाए पनि पार्टी सत्ताको आत्मरतिमा रमाएका पार्टी सत्ताका अधिनायकहरुको चरित्र सधैं छद्म भेषमा भेटिन्छ। यिनीहरुको अभिनयमा दोहोरो चरित्र पाइन्छ। राज्य सत्ता पाए सर्वेसर्वा, नपाए सदैव सत्ताको आलोचक बनेर जनताको नेता बन्न रुचाउने र पार्टी सत्ताको विरासत आफ्नै पेवा सम्झने नेपालका कुनै पनि राजनीतिक पार्टीको सांगठनिक इतिहास खोज्यौं भने त्यहाँको पार्टी सत्ता झनै बर्बर तथा जर्जर अवस्थाको पाइन्छ। पार्टी स्थापनाकालदेखि व्यक्तिको मृत्युकालसम्म एउटै व्यक्तिले रजाइँ गरेका दृष्टान्त हाम्रा सामु छन्। यसैका लागि विभिन्न पार्टीभित्र ठूला ठूला अन्तरसंघर्ष घात, प्रतिघात र प्रतिशोधका ठूल्ठूला घटना घटेका छन्। अन्ततः पार्टी विभाजन गरेर नयाँ सत्ता निर्माण गरिए वा गरिदै छन्। राजनीतिक पार्टीमै जीवनका कैयौं घुम्ती पार गरेका युवापुस्ता भूमिकाविहीन र उदासीन भएर बाहिरिएका छन्। ऊर्जावान्, क्षमतावान् युवा पुस्ताले राजनीतिलाई फोहोरी खेलको रूपमा लिने गरेका छन्।

वैदिक कालमा जब एउटा तपश्वी कठोर तपस्याका बावजुद द्वन्द्वको आसन डगमगाउने अवस्थाको सिर्जना गर्दथ्यो। अनि विभिन्न प्रलोभनमा पारेर चाहे ती सुरासुन्दरीको या अप्सराको प्रयोग गरेर होस् तपस्या भोग गराएर इन्द्रसत्ता सुरक्षित गरेको मिथक सुन्न पाइन्छ। त्यसै गरी नेपालका पार्टीको पार्टी सत्ता यसै गरी टिकेका थुप्रै यथार्थ भोगाई हाम्रासामू रहेका छन्। जसले राजनीतिक पार्टीका सत्तामा दक्खल दिन खोजे ती ऊर्जाशील थिए। राजनीतिक र वैचारिक बहस गरी विचार र आन्दोलन दुवैको नेतृत्व गर्ने क्षमता राख्दथे। ती अन्ततः विभिन्न लाञ्छनासहित सत्ताबाहिर पारिएका उदाहरण हाम्रा अगाडि छन्। ती सत्ता प्रप्तिलाई इन्द्रासन जस्तो प्रतिष्ठा र अहम् प्राप्ति ठान्छन्। जसलाई नयाँ पुस्ताले डगमगाउन सक्दैन। यसको उदाहरण र उनीहरुको कार्यशैली र व्यवहारको अवलोकन र विश्लेषण काफी छ, सँगै नेतृत्वलाई नियाले पुग्छ। पार्टी सत्ताकै खिचातानीकै कारण कैयौं राष्ट्रिय आन्दोलन र राष्ट्रियताको मुद्दा कमजोर भएका छन्। यस प्रवृत्तिका घटना र दृष्टान्त राजनीतिक पार्टीमा थुप्रै छन् भने राजनीतिक दलका लोक कल्याणकारी कार्य र अभियान पनि लोकप्रिय छन्।

‘राजा मरेर रजाइँ र काजी मरेर कजाइँ हराउँदैन’ भन्ने विपरीत हाम्रो पार्टी सत्तामा ‘आफू मरे डुमै राजा’ हाम्रो नेपाली समाजमा प्रचलित उखान सरह मिल्दोजुल्दो पाइन्छ। यसको अर्थ पाका उमेरका व्यक्तिको अवमूल्यनका लागि होइन ती अग्रज र अमूल्य निधि तथा धरोहर हुन्। उनीहरुको योगदानको कदापि अवमूल्यन हुनुहुँदैन। तर, जबरजस्त मृत्युपर्यन्त पार्टी सत्ताको चाबी हातमा लिएर बस्नु कुनै पनि प्रजातान्त्रिक अभ्यास र सांगठनिक पद्धतिको अभ्यास होइन। राजनीतिक पार्टी तथा नेताको लक्ष्य सत्ता प्राप्त गर्नु नै हुन्छ र स्वाभाविक पनि हो। तर, सत्ता प्राप्ति कुन प्रयोजनका लागि भन्ने एउटा स्पष्ट दृष्टिकोण नभएको नेतृत्वले सत्ता प्राप्त गर्नुको परिणाम कस्तो हुन्छ ? भन्ने हाम्रा राजनीतिक क्रियाकलापले देखाइसकेको छ। जसलाई गन्तव्य थाहा छैन कसैले दिशा निर्देश गर्दा कहाँ पुगिएला ? दोधारको अवस्थाबाट गुज्रिरहेका नेतृत्वकर्ता छन्। कुहिरोको कागसरह हाम्रो अग्रगमनको यात्रा भएकोले कोही सुनेका, कोही देखेका र कसैले अह्राएका भरमा गरिएको कामबाट हामीले परिणाम खोजेका छौं। हामी आफूभित्रकै ऊर्जा, क्षमता, र सीपमा हामीलाई कहिल्यै विश्वास भएन। न त राजनीतिक संस्कार कायम गरियो। स्वदेशी स्रोत, साधन, र जनशक्तिको प्रयोग गरेर हामी अग्रपथमा जान सकिन्छ भन्नेमा आशावादी भएनौं कि ? आखिर विकासको आधार यिनै स्रोत, साधन र जनशक्ति होइनन् ? समृद्धिका ढोका खोल्ने यिनै आधार गुमाउदै जाँदा भोलि न त टेक्ने भुइँ हुनेछ न समाउने हाँगो। अस्तव्यस्तताले जनशक्ति विदेसिनु परिरहनेछ।

देशको विरासत सम्हाल्नका लागि उद्देश्य, योजना, लक्ष्य र आधारविहीन सत्ता प्राप्ति देशको लागि अभिशाप हो। पार्टी सत्ता गुमाउनुभन्दा पार्टी फुटाउनुलाई शोभनीय मान्नु राज्यसत्ता चलाउनेले सत्ता गुमाउनुभन्दा देश टुक्र्याउने वा देशै गुमाउनुलाई स्वाभाविक मानेको छनक दिएकै छन्। तसर्थ, राजनीतिक कार्यकर्ता कस्तो तयार गर्ने ? कस्तो व्यक्तिलाई पार्टी वा राज्य सत्ता सुम्पने ? सवालमा आम जनताको अधिकार लोकतन्त्रमा उनीहरुकै हातमा हुने हुँदा बुझेर मात्र योजना र आधारसहितको सम्भावना बोकेका दल र योग्य विवेकशील व्यक्तिलाई अख्तियारी दिनु नै उपयुक्त बाटो हो। जसले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आर्थिक, राजनीतिक, तथा सामाजिक न्यायसहित समृद्ध तथा सम्मुनत समाजको निर्माणमा काम गर्न सकोस्।

प्रतिक्रिया दिनुहोस्