बेतुकका शैली



निर्वाचन परिणाम पुरै नआइकन धारणा बनाउने र बुरुक बुरुक उफ्रने प्रबृत्तिलाई लिएर अहिले धरहरा वरपर चर्चा हुन थालेको पाइएको छ । पहिला संविधान सभाको पहिलो निर्वाचनको नतिजापछि माओवादीका नेताहरुको भाषण शैली अहिले धरहरालाई पनि याद भइरहेको छ ।
|
कमरेड पुकदा र बाराभको भाषण यति चर्का र अपमानजनक हुन्थे कि भोट हाल्ने मान्छेले पनि कस्तालाई भोट हालिएछ भनेर केही दिनमै आलोचना गरेको सुनिन्थ्यो । उहाँहरुले अरु दलका नेताहरुलाई सार्वजनिक मञ्चबाट ‘हरुवा’को पगरी समेत गुथाइदिनुभयो । त्यसपछि दोस्रो संविधान सभाको निर्वाचनमा त के भयो यो सबैलाई थाहा छँदैछ ।

अहिलेपनि केही सिट तलमाथि हुँदैमा केही दलका नेता कार्यकर्ताको हुँकार त्यसैगरी बढ्न थालेको धरहराले देखेको छ । त्यस खालको प्रबृत्ति र गालीगलौज सभ्य समाजलाई पचाउन गाह्रो हुन्छ । त्यसको परिणाम आउँदो निर्वाचन वा त्यसपछिका निर्वाचनमा नआउला भन्न सकिदैन । अहिले त झन् दोस्रो चरणको निर्वाचन नजिकै आइसकेको छ ।

अबको नेपाली दुनियाँ घृणाको राजनीति होइन , समृद्धिको भिजन बोकेको सौम्य राजनीतिको पक्षमा रहेको छ । त्यसैले थोरै तलमाथि पर्दैमा कोही क्वाँक्वाँ रुने र कोही बुरुकबुरुक उफ्रने काम नगर्ने हो कि ? कमजोरी महसुस गर्नेले बरु राम्रा काम गर्न थालिहालेर जनताको मन पो जित्ने हो कि ? बेतुकका शैली किन अपनाउनुपर्यो ?कि कसो पाठकबृन्द ??

प्रतिक्रिया दिनुहोस्