निर्वाचन सार्ने कुरा नसोच



पहिलो चरणको स्थानीय निर्वाचनको मतगणना चलिरहेको बेलामा अहिले दोस्रो चरणका लागि यही जेठ ३१ गतेका लागि तय भएको निर्वाचन सार्न चलखेल हुन थालेको समाचार सार्वजनिक भएको छ । पहिलो चरणको निर्वाचनमा देखिएको जनउत्साहले के देखाउँछ भने जनता निर्वाचनमा जान लालायित रहेका छन् । निर्वाचन सार्ने चलखेलमा लाग्नु भनेको सिधै जनभावना विपरीत जानु हो भन्ने कुरा प्रष्टै छ। त्यसैले कुनै पनि पक्षले जनविरोधी कार्यतर्फ कदम नचाल्नु नै श्रेयस्कर हुन्छ ।

अहिले ३४ जिल्लामा निर्वाचन भइसकेकाले बाँकी जिल्लाहरुको पनि सकेसम्म चाँडो निर्वाचन गरेर जनप्रतिनिधिहरुलाई स्थानीय निकायको साँचो हस्तान्तरण गर्नु जरुरी रहेको छ । सत्तारुढ घटक र निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन तोकिएकै समयमा सफलतापूर्वक सम्पन्न गरेर राम्रो काम गरेका छन् । अब दोस्रो चरणको निर्वाचन पनि त्यसै गरी सम्पन्न गरेर मुलुकलाई एउटा ट्रयाकमा ल्याउने काम गर्नु जरुरी रहेको छ । मुलुकमा परिवर्तनको जरोलाई गाड्नका लागि पनि स्थानीय चुनाव हुनैपर्ने जरुरी थियो र छ । यसले स्थानीय जनताको दैनन्दिन समस्या समाधानका लागि मद्दत गर्नुका साथै मुलुकको भावी नेतृत्व चयन प्रक्रियालाई अघि बढाउन पनि मद्दत गर्नेछ । किनकि, स्थानीय निर्वाचन गएको २० वर्षदेखि हुन नसक्दा स्थानीय स्तरमा नेतृत्व विकासको चरण पनि अवरुद्ध हुँदै आएको थियो। अब त्यो अबरुद्ध बाटो खुल्ने अपेक्षा गरिएको छ ।

तर, पहिलो चरणको मतगणना भइरहेका बेलामा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले सत्तारुढ घटकका नेताहरुलाई भेटेर दोस्रो चरणको निर्वाचन सार्नका लागि आग्रह गरेको कुराले जनस्तरमा आक्रोश उत्पन्न गराएको छ । कुनै पनि राजनीतिक पार्टी निर्वाचनबाट भाग्न मिल्दैन। निर्वाचनबाट भाग्ने हो भने राजनीतिक दल नखोली अरु नै ठेक्कापट्टाका कम्पनी खोलेर त्यसतर्फ लाग्नु उपयुक्त हुन्छ । राजनीतिक दलकै रूपमा आफूलाई अगाडि सार्ने हो भने ती दलहरुले निर्वाचनमा भाग लिएर जनताको अभिमत प्रकट गर्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको छ । स्थानीय निर्वाचन भनेको स्थानीय स्तरबाट नै मुलुकको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने निकायको छनोट प्रक्रिया हो ।

यसलाई सार्न खोज्नु भनेको विकास नचाहनु पनि हो । मधेसबाटै प्रतिनिधित्व गर्ने उपेन्द्र यादवको दलले पहिलो चरणको निर्वाचनमा नै भाग लिएर सह्राहनीय काम गरेको छ । उहाँले आफ्नो दललाई क्षेत्रीयतावादीबाट माथि उठाएर राष्ट्रिय नेताको पंत्तिमा आफूलाई उभ्याइसक्नुभएको छ । त्यसैले अन्य नेताले पनि उहाँको कदमको अनुसरण गर्नु उपयुक्त हुन्छ । पहिलो चरणको निर्वाचनको प्रारम्भिक परिणाम हेर्दा पनि क्षेत्र, जातजाति वा धर्मको नाममा राजनीति गर्न खोज्नेहरु जनताबाट अस्वीकृत हुने अवस्थामा देखिएका छन् । त्यसैले गर्दा पनि राष्ट्रिय सोच राखेर दलहरु अगाडि बढ्नु उपयुक्त हुन्छ । राजपाले पनि दोस्रो चरणको निर्वाचनमा सबैतिर विजय हासिल गर्ने गरी उपस्थिति जनाएमा त्यसपछि उसलाई पनि राष्ट्रिय राजनीतिक दलका रूपमा अगाडि बढ्ने मार्ग प्रशस्त हुन सक्छ । त्यसैले कसैले पनि अहिलेको अवस्थामा निर्वाचन सार्ने कुरा गर्नु उपयुक्त हुँदैन । किनकि जेठ ३१ बाट सारिएको निर्वाचन कात्तिक मंसिरभन्दा अगाडि हुने सम्भावना कम हुन्छ । त्यसो भयो भने निर्वाचनका लागि उत्साहित भइसकेका जनतामाथि ठूलो घात हुनेछ ।त्यसैले समयमा दोस्रो चरणको निर्वाचन गराएर जनतालाई आफ्नो अभिमत प्रकट गर्न दिने कुरामा कसैले पनि कन्जुस्याइँ गर्न मिल्दैन । कुनै पनि बहानाबाजी गरेर दोस्रो चरणको निर्वाचन सार्ने दुस्कर्म नगरौं ।

प्रतिक्रिया दिनुहोस्