लागूऔषध तस्करमा परेवाको प्रयोग



कुवेत सिटी, (एजेन्सी)
कुवेतका भन्सार अधिकारीहरूले लागूपदार्थ तस्करी गर्न प्रयोग गरिएको एक परेवा समातेको सञ्चारमाध्यमहरूले जनाएको छ।

कुवेतको अखबार अल राईले परेवाको प्वाँखभित्र कपडाको एउटा सानो प्याकेट राखिएको जनाएको छ। उक्त प्याकेटबाट प्रतिबन्धित नसालु पदार्थको १ सय ७८ गोली बरामद भएको जनाइएको छ। उक्त परेवालाई अबदालीमा भन्सारको भवननजिकै समातिएको अखबारले जनाएको छ।

यो इलाका इराकको सीमानजिक छ। अल राईका एक पत्रकारले उक्त बरामद गोली नसालु पदार्थ भएको बताए। पत्रकार अब्दुला फहमीका अनुसार भन्सार अधिकारीहरूलाई परेवाको माध्यमबाट नसालु पदार्थको तस्करी भइरहेको बारेमा पहिल्यै जानकारी थियो। तर तस्करीमा प्रयोग भएको कुनै परेवा समातिएको यो पहिलो घटना हो।

अन्य देशहरूमा पनि यसअघि परेवाको माध्यमबाट लागूपदार्थ तस्करी गर्ने गरेको घटनाहरू बाहिर आएका थिए। सन् २०१५ मा कोस्टारिकामा अधिकारीहरूले एउटा परेवालाई समातेका थिए। उक्त परेवा लागूपदार्थ धेरै राखिदिएकाले उड्न नसकेर तल झरेको थियो।

त्यस्तै भारतको सीमा सुरक्षा बलले पाकिस्तानको सीमाबाट आएका त्यस्ता परेवालाई समातेको दाबी गरेका थिए जसलाई जासुसीका लागि प्रयोग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्