७३३ को शपथपछि शुरू भयो काम



मोतीराम तिमल्सिना, काभ्रे।

काभ्रेपलाञ्चोकमा रहेका १३ वटा
स्थानीय तहमा निर्वाचित ७ सय ३३ जनप्रतिनिधिलाई शपथ खुवाइएको छ। हिजो बुधबारसम्म सबै तहका सबै निर्वाचित पदाधिकारीहरुले निर्वाचन अधिकारीहरुसँग शपथ खाएका हुन्।

शपथ कार्यक्रम सम्पन्न भएलगत्तै निर्वाचन कार्यालयहरुले कार्यपालिकाको निर्वाचन कार्यक्रम शुरु गरेका छन्। कार्यपालिकाको निर्वाचनपछि जिल्ला समन्वय समितिको निर्वाचन हुनेछ।

जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदा एमालेले पहिलो शक्तिको रूपमा आफूलाई उभ्याएको छ। १३ स्थानीय तहमध्ये एमालेले ५ नगरपालिका र २ गाउँपालिका जित्दै पहिलो बनेको हो। त्यसै गरी नेपाली कांग्रेस १ नगरपालिका र ३ गाउँपालिकामा विजयी हासिल गर्दै दोस्रो भएको छ। त्यसै गरी माओवादी केन्द्रले २ गाउँपालिकामा विजयी हासिल गरेको छ।

निर्वाचनको मतपरिणामअनुसार बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध र मण्डन देउपुर नगरपालिकासहित भुम्लु र खानीखोला गाउँपालिकामा एमाले विजयी भएको छ। त्यसै गरी पाँचखाल नगरपालिका र रोशी, बेथानचोक, तेमाल गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। माओवादी केन्द्रले चौरी र महाभारत गाउँपालिका जित्न सफल भएको थियो। अब हुने कार्यपालिका र गाउँपालिकाको निर्वाचनमा पनि अधिकांश पदमा नेकपा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने भएका छन्। जिल्ला समन्वय समिति पनि एमालेको एकलौटी हुने भएको छ।

१३ वटै स्थानीय तहमा जनप्रतिनिधिहरुले काम शुरु गरिसकेका छन्। शपथ लगत्तै स्थानीय तहका निर्वाचन कार्यालयहरुले कार्यपालिकाको निर्वाचनका लागि कार्यक्रम सार्वजनिक गरेका छन्।

स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्थामा स्थानीय तहका सबै पदमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि महिला सदस्यहरुमध्येबाट ५ जना नगरपालिकामा र ४ जना गाउँपालिकाकमा कार्यकारिणी सदस्य निर्वाचित हुने छन् भने निर्वाचित भएका भन्दा बाहिरबाट दलित र अल्पसंख्यहरुबाट नगरपालिकामा ३ र गाउँपालिकामा २ जना कार्यकारिणी सदस्य निर्वाचित हुने छन्। उम्मेदवारहरुलाई निर्वाचित जनप्रतिनिधिले मात्रै मतदान गर्न पाउनेछन्।

तब मात्रै गाउँपालिका र नगरपालिका पूर्ण हुने छन्। कार्यकारिणी समितिमा प्रमुख र उप्रमुख, वडा अध्यक्षहरु र निर्वाचित ५ महिला सदस्यहरु, दलित र अल्पसंख्यकहरु रहने छन्। पछि निर्वाचित भएका सबै जनप्रतिनिधिहरुको मर्यादा क्रम वडा अध्यक्षको हैसियतमा हुनेछ।

कार्यपालिकाको निर्वाचन सकिएलगत्तै जिल्ला समन्वय समितिको निर्वाचन हुने छ। जिल्ला समन्वय समितिमा १३ तहका प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन्। १३ तहमा निर्वाचित ७ सय ३३ जनप्रतिनिधि उम्मेदवार बन्न पाउनेछन्। १३ मध्ये ७ वटा नेकपा एमालेले विजयी हासिल गरेकाले जिल्ला समन्वय समितिका ९ वटै पदमा एमालेका उम्मेदवारहरु विजयी हुने निश्चित छ।

जिल्ला समन्वय समितिको प्रमुखमा लामो समय राजनीतिमा सक्रिय जिफन्टका नेता उद्धव केसीको सम्भावना बढेको छ। टीकाबल्लभ सापकोटा पनि समन्वय समितिको संयोजक पदको आकांक्षी हुन्।

एमालेले विभिन्न भेग र बस्तीबाट समन्वय समितिका व्यक्तिहरू छनोट गर्नेछ। उक्त समितिमा स्थानीय तह जस्तै प्रमुख र उपप्रमुखमध्ये एकमा महिला, ३ जना महिला सदस्य अनिवार्य, १ दलित सदस्य अनिवार्य हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्