प्रमुख जित्ने १७ महिला



प्रशान्त वली

झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा धेरै महिलाले आफ्नो इतिहास रच्दै स्थानीय सरकार हाक्ने अवसर प्राप्त गरेका छन्। पहिलो चरणको ३, ४ र ६ प्रदेशअन्र्तगत ३४ जिल्लाका २ सय ८३ तहमा भएको निर्वाचनको मतगणना आउने क्रममा पछिल्लो मतपरिणामअनुसार १७ जना महिला प्रमुख पदमा निर्वाचित भएका छन्।

४ नगरपालिका, ८ गाउँपालिका र ५ वडाले प्रमुखको रूपमा महिला नेतृत्व पाएको छ। केही महिला मेयर, गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष जितेर इतिहास बनाउन सफल भएका छन्। जसअन्र्तगत एमालेबाट ३ नगरपालिकाको मेयर, २ गाउँपालिकाको अध्यक्ष र ५ जना वडा अध्यक्ष गरी १० जना महिला निर्वाचित भएका छन्। कांग्रेसबाट १ मेयर र ४ गाउँपालिका अध्यक्षमा महिला आएका छन् भने माओवादी केन्द्रबाट २ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्।

जसअनुसार एमालेको तर्फबाट १०, कांग्रेसको तर्फबाट ५ र माओवादी केन्द्रको तर्फबाट २ जना प्रमुख पदमा पुगेका छन्।

पछिल्लो तथ्यांकअनुसार एमालेको तर्फबाट स्याङ्जाको पुतलीबजार नगरपालिका मेयरमा सीमा क्षत्री, नवलपरासीको कावासोती नगरपालिका मेयरमा चन्द्रा पुन, चितवन राप्ती नगरपालिका मेयरमा प्रभा बराल, रसुवाको कालिका गाउँपालिका अध्यक्षमा सीताकुमारी पौडेल, म्याग्दीको धौलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुन, पोखरा लेखनाथ महानगरपालिकोको वडा नं. १ को वडा अध्यक्षमा शारदा पराजुली, चितवनको राप्ती नगरपालिका वडा नं. ५ को वडा अध्यक्षमा मेनुका पाठक निर्वाचित हुनुभएको छ।

यसै गरी एमालेकै तर्फबाट स्याङ्जा फेदिखोला वडा नं. ५ को वडा अध्यक्षमा देउकुमारी गुरुङ (चिजा), रामेछाप खाँडादेवी गाउँपालिका वडा नं.९ को अध्यक्षमा चिनीमाया तामाङ र लमजुङ बेंसीशहर नगरपालिका वडा नं ८ को अध्यक्षमा पवित्रा थापा राना निर्वाचित हुनुभएको छ। यस्तै कांग्रेसको तर्फबाट जुम्लाको चन्दननाथ नगरपालिका मेयरमा कान्तिका सेजुवाल, तनहुँको म्याग्दे गाउँपालिका अध्यक्षमा माया राना, चितवनको इच्छाकामना गाउँपालिका अध्यक्षमा गीता गुरुङ, नवलपरासीको हुप्सिकोट गाउँपालिका अध्यक्षमा लक्ष्मी पाण्डे, लमजुङको दूधपोखरी गाउँपालिका अध्यक्षमा छुपिमाया गुरुङ निर्वाचित हुनुभएको छ।

माओवादी केन्द्रको तर्फबाट दुई जना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। माओवादी केन्द्रको तर्फबाट सिन्धुली सुनकोसी गाउँपालिकाको अध्यक्षमा दीपा बोहरा र सल्यान कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर निर्वाचित हुनुभएको बताइएको छ।

 

महिलालाई आर्थिक सशक्तीकरणतर्फ उन्मुख गराउने सोच छ।
सीमा क्षत्री, मेयर
पुतलीबजार नगरपालिका, स्याङ्जा

गाउँलाई शान्ति र समृद्धितर्फ उन्मुख बनाउन लागिपर्नेछु।
दिलमाया बुढामगर
कुमाख गाउँपालिका अध्यक्ष, सल्यान

शहरलाई सफा सुग्घर र हरियाली बनाउने सोच छ।
रञ्जु तिलागीं
सबैभन्दा कान्छी जनप्रतिनिधि
(२३ वर्षीया)

 

ललितपुर महानगरपालिका वडा नम्बर ३ बाट वडा सदस्यका रूपमा सबैभन्दा कान्छी उम्मेदवारको रूपमा रञ्जु तिलांगी निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँलाई कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले आ–आफ्नो पक्षबाट चुनाव लड्न टिकट दिए पनि उहाँ एमाले पार्टी रोजेर दलितको कोटाबाट निर्विरोध हुन सफल हुनुभयो। २३ वर्षीया रञ्जुलाई तपार्इंको योजना के छ भनी नेपाल समाचारपत्रले जिज्ञाशा राख्दा भन्नुभयो– ‘शहरलाई सफा सुग्घर र हरियाली बनाउने सोच छ। साथै महिलाहरुको क्षमता अभिवृद्धिका लागि विशेष कक्षा सञ्चालन गर्ने योजना छ।’ ललितपुर–३ ठाडोढुंगाकी रञ्जुले सामाजिक दुव्र्यवहार नियन्त्रणका साथै घर–परिवारका झै–झगडा मिलाउनसमेत अग्रसर हुने बताउनुभयो। सामाजिक विभेद अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको रञ्जुको भनाइ छ।
सल्यान कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगरले गाउँलाई शान्ति र समृद्धितर्फ उन्मुख बनाउन लागि पर्ने बताउनुभयो। एमालेका भैरवकुमार शाहलाई १ हजार ६ सय ७८ मतले पराजित गर्दै विजयी भएकी बुढामगरले विकास निर्माण र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘शपथ ग्रहण गरिसकें। तर, अझै पदभार गरेको छैन। गाउँको विकासलाई उचाइमा पुर्याउन सदैव प्रतिबद्ध भएर लाग्छु। योजना मात्रै बनाउँदिन। कार्यान्वयन पनि गराउँछु।’

स्याङ्जाको पुतलीबजार नगरपालिकावाट मेयरमा निर्वाचित सीमा क्षत्रीले पुतलीबजार सम्भावनायुक्त ठाउँ भएको भन्दै पर्यटकहरु भित्त्याउन आफू लागिपर्ने बताउनुभयो। उहाँले थुप्रै युवाहरु विदेश पलायन भइरहेको भन्दै युवा स्वरोजगारका कार्यक्रम सञ्चालनमा ल्याउने योजना सुनाउनुभयो। सीमाले भन्नुभयो– ‘महिलालाई आर्थिक सशक्तीकरणतर्फ उन्मुख गराउने सोच छ। साथै कृषिलाई प्राथमिकतामा राखेर खेतहरुलाई बाँझो हुन नदिन आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरेका छौं।’ क्षत्रीले १० हजार २ सय ४९ मत प्राप्त गरेर पुतलीबजार नगरपालिकाको मेयर जित्दा कांग्रेसका नेता तुलसीराम रेग्मी १० हजार २० मतमा रोकिनुभएको थियो। क्षत्रीले एमालेको तर्फबाट टिकट पाउनुभएको हो।

प्रतिक्रिया दिनुहोस्