“महानगरपालिकालाई स्वच्छ र हराभरा बनाउन लागि पर्नेछु”



चिरिबाबु महर्जन,
नवनिर्वाचित मेयर
ललितपुर महानगरपालिका

पहिलो चरणको स्थानीय निर्वाचनमा चुनाव भएका ४ वटा महानगरपालिका मध्ये राजधानसँगै जोडिएको ललितपुर महानगरपालिकाको चुनावी परिणाम बुधबार बिहान आएको छ। जसअनुसार मेयर पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन निर्वाचित हुनु भएको छ। आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई ा करिब साढे तीन सय मतले पछाडि पार्दै उहाँ मेयर पदमा निर्वाचित हुनुभएको हो। यस अघि तीन पटक वडाध्यक्ष भइसक्नुभएका ५९ वर्षीय महर्जनसंग महानगरपालिकाको मेयर पदमा निर्वाचित भइसकेपछिका कार्ययोजनाबारेमा नेपाल समाचारपत्रका लागि सुनिल महर्जनले गरेको कुराकानीः

ऐतिहासिक ललितपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएकोमा कस्तो महसुश भइरहेको छ ?

निश्चिय नै खुशीको अनुभूती भइरहेको छ। खुशीसंगै जिम्मेवारी बोधको पनि उतिकै महसुश गरेको छु। निर्वाचित गराएकोमा आम महानगरवासीहरुप्रति निकै कृतज्ञ छु। सबैलाई धन्यवाद भन्न चाहन्छु।

महानगरपालिकाको प्रमुखमा तपाईले नै जित्नुको मुख्य कारण के जस्तो लाग्दछ?

तीन पटक वडाध्यक्ष भइसकेको मेरो पृष्ठभूमी, जनतामा घुलमिल भएको छवि, नेपाली काँग्रेसका नेता र कार्यकर्ता सबैको मेहनेत, शुभेच्छुकहरु सबैको सहयोग र आम नगरवासीको म प्रतिको आशा र भरोसा नै निर्वाचित हुनुको मुख्य कारण हो जस्तो लाग्दछ।

मेयरको रुपमा पद बहाल गरेपछि गरिने पहिलो निर्णयलाई सबैले चासो दिएर हेरेका हुन्छन्। पदबहाली गरिसकेपछि यही निर्णय गर्दछु भनेर केही सोच्नु भएको छ त ?

राति १ः३० बजे निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट घोषणा गरियो। रातभर सुत्न पनि पाएको छैन। त्यसैले यही निर्णय गर्छु भनेर अहिलेसम्म सोच्न पाएको छैन।

जनप्रतिनिधिहरुले आ–आफ्नो मातृभाषामा पनि शपथ लिन पाउनुपर्दछ भनेर निर्वाचित वडाध्यक्षहरुले नै सामाजिक सञ्जालमा चर्चा गरेको सुनिन्छ। यसमा तपाईको धारणा के छ ?

स्थानीय तह भनेको जनताको नजिक रहने सरकार हो। यसप्रति जनताको अपनत्वबोध पनि निकै रहन्छ। आजको संविधानले नै नेपालमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा भनिसकेको अवस्थामा आ आप्नो मातृभाषामा शपथ लिन सकिन्छ। यसलै कसैको पनि अधिकार हनन् हुने नभई समानताको अनुभूति गराउने छ। यसबाट सांकेतिक रुपमा स्थानीय तहप्रति जनताको स्वामित्व बढाउने मेरो विश्वास रहेको छ।

तत्काल के के कामहरुलाई प्राथमिकता राख्नुहुन्छ?

महानगरपालिकाको प्राथमिकता एकातिर कला, मूर्त, अर्मूत संस्कृतिको सम्पदाको संरक्षण, प्रवद्र्धन र अर्कोतर्फ विकास निर्माण र पूर्वाधार खडा गर्नु हो। यी कुराहरु यहाँको आर्थिक विकासका महत्वपूर्ण आधारहरु पनि हुन्। अहिले धुलो र धुँवाले वातावरण निकै दुषित भएको जताततैबाट आइरहेको छ।

महानगरपालिकालाई स्वच्छ, हराभरा बनाउन लागिपर्ने छु। अर्को खानेपानीको समस्याले जनता आक्रान्त छन्। खानेपानी सहज तरिकाले उपलब्ध गराउन विभिन्न योजनाहरुलाई प्राथमिकता दिनेछु। बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पीडितहरुले अहिलेसम्म पुनःनिर्माण कार्य अघि बढाउन सकिरहेका छैनन्। घर बनाउन सरकारले दिएका अनुदान अहिलेसम्म सबैले पाएका छैनन्। यस्तो अवस्थामा भूकम्प पीडितको व्यवस्थापन र सरकारी अनुदान सबैलाई उपलब्ध गराउन पहल गर्नेछु। ललितपुर कला र संस्कृतिले भरिएको शहर हो। भूकम्पबाट थला परेका सम्पदाहरुको पुनःनिर्माण तीब्र गतिमा हुन सकिरहेको छैन। त्यसैले पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राख्ने छु। यहाँको सम्पदा र संस्कृतिलाई प्रर्वद्धन गर्दै पर्यटकीय दृष्टिले आकर्षक गन्तव्यका रुपमा परिणत गर्नेछु।

स्थानीय तहलाई राज्यको तल्लो तहको रुपमा संविधानले नै स्वीकार गरेको छ। हिजोका स्थानीय निकाय भन्दा आजका स्थानीय तह अधिकार सम्पन्न रहेका छन्। ती अधिकार कार्यान्वयन गर्न कर्मचारी संयन्त्र र नगरवासीको चेतना र क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता कतिको देख्नुहुन्छ ?

स्थानीय तहलाई दिएको अधिकार कार्यान्वयन गर्न कर्मचारीका सोच, जनप्रतिनिधिको क्षमता वृद्धि र जनतालाई अधिकारबारे चेतना वृद्धि गर्दै लैजानुपर्ने एकदमै जरुरी रहेको छ। क्षमता वृद्धि गर्न नसके आजको स्थानीय तहलाई हिजोकै स्थानीय निकायको पृष्ठभूमीमा बुझ्ने र अधिकारको कार्यान्वयनमा ठोस कार्य नगर्ने प्रवृति हावी हुन सक्दछ।

कर्मचारी संयन्त्रले चलाउँदा स्थानीय तवरबाटै गरिएको विभिन्न सर्वेक्षणले सार्वजनिक सुनवाई, सामाजिक परीक्षण जस्ता जवाफदेही बनाउन कार्यक्रमहरु ९० प्रतिशत नगरवासीलाई थाहा छैन भनेर विभिन्न प्रतिवेदनहरुले देखाएको थियो। यस्तो अवस्थामा जनप्रतिनिधिहरु स्थानीय तहमा बहाल भएको अनुभूति कसरी दिने विचार गरिरहनुभएको छ त?

लामो समयसम्म जनप्रतिनिधि रिक्त भएकोले महानगरपालिका र महानगरवासीबीच गहिरो खाडल रहेको छ। सूचना प्रवाह, उत्तरदायी, नीति निर्माण र विकास निर्माणमा स्थानीय सहभागिता नगन्य रहेको छ। लोकतन्त्रका नाममा भागबन्डातन्त्र मौलाएको थियो। अहिले जवाफदेही, उत्तरदायी र पारदर्शी शासन व्यवस्थालाई जोड दिनेछौं। सुशासनको माध्यमबाट जनप्रतिनिधि बहाल रहेको अनुभूति दिनेछौं।

जनप्रतिनिधिहरुलाई काम गर्ने क्रममा देखापर्न सक्ने चुनौती के के हुन् ?

लामो समयसम्मको संक्रमणकाल, असहज परिस्थिति र सशस्त्र द्वन्द्वबाटै मुलुक यहाँ सम्म आइपुगेको छ। यस दौरानमा जनताको चेतना र अनुभव पनि निकै बढेको छ। बढेको चेतना अनुसार भौतिक परिस्थिति तयार भएन भने निराशा तर्फ धकेलिने खतरा पनि रहन्छ। विगत १५ वर्षसम्म स्थानीय निकायमा जे जस्तो विकृति र विसंगति जन्मियो, हुर्कियो, त्यसको कारण भनेको जनप्रतिनिधिविहीन भएकोले भनेर हामीले सुन्दै आयौ।

भन्दै आयौ। साँच्चीकै त्यो कुरा सही वा गलत प्रमाणित गर्ने भार पनि अहिले जनप्रतिनिधिहरुमा आएको छ। जनप्रतिनिधि भएपछि हिजोदेखि जमेर बसिरहेको के कस्तो समस्या समाधान भए ? के कस्तो समस्या समाधान हुन सकेनन् भनेर जनतालाई इमान्दारीपूर्वक बताउनु आवश्यक हुन्छ। जनप्रतिनिधिविहीन भएकोले नगरवासीको आकांक्षा, आशा र चाहना हवातै बढेका होलान्। त्यसलाई सम्बोधन गर्ने दिशामा थुप्रै चुनौतीहरु रहेका छन्।

सबैभन्दा मुख्य कुरो अहिले जनप्रतिनिधिहरु बहाल भएको अनुभूति सबै नगरवासीमा गराउनुपर्ने आवश्यकता रहेको छ। यसो गर्न नसके जनतामा पुनःअसन्तुष्टि जन्मिने छ। यसतर्फ जनप्रतिनिधिहरु बढी संवेदनशील हुनुपर्दछ।

लोकतन्त्रको जग मजबुतीसंगै जनप्रतिनिधि बहाल भएपछि दलीयतन्त्र मौलाउने खतरा कतिको देख्नुहुन्छ ?

खतरा छ। फेरी लोकतन्त्र भनेको एकचोटी मत दिएपछि पाँच वर्षसम्म चुप लागेर बस्नु पनि होइन। जनप्रतिनिधिहरुलाई नगरवासीहरुको निरन्तर खबरदारी आवश्यक रहन्छ।

प्रतिक्रिया दिनुहोस्