चन्द्रमाको माटो बोक्न प्रयोग भएको झोला लिलाममा ४० लाख डलर पुग्ने अनुमान



न्युयोर्क, (एजेन्सी)
चुन्द्रमाको माटो धर्तीसम्म ल्याउन प्रयोग भएको एउटा सानो झोला दुई वर्षअगाडि मात्रै नेन्सी ली कार्लसनले ९ सय ९५ अमेरिकी डलरमा किनेकी थिइन्। सम्भवतः आगामी सोथेवीको लिलाममा यो झोलाको मूल्य उनले ४० लाख अमेरिकी डर पाउने अनुमान गरिएको छ। किनभने यसमा चन्द्रमाको धुलोका कणहरूको छिटाहरू परेका छन्।

अन्तरिक्ष यात्री निल आम्र्सट्रंगले सन् १९६९ को एपोलो ११ चन्द्रमाको ऐतिहासिक यात्राका क्रममा चन्द्रमाको सी अफ ट्य्राक्विलिटीबाट माटोले उक्त ब्याग भरेका थिए। उनले उक्त झोला ह्युस्टनको प्रयोगशालामा पुर्याए र त्यहाँ उक्त झोला खाली गरियो र त्यसपछि भने उक्त झोला कता पुग्यो थाहा भएन। केही समयपछि एकाएक यो झोला अमेरिकी मार्सल लिलाम वेबसाइटमा देखापरेको थियो।

लिलाममा प्रवेश गरेकी सिकागो क्षेत्रका न्यायाधिवक्ता कार्लसनले अरू केही सामग्रीसँगै उक्त झोला पनि किनेकी थिइन्। उनले अन्तरिक्षको स्मृति चिह्नका रूपमा रहेको उक्त ब्यागका लागि ९ सय ९५ डलर खर्चेकी थिइन्। त्यसपछि उनले परीक्षणका लागि उक्त झोला नासा पठाएकी थिइन्। तर लामो अदालती संघर्षपछि मात्र उनी उक्त झोला फिर्ता लिन सफल भइन्।

सोथबीले उक्त झोलालाई लिलाममा ल्याइएको अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण अन्तरिक्ष साक्षी भएको जनाएको छ। उसले यो सामान चन्द्रमामा पहिलो मानव अवतरण भएको ४८औं वर्ष पुगेको अवसर पारी जुलाई २० मा बिक्रीमा राखिनेछ।

यद्यपि नासा यसमा त्यति उत्साहित देखिएको छैन। एजेन्सीका प्रवक्ता वारेन जेफ्सले वालस्ट्रिट जर्नललाई उक्त झोला सार्वजनिक प्रदर्शन हुनुपर्ने र कुनै निजी संकलनमा लुप्त हुन नहुने बताएका छन्।

‘उक्त झोलाले अहिलेसम्म मानवले हासिल गरेको सबैभन्दा महत्त्वपूर्ण कार्य सम्पन्न गर्ने क्रममा आफ्नो जीवनलाई जोखिमा राख्ने अन्तरिक्ष यात्रीलगायत अमेरिकी पुस्ता संलग्न एउटा विशाल राष्ट्रिय प्रयासको प्रतीकलाई प्रतिनिधित्व गर्छ।’ –जेफ्सले बताए।

नासाले उक्त झोलाबाहेक चन्द्रमामा कसैलाई पनि अनुमति नदिएको कारण पनि उक्त झोलाको मूल्य आकासिन सक्ने अनुमान गरिएको छ। सोथेबीका वरिष्ठ विज्ञ क्यासान्ड्रा हेटोनले उक्त झोलाको लिलाम आफूलाई मोना लिसाको क्षण जस्तै लागेको बताइन्।

प्रतिक्रिया दिनुहोस्