क्रिश्चियनहरू सवार बसमा आक्रमण



२६ को मृत्यु, २५ घाइते

कायरो, (एजेन्सी)
इजिप्टको मध्य भागमा शुक्रबार कोप्टिक क्रिश्चियनहरू बोकेको एउटा बसमा बन्दुकधारीहरूले अचानक आक्रमण गर्दा कम्तीमा २६ जना व्यक्तिको ज्यान जानुका साथै अन्य २५ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। राजधानी कायरोदेखि २ सय २० किमी दक्षिणमा पर्ने मिन्या प्रान्तको सेन्ट स्याम्युयल दि कन्फेस्सर चर्चतर्फ गइरहेको उक्त बसमाथि आक्रमण गरिएको हो।

कुनै पनि समूहले अझैसम्म यस आक्रमणका लागि जिम्मेवारी लिएको छैन। तर इस्लामिक स्टेट (आईएस) लडाकूहरूले पछिल्ला केही महिनायता कोप्टिक समुदायमाथि पटकपटक आक्रमण गर्नुका साथै पुनः आक्रमण गर्ने चेतावनी पन दिएका थिए।

गत ९ अप्रिलमा इजिप्टका दुईवटा उत्तरी शहर अलेक्जान्द्रिया र टानटास्थित चर्चहरूमा पाम सन्डे सर्भिसका बेला दुईवटा आत्मघाती बम विस्फोट गराइँदा ४६ जना मानिसको ज्यान गएको थियो। त्यसै गरी गत डिसेम्बरमा राजधानीस्थित एउटा चर्चमा भएको अर्को एक आत्मघाती बम विस्फोटमा २९ जना व्यक्तिको मृत्यु भएको थियो।

त्यसपछि फेबु्रअरीमा उत्तरी सिनाइ प्रायद्विपमा भएका शंखलाबद्ध गोली प्रहारको कारण एल–एरिस शहरबाट हजारौं संख्यामा क्रिश्चियन समुदाय घर छाडेर भाग्न बाध्य भएका थिए। हिजो सो बस आक्रमणमा मारिनेहरू चर्चमा प्रार्थना गर्न गइरहेका भक्तजनहरू रहेको बताइएको छ।

प्रत्यक्षदर्शीहरूको भनाइ उद्धृत गर्दै सरकारी अधिकारीहरले सैनिक पोसाक लगाएका करिब आठदेखि दश जना बन्दुकधारीले बस रोकेर आक्रमण गरेको बताएका छन्।

तीनवटा सवारी साधनमा बसेर घटनास्थलबाट भाग्नुअघि तिनीहरूले अत्याधुनिक स्वचालित हतियारबाट अन्धाधुन्ध गोली चलाएको बताइएको छ। उक्त बससँगै कामदारहरू बोकेको एउटा पिकअप भ्यान पनि रहेको तर त्यसमाथि आक्रमण भए वा नभएको स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्