कार्टुन मन पर्यो



हिजो आइतबार नेपाल समाचारपत्रमा प्रकाशित कार्टुन निकै मर्मस्पर्शी लाग्यो। आगामी दिनमा
पनि नेपाल समाचारपत्रले यस्तै कार्टुन छापेमा हामी नेपालीको मन जित्नेछ।

साँच्ची नै मतदानको नतिजा यति ढिला गर्ने हो भने दोस्रो चरणको निर्वाचनको टिकट लिन नै उम्मेदवारहरूले गाह्रो मान्ने अवस्था हुन सक्छ। अझ राजनीतिमा आउन चाहने सक्षम नवयुवालाई हतोत्साही बनाउन सक्छ। इरानको राष्ट्रपति पदका लागि यो बीचमा निर्वाचन गरी करौडौं मत गनेर परिणामसमेत आइसक्यो।

तर, हामी कहाँ अझै यस्तो लथालिंग चाला छ। त्यसैले सिक्नुपर्ने राम्रा कुराहरू जो–कसैबाट सिक्दा पनि सानो भइँदैन।

हिरण्य श्रेष्ठ
काठमाडौं

मुद्दा फिर्तामा पुनर्विचार गर
सरकारले मधेस आन्दोलन र थारुहट आन्दोलनका मुद्दा फिर्ता गर्ने निर्णय गरेको सुन्दा नेपाली जनतालाई अहिले आक्रोशित बनाएको छ। ड्युटीमा बसेका सुरक्षाकर्मीलाई भाला र लाठी प्रयोग गर्नु कदापि राजनीतिक घटना
हुन सक्दैन।

सरकारले आफ्नो निर्णय पुनर्विचार गरी आपराधिक गतिविधि गर्ने उपर कडाभन्दा कडा कारबाही गरोस्। राजनीति र अपराध एउटै कुरा होइनन्। युद्ध वा राजनीतिका पनि सीमा हुन्छन्। ती सीमा नाघेर जघन्य अपराध गरेका दुष्टहरूलाई मुद्दा फिर्ता गरेर नेता बनाउन नखोजियोस्।

रश्मी कार्की

सिनामंगल काठमाडौं
लाजमर्दो काम
सुरक्षामा खटिएका सुरक्षाकर्मीको हत्या गर्नेकै मुद्दा फिर्ता गर्न थालियो भने भोलि भयावह अवस्था उत्पन्न हुन सक्छ। कुनै उच्चस्तरका नेताहरूलाई आक्रमण गर्न कोही आयो र उनका सुरक्षा गार्डले प्रत्याक्रमण नगरी छोडिदिने अवस्था आयो भने के होला ?

यति सामान्य कुरा पनि नबुझी यस्ता गलत कदम सरकारको तर्फबाट उठाइनु कति जायज होला ? यस्तो लाजमर्दो काम सरकारबाट अपेक्षा गरिएको छैन।

वीरेन्द्र पाठक
नयाँ बजार

को मृत फेला पर्छन् ?
पत्र–पत्रिकाहरूमा मृत फेला भन्ने खालका समाचार बाहिर आइरहेका हुन्छन्। ती मान्छे कसरी मृत फेला परेका हुन्। उनीहरूका आफन्त को हुन् ? उनीहरूको सदगज कसरी गरिन्छ भन्ने कुरा कहिल्यै पनि सुनिँदैन। को मान्छे यसरी मृत फेला परेका होलान् भन्ने मलाई कौतुहल लागिरहेको छ। जिज्ञाशा मेटाइदिनु भए आभारी हुने थिएँ।
राजेश गुरुङ
स्वयम्भु, काठमाडौं
निर्वाचन आयोगले यसो गरे कसो होला ?
स्थानीय निकायको निर्वाचनको बारेमा आइरहेका मतगणनाको परिणाम आधिकारिकरूपमा आइरहेका छैनन्, जथाभावी आइरहेका छन् भन्ने कुरा सुनिएको छ। किन यस्तो भइरहेको होला ? निर्वाचन आयोगले कुनै निश्चित समयमा परिणाम सार्वजनिक गर्न मिल्दैन ? आयोगले यसरी सार्वजनिक गरेको अवस्थामा जनतालाई सही सूचना जाने थियो। किन यसो नगरिएको होला ?

उमेश श्रेष्ठ

बनेपा
अन्तरवार्ता पेजको फोटो भुसालको भनाइमा चित्त बुझेन
माओवादी केन्द्रका पवक्ता पम्फा भुसाले दिनुभएको अन्तरवार्ता आइतबारको नेपाल समाचारपत्र दैनिकका पढ्न पाइयो। उहाँले कैलालीमा प्रहरी मारिएको घटनालाई पनि राजनीतिक घटना भनेको सुन्दा चित्त बुझेन्। उहाँ जत्तिको नेतृले पनि त्यसरी नबोलेको भए राम्रो हुने थियो।

भूषण देवकोटा

कैलाली (हाल काठमाडौं)
आफूखुसी सरकार
विप्लव माओवादीले स्थानीय सरकार गठन गरेको कुरा आइतबारको नेपाल समाचारपत्रमा पढ्न पाइयो। जनतासँग अनुमोदित हुनचाहिँ डराउने अनि आफैं सरकार गठन गर्दै हिँड्ने यो के तरिका हो ? दादागिरी भएन र ? हिम्मत भए त जनतामा गएर जितेर देखाउनुपर्यो नि। आफूखुसी सरकार गठन गर्दै हिँड्ने सो पार्टीलाई कसले अधिकार दियो ?

उज्ज्वल थापा

काठमाडौं
स्वाधीनतामा ध्यान देउ
मुलुकका दलहरूले अहिले चुनावको कुरा मात्रै गरिरहेका छन्। तर, अहिले मुलुकमा चुनावभन्दा पनि राष्ट्रिय स्वाधीनताको चर्चा हुनुपर्ने अवस्था रहेको छ। त्यसैले चुनावभन्दा पनि राष्ट्रिय स्वाधीनता जोगाउनेतर्फ दलका नेताहरू एकढिक्का हुनुपर्दछ। यसको मतलब चुनावमा लाग्दै नलागौं भनेको होइन। तर, राष्ट्रियताको विषयमा पनि उत्तिकै गम्भीरतापूर्वक लाग्नु जरुरी रहेको छ।

गणेश कार्की
तानसेन–४, पाल्पा

प्रतिक्रिया दिनुहोस्