आवाजसँग प्रेम गरी एसिड आक्रमण पीडितसँग विवाह



मुम्बई, (एजेन्सी)
भारतको मुम्बईमा यसै साता एसिड आक्रमणमा परेर कुरूप बनेकी ललिता बेन बंशी नामक एक युवतीको धुमधामसँग विवाह भएको छ। विवाह गर्न पाएर निकै दंग परेकी उनले विवाह कार्यक्रमका बीच दि हिन्दुस्तान टाइम्सलाई बताएकी छिन्– ‘एसिड आक्रमणपछि १७ चोटी शल्यक्रिया गराइसकेकी महिलाले पनि जीवनमा प्रेमी भेट्ला भनी कसले सोचेका होलान्? तर यस्तै भयो।’

एउटा गलत नम्बरका कारण उनले रविशंकर नामक पति पाएकी हुन्। सन् २०१२ मा आफ्नै एक नातेदारको एसिड आक्रमणको मारमा परेकी २६ वर्षीया बंशीले यसरी प्रेम भेट्नुलाई अद्भूत घटनाका रूपमा लिएकी छिन्।

चिनियाँ सीसीटीभी कम्पनीमा काम गर्ने २७ वर्षीय रविशंकरले दि हिन्दु अखबारलाई भनेका छन्– ‘करिब तीन महिनाअघि बंशीले गल्तीवश मलाई फोन गरेकी थिइन्। त्यसको १५ दिनपछि मैले उनलाई कलब्याक गरें। कुराकानी चल्दै जाँदा मेरो उनको आवाजसँग प्रेम बस्यो। हरेक दिन हामीबीच लामो समयसम्म फोनमा कुरा हुन थाल्यो। यसै क्रममा मैले उनीसमक्ष विवाहका लागि प्रस्ताव राखें।’ हुन त कुराकानीको दौरान बंशीले रविलाई आफू एसिड आक्रमणमा परेर बाँचेको व्यक्ति भएको खुलासा गरेकी थिइन्।

रवि भन्छन्– ‘सबै कुरा थाहा पाए पनि वास्तवमा म उनको प्रेममा परिसकेको थिएँ। त्यसैले मैले विवाहका लागि प्रस्ताव राखें। अधिकांश मानिसहरू अनुहारको सुन्दरता हेरेर प्रेम गर्छन्, विवाह गर्छन् र अन्ततः तिनीहरूको सम्बन्ध पारपाचुकेमा गएर टुंगिन्छ। तर उनीसँगको मेरो प्रेममा उनको अनुहारसँग कुनै सरोकार नै थिएन। उनी निकै मायालु छिन्।

मलाई त भगवान्ले नै हाम्रो जोडी मिलाइदिएको जस्तो लाग्छ।’ मंगलबार भएको बंशी र रविको विवाहमा अभिनेता विवेक ओबरायलगायत बलिउडका थुपै्र कलाकारहरूको उपस्थिति रहेको थियो।
विवेकले बंशीलाई एसिड आक्रमणमा बाँचेका युवतीहरू संलग्न एक कार्यक्रममा भेटेका थिए। विवेकले दुलही बंशीलाई ‘वास्तविक हिरो’को संज्ञा दिएका छन्।

साथै उनले बंशीलाई मनपराएकामा रविको पनि प्रशंसा गरेका छन्। भारतमा हरेक वर्ष करिब १ हजारवटा एसिड आक्रमणको घटना हुने गरेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्