दोस्रो चरणका लागि तातिसक्यो अर्घाखाँची



शोभाखर पन्थी⁄अर्घाखाँची

अर्घाखाँची जिल्लामा चुनावी माहोल बढेको छ। गत वैशाख ३१ गते पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै यता पनि एकाएक चुनावी सरगर्मी बढेको हो।

वैशाख ३१ को निर्वाचन एक महिनापछि सारेसँगै निर्वाचन हुनेनहुने दुविधामा परेका दलहरू पहिलो चरणको निर्वाचन भएसँगै ढुक्क भएर आफ्नो पक्षमा चुनावी माहोल बनाउन लागेका छन्। जिल्लामा क्रियाशील दलहरूमध्ये नेपाली कांग्रेसबाहेकका अन्य ठूला दलहरूले उम्मेदवारको टुंगो लगाई प्रचारप्रसारको लागि गाउँगाउँमा पुगेका छन्, भने नेपाली कांग्रेसले आइतबार बेलुकासम्म उममेदवारको घोषणा गर्ने गरी तयारीमा जुटेको जनाइएको छ।

नेपाली कांग्रेसको उम्मेदवार हुने भनी घोषणा नगरे पनि पार्टीका लागि भने २⁄३ पटक गाउँगाउँमा पुगेर भोट मागेको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले बताए। निर्वाचनलाई मध्यनजर गरेर पार्टीको सबै संयन्त्र र भातृसंगठनलाई व्यापक रूपमा परिचालन गरिएको उनले बताए। कांगे्रसले उम्मेदवारको घोषणा नगरे पनि आन्तरिक रूपमा सहमति भएका ठाउँका उम्मेदवारलाई मतदातासमक्ष पठाएको दाबी गर्दै उनले सोमबारदेखि सबै उम्मेदवारलाई मत माग्न घरघरमा पठाउने तयारी गरेको बताए। पार्टी सर्वाधिक लोकप्रिय उम्मेदवार उठाइ जिल्लाको सबै स्थानीय तहमा निर्वाचन जित्ने पक्षमा रहेकोले केही समय ढिलाइ भएको सभापति खनालको दाबी छ।

जिल्लाको ठूलो दल नेकपा एमालेले भने करिब ३ हप्ता पहिले नै उम्मेदवारको टुंगो लगाइसकेको छ। एमालेले राजनीतिक क्षमता र इतिहासभन्दा पनि समाजमा स्थापित र जनाधार भएका व्यक्तिहरूलाई उम्मेदवारका रूपमा अगाडि ल्याएको छ। स्थानीय तहमा राजनीतिक खिचातानीभन्दा पनि निष्पक्ष भई जनताको पक्षमा अहोरात्र खटी काम गर्ने मान्छेको खाँचो पर्ने भएकाले क्षमतावान , इमानदार र राजनीतिक इतिहास बोकेका मान्छेलाई उम्मेदवार बनाइएको एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए। एमालेले जिल्लाको पहिलो र सदरमुकाममा अवस्थित सन्धिखर्क नगरपालिकामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ। युवा व्यवसायी श्रेष्ठ जनताबीच निकै लोकप्रिय नेता मानिन्छन्। लामो समयदेखि उद्योग वाणिज्य संघको जिल्ला नेतृत्वमा रही काम गरेका उनी इमानदार, जुझारु, सहयोगी र व्यवहारिक नेता मानिन्छन्। युवा व्यवसायी श्रेष्ठको उम्मेदवारीका कारण अरू दलहरूसमेत भोट बैंक भएका नेतालाई उम्मेदवार बनाउने पक्षमा छन्। नेकपा माओवादी केन्द्रले पार्टीका जिल्ला संयोजक ठाकुर कुमार विक किशोरलाई उम्मेदवार बनाएको छ। उनी माओवादी युद्ध लडेका नेता हुन्। जनयुद्धको समयमा लामो समयसम्म जिल्ला सेक्रेटरी भएर काम गरिसकेका विक पार्टीभित्र निक्कै शक्तिशाली मानिन्छन्। उनले नगरपालिकाको प्रमुख हुने इच्छा प्रकट गरेकै कारण नेपाली कांग्रेस र माओवादी केन्द्रको बीचमा सन्धिखर्क नगरपालीकाको प्रमुखको विषयलाई लिएर तानातान हँुदा सहमती नै बिग्रिएको थियो। निकै बोलक्कड र दार्सनिक क्षमताका नेता किशोरसमेत जनताबीच साख भएका नेता मानिन्छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको नगरपालिकाबाट उठेका उनी आफ्नो पक्षमा राम्रो जनमत रहेको दाबीसमेत गर्छन्।

सन्धिखर्क नगरपालिकाको उपप्रमुखमा एमालेले महिला नेतृ ईश्वरा पोख्रेल र नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्य कमला भण्डारी भुसाललाई उम्मेदवार बनाएको छ। उनीहरू दुबै जिल्लामा स्थापित महिला नेतृ हुन्। यसै गरी राष्ट्रिय जनमोर्चाले महिला तेतृ कल्पना पोखे्रललाई प्रमुख र पार्टीका जिल्ला उपाध्यक्ष पशुपति ढकाललाई उपप्रमुख बनाएको छ। दुबै उम्मेदवार निक्कै इमान्दार मानिन्छन्।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटीले चुनावमा भाग नलिने घोषणा गरेको छ भने सानो संख्यामा रहेका नयाँ शक्ति, राप्रपा, परिवार दललगायतका दलले समेत हालसम्म उम्मेदवार तय गरेका छैनन्। नयाँ शक्तिपार्टीको पार्टीगत अवस्था कमजोर रहे पनि सन्धिखर्क नगरपालिकामा महिलानेतृ यमुना भुसाल र मालारानी गाउँपालिकामा पार्टीका नेता खिमबहादुर विक भने जनताबीच प्रिय मानिन्छन्। जनता र दलहरूको बीचमा चुनावी हारजित र जोडघटाउको बारेमा बहस शुरू भए पनि नेपाली कांगे्रसले हालसम्म उम्मेदवारको औपचारिक रूपमा टुंगो नलगाइसकेकाले कहाँ कुन दलले जित्छ भन्न सक्ने अवस्था छैन। तर सबैदलले निर्वाचन आफैंले जित्ने दाबी गरेका गर्दै आएका छन्।

यसैबीच जेष्ठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा अर्घाखाँची जिल्लाका १ लाख २६ हजारभन्दा बढी जनताले मतदानको अवसर पाउने भएका छन्। जेष्ठ ३१ गते हुने निर्वाचनमा यहाँको ३ नगरपालिका र ३ गाउँपालिकाको ६१ वटा वडामा गरी १ लाख २६ हजार ६ सय ९९ स्थानीय बासिन्दाको नाम मतदाता सूचीमा छ। जिल्ला निर्वाचन कार्यालयकाअनुसार मतदातामध्ये महिलाको संख्या बढी छ। जसअनुसार महिला ६६ हजार ४ सय ३ छन् भने पुरुष ६० हजार २ सय ९६ छन्।

गत संविधानसभा निर्वाचनमा जिल्लाको मतदाता संख्या १ लाख ७ हजार २ सय २६ रहेकोमा यसपटक १९ हजार ४ सय ७३ मतदाता थपिएका छन्। जिल्लामा सबैभन्दा बढी सीतगंगा नगरपालिकामा २५ हजार १ सय ४२ मतदाता छन् भने सबैभन्दा कम मतदाता पाणिनी गाउँपालिकामा १८ हजार ३ सय ८ छन्। यसै गरी सन्धिखर्क नगरपालिकामा २४ हजार ६ सय ४२ भूमिका स्थान नगरपालिकामा २१ हजार १ सय ६० छत्रदेव गाउँपालिकामा १८ हजार ७ सय ६० र मालारानी गाउँपालिकामा १८ हजार ६ सय ८७ मतदाता छन्।

प्रतिक्रिया दिनुहोस्