बेलायती आमचुनाव, घोषणापत्रमा भिटामिन डीका लागि बुर्कामा रोक लगाउने



लन्डन, (एजेन्सी)
बेलायतको आसन्न चुनावका लागि राजनीतिक दलहरू ब्यापक प्रचारमा लागेका छन्। मतदातालाई आफूतिर आकर्षित गर्न विभिन्न नाराहरू दिइरहेका छन्।

यसबीच इन्डिपेन्डेन्स पार्टी (युकेआइपी)ले आफनो घोषणापत्रमा बुर्कामाथि रोक लगाउने उल्लेख गरेको छ। मुश्लिम महिलाले शिरदेखि पैतालासम्म छोप्ने गरी लगाइने उक्त पहिरनलाई लिएर युरोपलगायत धेरै देशहरूमा सुरक्षाका कारण विवाद बन्दै आइरहेको छ। तर युकेआईपीले रोक लगाउनुको कारण फरक दिएका छन्। उसले बुर्काकाका कारण सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी मानिसको शरीरसम्म पुग्न नसक्ने भएकाले त्यसमाथि रोक लगाउने तर्क दिएको छ।

बेलायतमा आगामी जुन ८ मा आमचुनाव हुन गइरहेको छ। केही दिनअगाडि मात्रै म्यानचेस्टरमा ठूलो आक्रमण भएको हो, जसमा २२ जनाको ज्यान गएको थियो। उक्त आक्रमणको जिम्मेवारी इस्लामिक कट्टरपन्थी आईएसआईएसले लिएको थियो।

युकेआईपीले आफ्नो घोषणापत्रमा भनेको छ– ‘हामी सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्द लगाउँछौं। यसले व्यक्तिको पहिचानलाई लुकाउँछ, चिनापर्ची तथा कुराकानीमा बाधा पुर्याउँछ, रोजगारी पाउने सम्भावनालाई कम गर्छ, घरेलु हिंसाको प्रमाणलाई लुकाउँछ र सूर्यको किरणबाट प्राप्त हुने आवश्यक भिटामिन डीलाई रोक्छ। यो स्वतन्त्रता होइन।’

हामी यस्तो पृथक गर्ने तथा अपराधको अमानवीय प्रतीकलाई र सुरक्षासँग जोडिएको खतरालाई पनि स्वीकार गर्दैनौं। यसले उनीहरू आफ्नो जीवन र काममा पूर्ण रुपमा भाग लिन सक्नेछन्।

घोषणपत्रले बुर्काको विषयमा अनौठो तर्क दिएको मात्र नभई आप्रवासीहरूका लागि पनि सामाजिक व्यवहारका लािग परीक्षण हुने उल्लेख गरेको छ। यो बुँदा आप्रवासन प्रणालीको हिस्सा हुने र यसमा समलिंगी तथा महिलालाई दोस्रो दर्जामा राखेर सोच्नेलाई देश प्रवेश गर्न नदिने जनाएको छ ,
युकेआईपीले आफू सत्तामा आएमा संसद्मा राजनीतिकज्ञहरूको संख्यालाई अत्यन्त न्यून गर्ने र हाउस अफ लड्र्सलाई पूरै अन्त्य गर्ने जनाएको छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एक महत्त्वपूर्ण सहयोगी भएकाले पुटिन सरकारसँग नजिकको सम्बन्ध बनाउने पनि घोषणापत्रमा उल्लेख गरिएको छ।

युकेआईपी एउटा दक्षिणपन्थी पार्टी हो। यसको नेता पल नट्टल हुन्। यो पार्टीको हाउस अफ कमन्समा कुनै सदस्य छैन। हाउस अफ लड्र्समा युकेआईपीका ३ सदस्य छन्। नेसनल एसेम्ब्लीमा यसको ५ सदस्य छन्। त्यसै री स्थानीय निकायमा युकेआईपीका ३ सय ७१ पार्षद छन्। यसअघि पूर्व युकेआईपी नेता नाइजेल फराजले सन् २०१० मा बुर्कामाथि प्रतिबन्द लगाउने प्रस्ताव दिएको थियो। तर सन् २०१५ को घोषणापत्रमा यसलाई स्थान दिएको थिएन।

जुन ८ मा हुने आम चुनावमा देशभरि ६ सय ५० सिटका लागि मतदान हुनेछ। बहुमतका लागि ३ सय २६ सिट आवश्यक हुनेछ। अहिले बेलायतमा कन्जरभेटिव पार्टीको सरकार छ भने विपक्षमा लेबर पार्टी रहेको छ।

प्रतिक्रिया दिनुहोस्