‘जेठ ३१ गते चुनाव गर्न हामी दृढ छौं’



काठमाडौं, (नेस)। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले ४ सय ६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताउनुभएको छ।

स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सूक्ष्म अनुगमनकर्तासँग विहीबारको छलफल कार्यक्रममा यादवले भन्नुभयो– ‘कहींकतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ र स्वतन्त्ररूपमा गर्न व्यवस्थापनका लागि हामी अघि बढिरहेका छौं।’

दोस्रो चरणको निर्वाचन चार प्रदेशको ठूलो क्षेत्रमा हुने भए पनि भूगोलको हिसाबले अघिल्लोको तुलनामा निकै सहज रहेको छ।        – प्रमुख निर्वाचन आयुक्त

स्थानीय तहको संख्या बढाएको आधिकारिक जानकारी प्राप्त भएको छैन, संघीय मामिला तथा स्थानीय मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो– ‘आयोगले ४ सय ६१ वटै स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको छ।’

मुलुकका सबै स्थानीय तहमा एकै चरणमा निर्वाचनको तयारी गरिरहेको आयोगले राजनीतिक सहमतिको वातावरण बनोस् भनी जेठ ३१ गतेको निर्वाचनका लागि सहमति जनाएको प्रसंग स्मरण गराउँदै उहाँले ४ सय ६१ स्थानीय तहको निर्वाचनको सामग्रीको व्यवस्थापनसमेत भइसकेको बताउनुभयो।

प्रमुख आयुक्त डा. यादवले भन्नुभयो– ‘अघिल्लो निर्वाचनबाट पाठ सिक्दै दुःखद घटना नदोहोरिउन र पहिलो चरणको भन्दा अबको निर्वाचन अझ राम्रो गर्न सकियोस् भन्नेमा आयोग सजग र सचेत रहेको छ।’

दोस्रो चरणको निर्वाचन चार प्रदेशको ठूलो क्षेत्रमा हुने भए पनि भूगोलको हिसाबले अघिल्लोको तुलनामा निकै सहज रहेको बताउँदै उहाँले राज्यले निर्वाचनका लागि खटाएको स्थानमा गएर दिएको जिम्मेवारी कर्तव्यनिष्ट भएर पूरा गरी असल अभ्यास प्रस्तुत गर्न पनि अनुगमनकर्तालाई निर्देशन दिनुभयो।

पहिलो चरणको निर्वाचन अपेक्षा गरेको भन्दा निकै शान्तिपूर्ण र व्यवस्थित रूपमा भएको दाबी गर्दै उहाँले निर्वाचनमा अनुगमनकर्ताले खेलेको भूमिकाको प्रसंग गर्नुभयो।

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको थियो। सो निर्वाचनको सन्दर्भमा आयोगले सरकारका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतलाई अनुगमन र सूक्ष्म अनुगमन कर्ताको भूमिकामा विभिन्न जिल्लामा खटाएको थियो।

३१ गते चुनाव हुन्न आयोग

काठमाडौं, (नेस)। सरकारले हालै थप गरेका २२ स्थानीय तहमा चुनाव गराउन असम्भव रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सरकारको ८ जेठको निर्णयअनुसार तराई मधेसका विभिन्न जिल्लामा गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाको संख्या थप हुँदा गाउँपालिका तथा नगरपालिकाको वडा संख्यालगायतको विस्तृत विवरण मतदान केन्द्र, मतदाता नामावली तयार गर्ने र उक्त नामावली जेठ १५ मा गाउँपालिकासम्म पुर्याउन असम्भव हुने जनाएको छ।

त्यसै गरी मतदाताको परिवर्तित ठेगानाअनुरूप मतदाता परिचयपत्र छपाई गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याउन नसकिने पनि आयोगले जनाएको छ। नयाँ थपिने गाउँपालिका र नगरपालिकाका लागि निर्वाचन अधिकृतको नियुक्ति गरी थपिएका स्थानीय तहमा कार्यालयको व्यवस्था गर्नसमेत १५ जेठभित्र नसकिने हुँदा नेपाल राजपत्रमा प्रकाशित निर्वाचन कार्यक्रमअनुसार निर्वाचन हुन बाँकी ४ सय ६१ स्थानीय तहमा ३१ जेठमै निर्वाचन सम्पन्न गराउने वातावरण मिलाउन आयोगले सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्