“सुनकोसी साहित्य प्रतिष्ठान” को योगदान र परिचय



मोहन दुवाल
साहित्यकार कृष्णप्रसाद पराजुलीद्वारा लिखित ‘पूर्व एक नम्बर’ (परिचयग्रन्थ) को दोस्रो संस्करण २०५० सालमा प्रकाशित भएको हो। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोडेर ‘पूर्व एक नम्बर’ बनेको सन्दर्भ र इतिहास बिर्सिन गार्हो छ।

नेपालको भौगोलिक संरचनामा ‘पूर्व एक नम्बर’ को आफ्नै पहिचान र गौरव लुकेको छ। यही पूर्व एक नम्बरको माटोबाट र पूर्व एक नम्बरका स्रष्टा÷द्रष्टाहरूबाट सिर्जित संस्थाको साहित्यिक अभियानको नाम हो– ‘सुनकोसी साहित्य प्रतिष्ठान’। यो संस्था गठन हुनुभन्दा अगाडि ‘पूर्व एक नम्बर’ ग्रन्थको दोस्रो संस्करण प्रकाशन गर्ने अभियानमा हामी लाग्यौं। करिब ८४ हजार रकम दुई जिल्लाका साहित्यकारहरू, साहित्य–अनुरागीहरूसँग सहयोग जुटायौं। काभ्रेली साहित्य संगमका अध्यक्षका नाताले उक्त पुस्तकको प्रकाशन गर्ने कार्यक्रमको म आफैंले संयोजन गर्यौं। पूर्व एक नम्बरको समग्र सिर्जनशील इतिहासका रूपमा सर्वप्रथम प्रकाशित उक्त ग्रन्थको विमोचन बनेपामा भव्य समारोहका बीच सुसम्पन्न हुँदाका विगत क्षणहरू बिर्सी पठाउन गार्हो छ। यसैलाई आधार मानेर इतिहास उत्खनन् गरेर ‘सुनकोसी साहित्य प्रतिष्ठान’ को परिचय लेख्ने प्रयास गरेको छु।

‘पूर्व एक नम्बर’ को प्रकाशन गर्ने उद्देश्यले स्थापित कार्यसमितिमा निम्न साहित्यकारहरू रहेको देखिन्छ– १) सल्लाहकार – कृष्णप्रसाद पराजुली, २) संयोजक – मोहन दुवाल र सदस्यहरूमा, ३) आशाकाजी श्रेष्ठ, ४) पंकज चित्रकार, ५) जनकप्रसाद हुमागाईं, ६) कृष्ण सुवेदी, ७) राजभक्त हिमालय, ८) नकुल सिलवाल, ९) बलराम बञ्जारा, १०) केदारनाथ प्रधान। पछि २०५० कार्तिक २१ गते शनिबार काठमाडौं कमलादीस्थित बलराम बञ्जाराको कोठामा बसेको बैठकले पूर्व एक नम्बरमा साहित्यिक जागरण, प्रकाशन, गतिविधि गर्ने उद्देश्यले गठन भएको थियो– सुनकोसी साहित्य प्रतिष्ठान।

उक्त बैठकले निर्णय गरेको माइन्युटमा उल्लेख छ – ‘पूर्व एक नम्बर’ नामक ग्रन्थ प्रकाशन गर्नका निम्ति पूर्व एक नम्बरका साहित्यसेवीहरू समावेश रहेको ‘प्रकाशन समिति’ लाई पूर्व नम्बरको साहित्यिक एवं प्राज्ञिक कृयाकलापलाई स्थायित्व एवं व्यवस्थित रूप दिनु वाञ्छनीय भएको र अझ यसलाई राष्ट्रिय वा व्यापक रूप दिनु पनि आवश्यक भएकाले एउटा प्राज्ञिक संस्था बनाई त्यसैभित्र अन्तर्भूत गराइ भाषा–साहित्यको अध्ययन–अनुसन्धान, संरक्षण एवं सम्वद्र्धन, वाङ्मयको प्रकाशन र विविध विषयहरूमा खास गरी पूर्व एक नम्बरका स्रष्टाबाट सोका लागि उल्लेखनीय योगदान गर्ने समाजसेवी व्यक्ति एवं संस्थाहरूको समेत मूल्याङ्कन र कदर गरी पुरस्कार दिने, सम्मान गर्ने, कदर–पत्र दिने कार्यसमेत गर्न ‘सुनकोसी साहित्यिक प्रतिष्ठान, पूर्व एक नम्बर’ नाम दिने र सोको कार्यालय काभ्रेपलाञ्चोकमा रहने गरी सञ्चालन गर्ने निर्णय गरियो।

त्यसपछि गठित समितिमा १) संयोजक – कृष्णप्रसाद पराजुली, २) सचिव – मोहन दुवाल, ३) कोषाध्यक्ष – कृष्ण सुवेदी र सदस्यहरूमा ४) आशाकाजी श्रेष्ठ, ५) पंकज चित्रकार, ६) जनकप्रसाद हुमागाईं, ७) केदारनाथ प्रधान, ८) नकुल सिलवाल, ९) राजभक्त हिमालय, १०) बलराम बञ्जारा, ११) मधु आचार्य, १२) बलराम बञ्जारा र २०५० साल मङ्सिर १९ गते बसेको बैठकले सिन्धुपाल्चोकका १३) गगन विरही सदस्यका रूपमा रहेका छन्। यिनै व्यक्तिहरू यस प्रतिष्ठानका संस्थापकहरू हुन्। कवि केदारमान व्यथित र साहित्यकार धुस्वां साय्मिलाई सम्मानित संरक्षकमा यस प्रतिष्ठानमा सम्मान गरेर राखेको देखिन्छ।

सर्वप्रथम यस प्रतिष्ठानका तर्फबाट नेपाली साहित्य जगत्मा भानुभक्तभन्दा पूर्व नेपाली मौलिकतामा काव्य सिर्जना गरेका काभ्रेपलाञ्चोकको ब≈मायणी देउपुर (मण्डन) का कवि वसन्त शर्माको स्मृतिमा २०५१ साल वैशाख १ गते ‘वसन्त काव्य गोष्ठी’ सिन्धुपाल्चोक जिल्लाको बाँसबारीका उपयुक्त स्थानमा आयोजना गर्ने र सोही दिन सिन्धुपाल्चोकको बाँसबारीका वयोवृद्ध राष्ट्रिय स्रष्टा कवि केदारमान व्यथितको अभिनन्दन गर्ने निर्णय गरेर ऐतिहासिक साहित्यिक कार्यक्रमको थालनी गर्यो।

उक्त कार्यक्रमको संयोजक भई कृष्ण सुवेदीले जिम्मेवारी निभाएको देखिन्छ। यसै गरी प्रतिष्ठानको नाउँमा प्रतिष्ठानका सदस्य बलराम बञ्जाराले मल्पी, काभ्रेको जग्गा प्रदान गरेर सहयोग गरेको देखिन्छ। २०५१ सालदेखि प्रत्येक वर्ष निम्न प्रकारका सृजना तथा साधना पुरस्कार प्रदान गर्ने २०५१ साउन २२ गने बसेको बैठकले निर्णय गर्यो ः १) सृजना पुरस्कार ः साहित्य क्षेत्रमा सिर्जनशील रही मौलिक कृतिहरू दिएर महत्वपूर्ण योगदान गर्ने स्रष्टा प्रतिभालाई, २) साधना पुरस्कार ः भाषा, संस्कृति, कला, पत्रकारिता, सङ्गीत आदि वाङ्मयका क्षेत्रमा विशेष योगदान दिने साधकलाई। यी दुबै पुरस्कार राष्ट्रिय स्तरका हुनेछन्। र विशेषतः पूर्व एक नम्बरका राष्ट्रियस्तरका लेखकहरूलाई प्राथमिकता दिई प्रदान गरिनेछ।

यस ैगरी ‘देवकोटा विद्वत्वृत्ति’ को स्थापना भएको र त्यसको कार्यान्वयन गर्ने पनि यसै बैठकमा निर्णय भएको देखिन्छ। नेपालका जनप्रिय महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा आर्थिक चपेटामा जेलिएका प्रतिभालाई मासिक १५००।– प्रदान गर्ने गरी २०५१ साउनदेखि प्रत्येक दुई वर्षका निम्ति लक्ष्मी विद्वत्वृत्ति प्रदान गर्ने निर्णय गर्यो। पहिलोचोटी उक्त विद्वत्वृत्ति कवि रत्ननिधि रेग्मीलाई दुई वर्षका लागि प्रदान गर्ने निर्णय भएको थियो। उक्त वृत्तिका लागि सहयोग गर्ने साहित्यकारहरूमा कमल दीक्षित, रमेश खकुरेल, दीप्ति शर्मा, तलेजु धनकुमारी कोष, पूर्णप्रकाश नेपाल ‘यात्री’, आशाकाजी सेवक, बलराम बञ्जारा, डा. अरूणा उप्रेती र डा. ओमवीरसिंह बस्न्यात रहेका छन्। पछि विनयदेव शर्मा लुईंटेल, कृष्णप्रसाद पराजुली, अर्चना प्रधानले पनि सहयोग गरेको देखिन्छ। यस प्रतिष्ठानबाट नै सुनकोसी ग्रन्थको प्रकाशन गर्ने पनि निर्णय भयो।

यसैताका संस्थाको दर्ता पनि भयो। संस्थाले नवरत्न स्रष्टा र साधकका रूपमा कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाईं, कृष्णप्रसाद दुवाल, नरेन्द्रराज पौड्याल, आशाकाजी सेवक, हरिवंश आचार्य, प्रेमध्वज प्रधान, धुस्वां साय्मि र वंशी श्रेष्ठलाई सम्मान गरे। ‘दानमाया प्रतिभा पुरस्कार’ साहित्यकार धुस्वां साय्मिद्वारा ‘पूर्व एक नम्बर’ ग्रन्थको अर्पण समारोहमा उद्घोषण भए अनुसार स्थापित भई प्रदान हुँदै आएको पुरस्कार हो। यस पुरस्कारबाट कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाईं, मोहन दुवाल, ध्रुव सापकोटा, नकुल सिलवाल, पंकज चित्रकार, कृष्णप्रसाद दुवाल, आशाकाजी सेवक, हरि अधिकारी सम्मानित भएका छन्।

पछि २०५३ वैशाख १ गते निम्नलिखित साहित्यिक व्यक्तित्वहरू किरण खरेल, यादव खरेल, श्यामसुन्दर सय्जु, रमेश खकुरेल, मोहन दुवाल, गगन विरही, नकुल सिलवाल अभिनन्दन भएको देखिन्छ। यसैगरी सुनकोसी साहित्य प्रतिष्ठानबाट सृजना सम्मान पाएका व्यक्तित्वहरूमा गोपाल पराजुली, तेजप्रकाश श्रेष्ठ, नगेन्द्रराज शर्मा, पूर्णप्रकाश नेपाल, भरतराज पन्त, भरतराज मन्थलीय, रोचक घिमिरे, विजय चालिसे, हरि श्रेष्ठ, वैकुण्ठप्रसाद लाकौल, माथुरी भट्टराई, राममणि ढुङ्गेल छन्। प्रतिभा सम्मान, साधना सम्मान, आमा सम्मान, हरिप्रसाद खकुरेल छात्रवृत्ति, देवकोटा विद्वत्वृत्तिलगायतका महत्वपूर्ण साहित्यिक सम्मान र गतिविधि हुँदै आएको यस प्रतिष्ठानको समग्र गतिविधिलाई रोक्ने काम गर्यो ‘सम्झना फाइनान्स’ को विलयन अर्थात् भङ्गले।

प्रतिष्ठानको कोषलाई सहकारीले तुषारापात लगाइदियो≤ हाम्रो साहित्यिक मन र कर्मलाई अप्ठ्यारो तुल्याइदियो। कोष नै नभएपछि गर्नुपर्ने सम्मान, कार्यक्रम गर्नलाई जाँगर चलाउने मनहरू कमजोर भयो। यो स्थिति रहँदारहँदै हामीले प्रतिष्ठानलाई मसानघाटमा पुर्याउन चाहेनौं।

यसलाई पुनर्जीवन दिनुपर्छ भन्ने ठानेर केही न केही गर्ने विचारले यही २०७४ वैशाख २३ गते ‘वसन्त काव्य गोष्ठी’ काठमाडौंमा पुनः सञ्चालन गरियो। करिब ४० जना कविहरूले राष्ट्रिय नाचघरमा भएको कविगोष्ठीमा कविता वाचन गरे। अन्तर्राष्ट्रिय स्तरमा कविका रूपमा प्रख्यात रहेका कवि तुलसी दिवसको प्रमुख आथित्यमा शुरू भएको उक्त कवि गोष्ठीले संकेत गरेको छ – ‘सुनकोसी साहित्य प्रतिष्ठानको गौरवशाली साहित्यिक इतिहासलाई जोगाउन सबै जुट्नु आवश्यक छ।’

 

 

प्रतिक्रिया दिनुहोस्