श्राद्धको प्रसाद खाने खतरामुक्त



बोडीमा मिसाइएको विषादी राम्रोसँग नपखाली तरकारी खाँदा समस्या परेको अनुमान

काठमाडौं, (नेस)
धादिङमा श्राद्धको प्रसाद खाँदा गम्भीर बिरामी भई उपचारका लागि टेकु अस्पतालमा भर्ना भएका ५४ जना बिरामीमध्ये सामान्य अवस्थाका १० जनाको शुक्रबार दिउँसो डिस्चार्ज भएको छ।

बिहीबार राति ११ बजेदेखि शुक्रबार बिहानसम्म बिरामीको चाप बढेको भए पनि अहिले भने नियन्त्रणमा आइसकेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. रमेशकुमार खरेलले दिनुभएको जानकारीअनुसार यही जेठ ९ गते धादिङको आदमटार ६ मा श्राद्धको प्रसाद खाएका व्यक्तिहरू फुड प्वाइजन भएर १० गते राति ११ बजे टेकु अस्पतालमा भर्ना भएका थिए। ५४ जनामा देखापरेको फुड प्वाइजनका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।
डा. खरेलले बिरामीहरूको भनाइलाई उद्धृत गर्दै भन्नुभयो– ‘श्राद्धको प्रसाद खाने क्रममा बोडीको तरकारी खाएको र त्यसमा किरा मार्ने विषादी प्रयोग भएको तथा निर्मलीकरण राम्रोसँग नभएको भन्ने अनुमान गरिएको छ।’

डा. खरेलले शुक्रबार ५४ जनामध्ये १० जनाको डिस्चार्ज भइसकेको र सबै बिरामी खतरामुक्त भए पनि अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो। एकै पटक यति ठूलो संख्यामा एकै प्रकृतिको समस्या लिएर बिरामी भर्ना भए पनि विषादीले हो या व्याक्टेरियाले भन्ने बारेमा यकिन भइनसकेको अवस्थामा अनुसन्धानको रिपोर्टले प्रस्ट पार्ने पनि डा. खरेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्