ट्रम्पद्वारा इस्लामिक देशलाई आतंकवाद अन्त्य गर्न अपिल



रियाद, (एजेन्सी)
पहिलो विदेश यात्राका क्रममा सउदी अरेबिया पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियादमा ४० भन्दा धेरै मुस्लिम देशका नेताहरूलाई सम्बोधन गरे।

ट्रम्पले आफ्नो सम्बोधनमा मुस्लिम देशका नेताहरूलाई आतंकवाद अन्त्य गर्न अपिल गर्दै भने– ‘आफ्नो पवित्र भूमिमा आतंकवादलाई प्रश्रय नदिनुहोला।’

आतंकवादबाट विश्वभरिका देश पीडित रहेको र केही देशले आतंकवाद बढाउनमा मद्दत गरिरहेको उनले बताए। यसबाट मध्यपूर्वदेखि भारत र रुसजस्ता देश पनि प्रभावित भइरहेको ट्रम्पले जोडे। धर्मको नाममा आतंकवादको खेल अब बन्द हुनुपर्नेमा उनले जोड दिए।

इस्लामिक मुलुकहरूको उक्त सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ पनि उपस्थित थिए। ट्रम्पले भने– ‘अमेरिकाको लक्ष्य शान्ति, सुरक्षा र समृद्धि हो। म मित्रता, आशा र प्रेमको सन्देश लिएर आएको छु। म कसैलाई केही थोपार्न आएको होइन, साझेदारी बढाउन आएको हुँ। ठूला मुस्लिम देशले इस्लामिक अतिवादसँग लड्नका लागि अगाडि आउनुपर्छ।’

राष्ट्रपति ट्रम्पले अमेरिकाले शान्ति र सुरक्षा चाहेको र मुस्लिम युवा पनि बिना त्रास बसोस् र अगाडि बढून् भन्ने आफूले चाहेको बताए।

सम्बोधनका क्रममा ट्रम्पले सउदी अरेबियाले दिएको सत्कारबाट आफू खुसी रहेको बताए। ट्रम्पले नरेश सलमानको नेतृत्वमा दुई देशबीचको सम्बन्ध राम्रो भएको र उनीहरूबीच भएको सम्झौताले राजगार उत्पन्न गर्ने र अतिवादसँग लड्नमा सहयोग हुने बताए।

ट्रम्पले भने– ‘मध्यपूर्व सांस्कृतिक रूपमा पर्याप्त सम्पन्न छ र प्राकृतिक संसाधनले भरिएको छ। तर आतंकवादका कारण सबै कुरा पछाडि छुट्ने गरेको छ। जसले आतंकवादलाई आर्थिक सहयोग जुटाउँदै आइरहेका छन् उनीहरूले बन्द गर्नुपर्नेछ। हामी मध्यपूर्वमा आतंकवादसँग लड्नका लागि सहयोग चाहन्छौं। मुस्लिम अतिवादीलाई प्रश्रय दिन बन्द गर।’

सम्मेलनमा आयोजक सउदी नरेश सलमानले जस्तै ट्रम्पले पनि इरानलाई निसाना बनाए। इरानले सामुदायिक हिंसालाई बढावा दिइरहेको ट्रम्पले आरोप लगाए। अमेरिकी राष्ट्रपतिले इरानले त्यस क्षेत्रमा अस्थिरता फैलाइरहेको पनि आरोप लगाए र उनले इजरायल र प्यालेस्टाइनबीच शान्ति सम्झौता सम्भव भएको प्रसंगलाई जोडे।

यसअघि सम्मेलनमा सम्बोधन गर्दै साउदी अरेबियाका नरेश सलमानले भने– ‘इस्लाम शान्ति र सहिष्णुताको धर्म हो। इस्लामको नाममा आतंकवाद बन्द हुनुपर्छ। आतंकवादविरुद्ध सबै देश एकजुट हुने समय आएको छ।’
नरेश सलमानले इरानको पनि कडा आलोचना गरे। इरानले विश्वासको वातावरण ध्वस्त बनाएको उनले आरोप लगाए। इरानले आतंकवादलाई प्रश्रय दिइरहेको बताउँदै नरेशले इस्लामिक स्टेटसँग लड्ने प्रतिबद्धता व्यक्त गरे।

जवाफमा इरानको व्यंग्य
इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले साउदी अरेबियामाथि व्यंग्य कस्दै उसलाई ‘विश्वकै लोकतन्त्र र उदारवादको गढ’ भएको बताए।

साउदी भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले सउदी अरेबियासँग अर्बौं डलरको हतियार विक्री सम्झौता गरेका थिए। ट्रम्पको भाषणको जवाफमा जरिफले ट्विट गर्दै लेखे– ‘हालै मात्र चुनाव सकिएको इरामा अमेरिकाले लोकतन्त्र र उदारवादको गढबाट हमला गरे। यो विदेश नीति हो वा ४ सय ८० अर्ब डलरका लागि साउदी अरेबियाको दोहन हो।’

प्रतिक्रिया दिनुहोस्