‘चुनावले आशा पलाएको छ’



यिनको गज्जब सपना

विदुर गिरी, काठमाडौं
प्रलयकारी भूकम्प गएको दुई वर्षको बीचमा देशमा ३ प्रधानमन्त्री सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरिए। तर यसबीचमा भूकम्पले घरबार गुमाएका पीडितहरूले न उल्लेखनीय राहत पाए, न त भत्किएका घरलाई फेरि उठाउन नै सके।

हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले भने यो २ वर्षको बीचमा ३ ठूला बस्ती निर्माण गरेर राज्यले गर्न नसकेको काम गरेर देखाइदिए।

पुनर्निर्माणलाई अभियानकै रुपमा अगाडि बढाएका यी दुई जनाले २ दशकपछि भएको स्थानीय तहको निर्वाचनमा भोट हाल्न पाएका छैनन्, तर जसरी छोटो समयमा निर्वाचन भयो त्यसले उनीहरूलाई उत्साहितसँगै आफूले अगाडि बढाएको पुनर्निर्माणको कार्य तीव्र गतिले अगाडि बढ्ने आशा दिलाएको छ। ‘२० वर्षपछि जनप्रनिधि चुन्ने अवसरलाई देशबासीले सही ढंगले सदुपयोग गर्नुभएको छ।

पार्टीभन्दा पनि आफ्नो क्षेत्रलाई आवश्यक पर्ने स्थानीय प्रतिनिधि छान्नुभएको छ जस्तो लागेको छ’, सीतारामले भने– ‘चुनाव नै हुन्छ कि हुँदैन भन्ने थियो। त्यस्तो अन्योल र छोटो समयमा राम्रो ढंगले निर्वाचन हुनु ठूलो कुरा हो। चुनाव भएको क्षेत्रका जनताले स्थानीय प्रनिनिधि पाएका छन्।

अब हुने दोस्रो चरणको चुनावबाट बाँकी क्षेत्रका जनताले पनि आफ्नो प्रतिनिधि पाउनुहुनेछ। निर्वाचित प्रतिनिधिलाई स्थानीयस्तरमा काम गर्न चर्को दबाब पनि छ। त्यसैले अब पुनर्निर्माणको कामले तीव्र गति लिनेछ भन्ने आशा र विश्वास पलाएको छ।’

हास्य कलाकारितालाई जोकरको संज्ञा दिनेहरूलाई दरिलो जवाफ दिँदै हास्य कलाकार दम्पती ‘धुर्मुस’ र ‘सुन्तली’ले २ वर्षअगाडि गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाई आएको ७ दशमलव ८ म्याग्नीच्युडको भूकम्पपछि त्यसबाट घरबारविहीन भएकाहरूका लागि एकीकृत बस्ती निर्माण गरिदिएर आफूहरूलाई राष्ट्रिय नायक सावित गरिदिए।

भूकम्पले सिंगो नेपाल हल्लाई जताततै तहस नहस बनाइरहेका बेला सीताराम र कुञ्जना अन्य कलाकारका साथ अमेरिकामा कार्यक्रम गर्ने तरखरमा थिए।

भूकम्पले जनधनको ठूलो क्षति गरेको थाहा पाएपछि अमेरिकाका विभिन्न राज्यमा हुने २७ शोका लागि बुक भएको यो दम्पती सबै कुरा छोडेर राहत प्रदान गर्न काठमाडौं फर्कियो।
‘भूकम्पबाट पीडित हुनुभएकाहरु त्यो हुनुहुन्थ्यो, जसले हामीलाई धुर्मुस सुन्तली बनाइदिनुभएको थियो। उहाँहरुकै सेवा गर्ने भित्री इच्छाले हामीलाई अमेरिकाबाट फर्कायो’ नेपाल समाचारपत्रसँग कुरा गर्दै सीतारामले भने ‘अमेरिका सबैको सपना हुन्थ्यो होला। हामी पनि मध्यमवर्गीय परिवारबाट कार्यक्रममा गएको कलाकार थियौँ।
यस्तो कार्यक्रमको आम्दानीबाट हामी कलाकारलाई बाँच्न सजिलो हुन्थ्यो।

तर त्यस कार्यक्रममा हाम्रो उपस्थितिले मात्र पनि ठूलो राहत हुन्छ, जानैपर्छ भन्ने भावना आयो र फर्कियौं।’ सरकारको सरसफाइ दूत रहेका सीताराम कुञ्जनासँगै अमेरिकाको कार्यक्रममा सामेल भएका कलाकारहरुले पूर्वपश्चिम राजमार्ग र चक्रपथमा शौचालय निर्माण गर्ने अभियानका लागि त्यहाँ केही रकम संकलन गरेका थिए।

आयोजक बुद्धिप्रसाद रेग्मीले त्यसमा ५० हजार थप गरेर १७ लाख रुपियाँबाट भूकम्पपीडितलाई राहत प्रदान गर्ने उद्देश्यले यो दम्पती काठमाडौं फर्कियो।
काठमाडौं फर्किंदा दम्पतीले आप्mनै घरमा परेको पीडाको सामना पनि गर्नुपर्यो। कुञ्जनाकी आमा भूकम्पमा परेर ६ करङ भाँचिई घाइते अवस्थामा टेन्टभित्र थिइन्।

‘बिमानस्थलबाट सिधै त्यहाँ पुग्दा ९ महिने काखे छोरी पनि मामाघरको टेन्टमै थिइन्। त्यो अवस्थामा पनि हामी परिवारभन्दा देशलाई परेको दुःखमा सघाउनतिर लाग्यौं’ कुञ्जनाले सम्झिइन्। छोरी लिएर यो जोडी त्यही बेलुका राति १० बजेसम्म विभिन्न कलाकार तथा व्यक्तिहरुसँग समन्वय गरेर राहत वितरणमा जुट्यो।
‘मेरी बास्सैको सुटिङ स्पट र अन्य ठाउँ गरी ११ जिल्लाका भूकम्प पीडितलाई राहत वितरण गर्यौँ।

सबै राहत सामग्री हामीले किन्न पर्दैन थियो। कसै न कसैको सहयोग हुन्थ्यो। तर त्यसलाई व्यवस्थित रूपमा वितरण गथ्र्यौँ’ सीतारामले सुनाए। भूकम्पकापीडितलाई सघाउन शुरुमा राहत सामग्री वितरण गरेका सीताराम र कुञ्जनाले पछि विद्यालय निर्माण, शौचालय निर्माणदेखि एकीकृत वस्ती निर्माणसम्मको कामलाई अगाडि बढाएर आफूलाई राष्ट्रिय नायक सावित गरे।
‘२९ गतेको पराकम्प आउँदा हामी भोलिपल्ट सिन्धुपालकोचको पिपल डाँडामा चर्पी निर्माण गर्न जाने योजना बनाइरहेका थियौँ। भोलिपल्ट सासुले १२ गते र हिजो भूकम्प जानुअगाडि पनि मौसम यस्तै धुम्म थियो आज नजानु भन्नुभएको थियो। तर काखे छोरीलाई दिदी भिनाजुकहाँ जिम्मा लगाएर गयौँ। अरु दिन बाटोभरि राहत सामान बोकेका गाडी भेटिन्थे। त्यो दिन भेटिएन, सुनसान थियो। त्यो गाउँमा सबैभन्दा बढी मानवीय क्षति भएको थियो।

१७ शव एकै ठाउँमा गाडिएको थियो। कति घरमा काजक्रिया र रुवावासी चलिरहेको थियो’ सीतारामले भने ‘हामी पुग्दा कलाकार आए अब भूकम्प जाँदैन भनेर खुसी भए। बत्ती नभएर समस्या भएको होला हामी जेनेरेटर लिएर गएका थियौँ।

गाउँघर विद्युत नभएकाले कसैको मोबाइलमा चार्ज थिएन। हामी गएपछि सबैले चार्ज गरेर बिहान ३ बजेसम्म आफन्तहरुसँग कुरा गरेर खुसी भएको देख्दा हामी अझ बढी खुसी भएका थियौँ। त्यहाँ ३ दिन बसेर आपैmँ खाल्डो खनेर चर्पी निर्माण गर्यौँ। खाल्डो खन्दा साढे ५ रेक्टरको पराकम्प गइरहेको थियो। यतिखेरसम्म अमेरिकाबाट संकलन गरेर ल्याएको पैसा लगभग सकिइसकेको थियो।
तर, उनीहरु विभिन्न अभियानमा जुटेको खबरले राहतका लागि सहयोग आइरहेको थियो। भूकम्पले सबैतिर ध्वस्त भई सरकार र राज्यपालको व्यवस्थासम्म गर्न नसकेर अलमलिरहेको बेला सीताराम र कुञ्जना भने अब पुनर्निर्माणको कामलाई अगाडि बढाउन चाहन्थे। ‘त्यही क्रममा काभ्रेको डाडागाउँ पहरी बस्ती पुग्दा ३० घर निर्माण गर्छु भन्ने थियो। पछि २० घर बनाउने कुरा भयो। तर, पिछडिएको ठाउँमा एकीकृत बस्तीबारे बुझाउनै कठिन। समाज बिग्रिन्छ भनेर अवरोध पनि भयो।

जहाँ घर भत्केको छ, त्यहीँ बनाउनुपर्छ, गोठसँगै चाहिन्छ भन्ने कुरा हुन थाल्यो’ सीताराम फेरि सम्झिन्छन् ‘अर्कातिर कलाकारले के घर बनाउँछ भन्ने पनि निस्किए। ल्यापटपमा आफैँ स्केच तयार पारेर देखाएपछि बल्ल कन्भिन्स भए। बल्लबल्ल जग्गा पनि एकीकरण गरियो। टेन्ट गाडेर बारीमा बास बसियो। रातभरि गाउँलेहरु बाघ आयो भन्थे, हामी बसिरहेको समयमै बाघले ७ वटा बाख्रा खाइसकेको थियो।’ उनी सम्झँदै थिए ‘मैले काठचाहिँ त्यहीँको युज गर्ने सोच बनाएको थिएँ, तर केही मकिएका, केही के भएका कामै नलाग्ने। भिरमा गएर सल्लाको रुख काटिन्थ्यो।
ढुवानी थिएन, कैयौं किलोमिटर बाटोमा रुख बोकेर मिलमा चिर्न लानुपथ्र्यौ, रुनै मन लाग्थ्यो, रोइयो पनि । फेरि जम्मा ८ लाख उठ्याथ्यो, तर बस्ती निर्माण गर्न १ करोड लाग्ने थियो।

हामीलाई सघाइरहेको नेपाली सेनाले प्राविधिक कारणले छोड्नुपर्यो। नुवाकोटको स्थानीय मिस्त्रीलाई ज्याला दिने गरेर बोलाएर काम लियौँ। बस्ती निर्माणका लागि आर्थिक अभाव भएपछि घर बेच्ने घोषणा गर्यौँ।’

कुञ्जनाले थपिन् ‘त्यसको आलोचना पनि भयो। कतिले, बौलायो भने कतिले हाइलाइट हुन खोज्यो भने। तर पछि रकम उठ्यो। साढे ६७ लाख खर्च भयो, साढे ४७ लाख उठेको थियो, १९ लाख घरबाटै हाल्यौँ।’ सीताराम भावुक भए ‘२ महिना १० दिनमा बस्ती हस्तान्तरण गर्यौँ। ७७ दिन टेन्टमा बसेर काम गरियो। पेशा, काखे छोरी, परिवार सोचिएन, के कसो सोधिएन। ७८ दिनमा बल्ल छोरी भेटियो।’

परिवार र पेसा पनि बिर्सिएर भूकम्पपीडितको घाउमा मल्हम लगाएका सीताराम र कुञ्जनाले यो महान् कामका लागि जताततैबाट वाहवाही र स्यावासी पाए। बस्ती हस्तान्तरणपछि बल्ल राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण खुल्यो। त्यतिखेर प्रमुख अतिथी हास्य अभिनेता हरिवंश आचार्यले अर्का प्रमुख अतिथी शहरी विकास मन्त्री डा. नारायण खड्कालाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण बन्यो भने सीतारामलाई सिइयो बनाउनुपर्छ भन्ने सल्लाह पनि दिए। बस्ती हस्तान्तरणपछि थप साढे १३ लाख रुपियाँ पनि उठ्यो, सीताराम दम्पतीको घरबाट गएको रकमको घाटा दर केही कम भयो, घर नै बेचिहाल्नु परेन।
सीताराम कुञ्जना एउटा बस्ती बनाएर चुप बस्न सकेनन्। संस्थागत बन्नुस भन्ने भएपछि धुर्मुस सुन्तली फाउन्डेसन नै खोले। फाउन्डेसनमा जम्मा १ लाख ७४ हजार थियो, तर उनीहरु सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरान्चौर एकीकृत नमूना बस्ती बनाउने धुनमा थिए। त्यसका लागि सामान्य मानिसलाई २ घण्टा बिताउन मुस्किल पर्ने उजाड बस्ती र प्रचण्ड गर्मीको मौसममा स्थानीय पीडितका लागि शौचालयसहितको अस्थायी टहरा बनाइदिएर आफैँ पनि सक्रिय रुपमा काम गर्दै निर्माण कार्यलाई अगाडि बढाए।

बस्ती निर्माणका लागि कोषमा ६० प्रतिशत रकम भएपछि मात्र प्रक्रिया अगाडि बढ्थ्यो। तर पहिलो बस्ती बनाउँदा घर बेच्नु परेन यसमा पर्यो भने बेच्छौं भनेर विश्वास दिलाए। साढे ५ किलोमिटर बाटो, पानी र विद्युत सबैको व्यवस्था गर्दै ६ महिनाको समयमा सीतारामको समूहले ५ करोड १४ लाख रुपियाँ खर्चमा बस्ती निर्माण गरेर स्थानीयलाई सुम्पियो। तर बस्ती निर्माणमा उनीहरुले ब्यहोर्नुपरेको कथा भने कुनै दर्दनाक फिल्मभन्दा कम छैन।

‘शुरुमा म त्यहाँ बाइकमा जान्थेँ। एक दिन एउटा भाइको बाइक पछाडि बसेर जाने क्रममा बीच जंगलमा पुग्दा बिग्रियो। बेजोड वर्षा र हुरी चल्यो। रात बिचल्लीमा बिताउनुपर्यो। भगवान पुकारेर बस्यौँ। स्थानीय अमर लामाले लिन आए।
बस्ती निर्माणस्थलमा पुग्दा अस्थायी टहरा, बनाइसकेको बाटो, घर निर्माणका लागि बनाएको संरचना वर्षा र हावा हुरीले ध्वस्त पारिसकेको रहेछ। सामान ढुवानी गर्न गाडीसमेत लान नसकिने अवस्था भयो’ सीतारामले सुस्ताउँदै भने ‘त्यसबखत काम नै अगाडि बढाउने कि नबढाउने भन्नेमा समेत पुगियो। त्यसअगाडि पनि जग्गा एकीकरण गर्न मुस्किल परेको थियो। जहाँ घर भत्क्यो त्यहीँ बनाउनुपर्छ भन्नेजस्ता कुराले राजनीति भइरहेको थियो। तर सबै बाधा व्यवधान पार गरेर अभियानलाई सफल पार्न सक्यौँ।’ बस्ती निर्माणका लागि सीताराम बिहान ३ बजे नै उठ्थे र अरुलाई पनि उठाउँथे।
राति ११ बजेसम्म खट्थे। ‘दैनिक भारी बोकेर बनेको बस्ती हो त्यो’ सीताराम गर्व गर्छन् र फेरि भावुक हुन्छन् ‘तर ४ जना बृद्धबृद्धालाई गृह प्रवेश गराउन सकिएन, बस्ती निर्माणकै क्रममा निधन भयो। दशैँ पनि मिस्त्री र कामदारसँग टीका लगाएर बितायौँ। तर सबै बस्ती सहयोगी मनले बनेका हुन्। गिरानचौरको बस्ती बनाउन हामीले नमान्दा नमान्दै पनि अमेरिकामा दुबै मृगौला फेल भएकाले पनि सहयोग गरे। जन्मदिन, एनिभर्सरी मनाउने पैसा सहयोग गर्ने त कतिकति? कूल ५ करोड १४ लाखमा बस्ती बन्यो १ करोड ४ लाख बच्यो।’
सीतारामले यो वर्षकै आरम्भमा महोत्तरीको वर्दीवासस्थित मुसहर समूदायका लागि अर्को वस्ती बनाएर सरकारले समेत गर्न नसकेको उदाहरण प्रस्तुत गर्दै २ वर्षको बीचमा ३ ठूला बस्ती निर्माण गरेर सुम्पिएका छन्। सरसफाई अभियानमा हिँड्ने क्रममा सो बस्ती पुगेका सीताराम दम्पत्तीले पुष महिनाको चिसोमा कठ्यांग्रिएका मुसहरहरुको दर्दनाक जीवन देखेपछि यो बस्ती बसालेका हुन्। ‘त्यहाँ देखको दृश्यले भावुक बनायो।
शीतलहरमा पराल ओढेर सुतेका मुशहरको जीवन उकास्न सानो प्रयास गरेका हौँ’ सीतारामले भने ‘बस्ती निर्माणको शुरुआतकर्ता भएकाले अब पनि यस्तै काम गर्ने सोच छ। अब अर्थपूर्ण सहायता गर्नका लागि सबैभन्दा पहिला फाउन्डेसनको कोष बनाउनुछ।

हामी बस्ती बनाउन र राहत प्रदान गर्न निरन्तर पैसा मागिरहेका छौँ। पटकपटक पैसा माग्न पनि अप्ठेरो छ। तर अनुभवका आधारमा पनि थोरै समयमा धेरै काम गरेर अगाडि बढ्न सक्छौँ भन्ने लाग्छ।’

प्रतिक्रिया दिनुहोस्