यस्तो नैतिकता कोहीसँग छ?



निर्वाचनमा पराजय भयो भने केन्द्रीय स्तरका नेताले आफ्नो पदबाट नैतिकताको आधारमा राजीनामा दिएका यदाकदा घटना मात्रै सुनिन्छन्। अक्सर कसैले पनि कमजोरीको जिम्मेवारी लिँदैनन् बरु अरूलाई दोष दिन्छन्। यसपालि पहिलो चरणको स्थानीय निर्वाचनमा कास्कीका एकजना कांग्रेस नेताले चाहिं कमजोरीको जिम्मेवारी आफैंले लिएर राजीनामा दिंदै यस्तै नैतिकताको पदर्शन गरेका छन्।

उनको यो शिक्षा देशमा राम्रो काम गर्न नसक्ने तर कुर्सी ओगटेर बस्ने थुप्रै ‘होनहार’ हरूलाई एउटा ठूलो व्यंग्य पनि हो। यसरी नैतिकता देखाउने ती पात्र हुन्– कांग्रेसको पोखरा लेखनाथ महानगरपालिकाका सभापति बजीरमान श्रेष्ठ। प्रस्तुत छ, नेपाल समाचारपत्रका पोखरा प्रतिनिधि धन बस्नेतले श्रेष्ठसँग गरेको कुराकानीका मुख्य अंशहरूः

नगरसभापतिबाटै राजीनामा दिनुपर्ने कारण केही थियो कि ?

स्थानीय तहको चुनाव सर्वत्र चासोको विषय पनि हो। चुनावमा उठ्ने चाहना धेरैको थियो। सबको नेता बन्ने चाहना रह्यो। तर, सम्भावित जित्ने उम्मेदवारलाई चयन गर्न सकिएन। चयन गर्न नसक्दा असन्तुष्टी बढ्यो। त्यो असन्तुष्टी चुनावका मत परिणामले देखाएको छ। चुनावमा कांग्रेसले जित्ने वडाहरू पनि गुमाउनु विडम्बना नै मान्नुपर्छ। यो भनेको इमानदार कार्यकर्ताप्रतिको बेइमानी हो। उम्मेदवार बन्न नपाएकाहरूबाट देखिएको असन्तुष्टीले नै भड्काउने काम भयो।

दिनभर र्यालीमा हिँडेर साँझपख फोन सम्पर्क गरी हराउनुपर्छ है भन्ने खालको सूचना प्रवाह गरियो। जसले पार्टीलाई हानी पुर्यायो। वडाहरूमा अनपेक्षित नतिजा आए पनि मैले व्यक्तिगत रूपमा नैतिकताले राजीनामा दिएको हुँ। सांगठनिक र सामाजिक नैतिकताको आधारमा पार्टीविरुद्धको अन्र्तघात, गैरजिम्मेवारीपन र उदासिनताको जिम्मेवारी लिँदै कांग्रेसलाई पुनर्निर्माण, पुनर्संरचना र पुनर्गठनका लागि मार्ग प्रशस्त गरिदिनका लागि सबैमा आग्रह गर्छु। नैतिक दवावकै लागि मैले पदबाट राजीनामा दिएको हुँ।

कसरी भयो अन्तरघात ?

नेपाली कांग्रेसभित्र नेता बन्ने चाहना धेरैले राखे। नेता हुँदैमा पार्टी चल्दैन। पार्टीका लागि पनि काम गर्नुपर्छ। केवल केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि र नगरसमितिमा रहँदैमा मात्रै हुदैन्। क्रियाशील जनशक्ति तयार पार्नुपर्छ। पार्टीभित्र केवल नेताको प्रवृत्ति मात्रै देखाउनुहुँदैन। पार्टीभित्र इमानदार हुनुपर्छ। तर अहिले इमानदारीताको नाममा छरप्रष्ट भएको छ। आफूले उम्मेदवारको टिकट पाइएन भनेर विरोधमा जानुको कुनै औचित्य हुँदैन। आफूले उम्मेदवारी नपाएको झोंकमा प्रतिपक्षलाई उचाल्ने प्रवृत्ति देखियो। जुन अन्तरघातको नमूना नै हो।

जितेको वडाहरूमा वडाध्यक्षको मत आएको छ तर मेयर र उपमेयरलाई कम मत खसेको छ। पार्टीभित्रको असन्तुष्टीलाई एकातिर राखेर समग्र चुनावमा मत माग्ने परिपाटी हुनुपर्ने थियो। त्यो देखिएन। संगठन सुदृढ बनाउनुपर्छ अब। निर्वाचन हुदाँ नै ३३ वडाका वडा सभापतिसँगको छलफलमै अन्तरघात भएको खबर आइरहेको थियो। तर त्यतिबेला नै सचेत हुँदै कदम चाल्न सकिएन। यसले पनि समस्या सृजना गर्यो। पार्टीलाई आघात पुग्ने काम गरे पनि नेतृत्व तहले गम्भीरतापूर्वक लिएन। कुनै लेखाजोखा नै छैन। अब पार्टीलाई गोडमेलको जरुरी छ।

हारको कारण तपाईंको हो या केन्द्रको ?

चुनाव जित्नकै लागि लडिन्छ। हार हुन्छ भनेर कहिल्यै पनि लडिँदैन। तर यहाँ जितेर पनि हारिएको अवस्था छ। भन्नाको मतलब वडाध्यक्षले जिते पनि मेयरमा भोट कम खसेको छ। तपाईंले देख्नुभएकै छ। कांग्रेसको पकेट क्षेत्र मानिएका वडाहरूको मत विगतको भन्दा विपरीत आइरहेको छ। चार वर्षअघि पनि हामीले चुनाव भोगेर आएका हौं। त्यतिबेला र अहिलेको स्थिति ठ्याक्कै फरक छ। हिजो जितेका वडाहरूमा अहिले एमालेले जितेको छ। कतै मिश्रित परिणाम आएको छ। कतै प्यानलनै आएको छ। प्यानल आएका वडाहरूमा मेयरका लागि भोट कम खसेको छ। वडाध्यक्षको भन्दा पनि कम मत मेयरलाई परेको छ। तर एमालेका मेयरलाई बढी मत खसेको परिणामले नै देखाएको छ।

चुनावी समयमा पार्टीभित्र अन्तरघात भएकै हो। हराउनेतर्फ केही नेताहरू नै देखिए। संगठनभन्दा पनि व्यक्ति विशेषको चाहना बढी देखियो। त्यसले पार्टीलाई आघात भयो। त्यसको प्रतिफल भविष्यले पक्कै देखाउनेछ। तर अहिले नगर सभापतिकोहैंसियतबाट नैतिक जिम्मेवारी मैले पनि लिनुपर्छ। संगठन राम्रो बनाउनुपर्छ, त्यसो हुन सकेन।

पार्टीप्रति इमानदार कार्यकर्तालाई सम्मान गर्नुपर्छ। यहाँ आफैंले सम्मान खोज्ने प्रवृत्ति बढेको छ। आफूले सम्मान पाए सबै राम्रो नत्र नराम्रो भन्ने पारिपाटी बस्यो। जुन अत्यन्तै घातक रह्यो। त्यो अन्त्य हुनुपर्छ। पार्टी बलियो त सबै बलियो। पार्टी नै छैन् भने व्यक्ति विशेषको अर्थ पनि रहँदैन। हिजोको चुनाव नतिजामा हाम्रो मत घटेको छैन। तर अन्तरघातले पार्टीलाई डुबाएको छ।

प्रतिपक्षलाई सहयोग गर्ने काम भयो। हाम्रो पक्षमा जनमत थियो। तर त्यसलाई तेजोवध गर्ने काम भयो। टिकट नपाएकाहरूले अन्तरघात गरे। अन्तरघातकै कारण नतिजा विपरीत आएको छ। नैतिक रूपमा मेरो मात्रै होइन त्यसको जवाफ पार्टी केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारी, केन्द्रीय पदाधिकारी, महाधिवेशन प्रतिनिधि सबैले दिनुपर्छ र जिम्मेवारी लिनुपर्छ। उनीहरूको जुन भूमिका हुनुपर्नेथियो त्यो नै देखिएन।

नेपाली कांग्रेसले पोखराको वडा नं १० मा वडाध्यक्षसहित प्यानल जिते पनि मेयरका उम्मेदवार रामजी कुँवरलाई भने मत आएको छैन। दुवै वडा नेपाली कांग्रेसको पकड क्षेत्र मानिए पनि कँुवरलाई एमालेका मेयर उम्मेदवार मानबहादुर जिसीको भन्दा कम मत आएको छ। तर कांग्रेसकै उपमेयरको पोल्टामा भने बढी मत परेको छ। वडाध्यक्ष राजकुमार गुरुङले १ हजार ४ सय ४६ मत ल्याउँदै विजयी हुदाँ ४ सय २६ मत बढी छ।

तर मेयरमा भने रामजी कुँवर २१ मतले मानबहादुर जिसीभन्दा पछि परे। उपमेयरमा कांग्रेस उम्मेदवार सरस्वती गुरुङ अगाडि छिन्। उनले १ हजार ३ सय ६८ मत पाउँदा एमाले उम्मेदवार मञ्जु गुरुङको १ हजार १ सय ५५ मत छ। वडा नं ११ मा पनि उस्तै अवस्था दोहोरिएको छ। वडाध्यक्षमा जित्दा मेयर भने कांग्रेसलाई ९ मत कम परेको छ। अन्य वडामा पनि परिस्थिति उस्तै दोहोरिएको छ।

तपाईं मेयरको आकांक्षी तर वडाध्यक्षमा चुनाव लड्नुभयो, त्यो पनि पदलोलुपता होइन र ?

म नगरसभापति भइसकेको व्यक्ति मेयरको आकांक्षी स्वभाविकै हो। तर वडामा चुनाव लड्ने मेरो मनस्थिति थिएन। मनस्थिति नहुदाँ पनि पार्टीले मलाई बाध्य बनायो। चाहना पनि थिएन। पार्टीले लड्न आग्रह गर्यो। स्थानीयबासिन्दाको चाहना पनि रह्यो। अन्यलाई दिदाँ विवाद निस्किएपछि मलाई सर्बसम्मत वडाध्यक्षका लागि उम्मेदवार बनाइयो।

कांग्रेसको म इमानदार सिपाही हुँ। युद्धको मैदानमा कमान्डरले नेतृत्व लिनुपर्छ। सार्थीभाइले भनेपछि मैले पनि हुन्छ भन्ने मनसाय व्यक्त गरेँ। चुनाव लड्दा यस्तो नतिजा आयो। यति साह्रै अन्तरघात हुन्छ भन्ने लागेको थिएन। एउटा वडामा भए पनि अरूमा हुनुहुन्थेन। तर अधिकांश वडाको नतिजाले प्रष्टइइदिएको छ।

माओवादी केन्द्रसँगको तालमेलको प्रतिफल पोखरा लेखनाथ महानगरपालिकामा देखिएन। उनीहरू इमानदार भएको देखिँदैन। सम्झौताअनुसार गरिएको छैन। मेयर उनीहरूले छाडे। संयुक्त पत्रकार सम्मेलनसमेत गरियो। तर सम्झौताअनुसारको भोट आएको छैन। यो सम्झौताको विषयमा विश्लेषण भोलि पार्टीले गर्नेछ।

चुनाव सर्वस्वीकार्य हो। इमानदार, निष्ठावान र क्रियाशील कार्यकर्ताप्रति सलाम गर्न चाहन्छु। नेपाली कांग्रेसप्रति सधैं बफादार रहनेछु। जसले पार्टीलाई अन्तरघात गर्ने काम भयो त्यसको लेखाजोखा गरी कारवाही गर्नुपर्छ।
टिकट नपाएकाहरूले अन्तरघात गरे। अन्र्तघातकै कारण नतिजा विपरीत आएको छ। नैतिक रूपमा मेरो मात्रै होइन त्यसको जवाफ पार्टी केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारी, केन्द्रीय पदाधिकारी, महाधिवेशन प्रतिनिधि सबैले दिनुपर्छ र जिम्मेवारी लिनुपर्छ। उनीहरूको जुन भूमिका हुनुपर्ने थियो त्यो नै देखिएन।

प्रतिक्रिया दिनुहोस्