कन्सर्ट अन्त्यमा म्यान्चेस्टरको रंगशालामा आत्मघाती विस्फोट, बाइसको मृत्यु, उनान्साठी घाइते



म्यानचेस्टर ,(एजेन्सी)
बेलायतको म्यान्चेस्टर रंगशालामा आयोजित अमेरिकी गायिका एरियना ग्रान्डको कन्सर्टको अन्त्यमा सोमबार भएको आत्मघाती बम विस्फोटनमा एक आठ वर्षीया बालिकालगायत २२ जना व्यक्तिको ज्यान जानुका साथै अन्य ५९ जना घाइते भएको सुरक्षाकर्मीहरूले जनाएका छन्।

स्थानिय समयअनुसार सोमबार राति १० बजेर ३३ मिनेट जाँदा एकजना पुरुषले घरमै बनाइएको बम पड्काएका थिए। बेलायती प्रधानमन्त्री थेरेसा मेले यस घटनालाई घृणित कार्यको संज्ञा दिएकी छिन्। मारिने आठ वर्षीया साफी रोज रोस्सोस नामक बालिका ल्यान्कासायरस्थित टोर्लेटन प्राइमरी स्कुलकी विद्यार्थी रहेको बताइएको छ।

विद्यालयका हेड टिचर क्रिश युप्टनले उनी निकै सुन्दर र सबैले मनपर्ने बालिका भएको जानकारी दिएका छन्। यस बम काण्डमा मारिनेको सूचीमा १८ वर्षीया छात्रा जर्जिन क्याल्लान्डर पनि रहेकी छिन्। उनी ल्यान्कासायको लेल्यान्डस्थित रनस कलेजमा हेल्थ र सोसियल केयर विषय लिएर अध्ययन गरिहेको बताइएको छ।

घटनालगत्तै म्यान्चेस्टर रंगशालामा ६० वटा एम्बुलेन्स पठाइएको थियो। घाइतेहरूको सोही शहरका आठवटा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये पनि १६ वर्ष उमेरमुनिका १२ जना बालबालिकारहेको प्रहरीले जनाएको छ।
मंगलबार डाउनिङ स्ट्रिटबाट जारी भएको एउटा विज्ञप्तिमा प्रधानमन्त्री थेरेसाले भनेकी छिन्– ‘लाचार युवा जमातमाथि भएको यो अत्यन्तै क्रुर आतंककारी आक्रमण हो। सुरक्षा सेवालाई आक्रमणकारीको परिचय थाहा छ तर तिनीहरू यस विषयमा यकिन हुन सकेका छैनन्।’

संयुक्त अधिराज्यमा सन् २००५ को ७ जुलाईमा भएको आतंकारी आक्रमण पछिको यो अर्को निकै भयावह आक्रमण हो। त्यतिबेला चारजना व्यक्तिले आत्मघाती बम विस्फोट गराउँदा ५२ जना व्यक्तिको ज्यान गएको थियो। तथाकथित इस्लामिक स्टेटले मेसेजिंग एप टेलेग्रामको आईएस च्यानलमार्फत म्यान्चेस्टर आक्रमणमा आफ्नो हात रहेको दाबी गरिसकेको छ। यसैबीच बीबीसीले आक्रमणकारी बेलायती नै हुनुपर्ने दाबी गरेका छन्।

ग्रेटर म्यान्चेस्टर प्रहरी प्रमुख कन्स्टेवल इयान होप्किन्सले भनेका छन्– ‘यो शहरकै अहिलेसम्मकै सबैभन्दा भयावह घटना हो। आक्रमणकारी एक्लै हो वा उनको कुनै संजाल छ भन्ने थाहा पाउन दु्रत गतिमा अनुसन्धान अघि बढिरहेको छ।’ सुरक्षाकर्मीहरूले ह्याल्ली रेन्ज र फलोफिल्डमा छापा मारिसकेका छन्।

यस घटनालगत्तै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ भने राजनीतिक पार्टीहरूले आम चुनावको प्रचार प्रसार अभियान स्थगन गरेका छन्। घटनास्थलको भ्रमण गरिसकेकी प्रधानमन्त्री थेरेसा मेले सरकारको आपत्कालीन कोब्रा समितीको बैठकको अध्यक्षता गरेकी छिन्।

राजधानी लनडनका मेयर सादिक खानले इंगल्यान्डका खेल आयोजना स्थलहरू र अन्य महत्त्वपूर्ण स्थानको सुरक्षामाथि गम्भीरतापूर्वक पुनरावलोकन गरिरहेको तथा सडकहरूमा प्रहरीको उपस्थियित संख्या बढाइएको जानकारी पत्रकारहरूलाई दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्का नेताहरूले बेलायतप्रति ऐक्यबद्धता जनाउँदै यस आक्रमणको भत्र्सना गरिसकेका छन्।

ट्रम्पले यस आक्रमणलाई ‘दुष्ट र कायरपूर्ण’को संज्ञा दिएका छन्। यसैबीच परीक्षा बोर्डहरूले यस आक्रमणबाट प्रत्यक्ष प्रभावित विद्यालयहरूले जीसीएसई र ए–लेभलको परीक्षाको कायक्रम फरबदल गर्न सक्ने जनाएको छ। प्रहरीले म्यान्चेस्टर शहरको एटिहाद रंगशालाको ११ नम्वर गेटमा पीडित पक्षलाई आवश्यक सहयोग र सूचना प्रदान गर्ने उद्देश्यले प्रहरीले हेल्प सेन्टर स्थापना गरेको छ।

बेलायतकी महारानी एलिजावेथ द्वितियाले पीडित पक्षप्रति गहिरो सहानुभूति व्यक्त गरेकी छिन्। पोप फ्रान्सिसले पनि पीडित र तिनका परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

यस घटनाका मृतकहरूप्रति सम्मान प्रकट गर्दै मंगलबार राति लिभरपुलमा आयोजना हुने भनिएको ग्रान्डको कन्सर्ट रद्ध गरिएको छ। प्रत्यक्षदर्शीहरूले विस्फोटस्थल वरपर धातुका नट र बोल्टहरू छरिएको अवस्थामा देखेको बताएका छन्।

त्यहाँ आफ्ना पत्नी र छोरीलाई पिकअप गर्न गएका एन्डी होलीले अचानक शक्तिशाली विस्फोट हुँदा आफू करिब ३० फिट पर पछारिन पुगेको बताएका छन्। त्यसै गरी आफ्ना १५ र १७ वर्षीया बालबालिका लिन गएकी इम्मा जोह्नसनले पुरा विल्डिङ नै हल्लिएको र विस्फोटसँगै आगोको लप्का फैलिना साथ वरपर लाशहरू छरिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्