देश जितेको यो अवस्था



कृष्ण प्रजापति

देशमा नयाँ संविधान जारी भएसँगै तीन थरी चुनाव गर्नुपर्ने बाध्यता सरकारसामू थियो। त्यसबीच भारतीय पक्षको दबाबमा देशमा जारी नयाँ संविधान संशोधन गर्नुपर्ने माग अगाडि सारी चुनाव बिथोल्नेसम्मको ठूलो कसरत पनि भयो। तर ती सम्पूर्ण बाधाअडचनहरुका बाबजुद पनि पहिलो चरणमा ३४ वटा जिल्लाहरुको निर्वाचन अगाडि बढ्यो। मतदान प्रक्रिया सम्पन्न भई मतगणना जारी समय हो यो। कतैकतै मात्रै विभिन्न कारणले गर्दा पुनः मतदान प्रक्रिया नै अगाडि बढाउनुपर्ने स्थिति रह्यो। भक्तपुरको चाँगुनारायण नगरपालिकाअन्तर्गत साविक नगरकोट गाविसको मतदान केन्द्रमा मादल नै नभएको र नवलपरासीमा पु¥याउनुपर्ने मतपत्र गल्तीबस यता पुगेपछि जेठ ३ गते मतदान भइसकेको छ।

मतदान सकिएका कतिपय गाउँपालिका र नगरपालिकामा मतदान पश्चात नै मतगणना शुरु हुन नसके पनि सबै स्थानमा अहिलेसम्म मतगणना अगाडि बढाइसकेको र कुनैकुनै स्थानमा भने परिणामसमेत घोषणा भइसकेको अवस्था छ।

यो स्थितिमा सरकारले बाध्यताबस गरिएको निर्वाचनमा पनि आम नागरिक उत्साहका साथ सहभागी आएको देखिन्छ। ७३ प्रतिशतसम्म मतदान हुनु भनेको साह्रै उत्साहजनक उपस्थिति हो। अझ भक्तपुरको सन्दर्भमा विचार गर्ने हो भने ८६ प्रतिशतसम्म पनि मतदान भएको छ। भक्तपुर सबैभन्दा राम्ररी मतदानमा भाग लिएको जिल्ला हुन पुगेको छ। यसरी योपटक भक्तपुरमा नेमकिपाले शुरुदेखि स्थानीय निकायको निर्वाचन हुनुपर्दछ, त्यसो हुने हो भने संघीयता र मधेसी अधिकारको कुरा नै उठ्ने थिएन भन्ने जुन तर्क गर्दै आएको थियो। त्यसले पनि स्थानीय चुनावमा यो उपस्थिति देखा परेको देखिन्छ। आवश्यक पर्दा सही विचार दिन सक्ने नेताका रूपमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँलाई लिइन्छ। पहिलोपटक संसद् पुनःस्थापनाको माग नेमकिपाले नै उठायो। पछि फेरि स्थानीय निकाय कर्मचारीको हातमा सुम्पिनु हुन्न र त्यसको चुनाव गराउनुपर्छ भनी माग अगाडि सा¥यो। तर विभिन्न राजनीतिक पार्टीहरुले स्थानीय चुनाव गर्ने भनी बारम्बार निर्णय भइसकेर पनि अहिले आएर मात्रै निर्वाचन प्रक्रिया अगाडि बढ्न सक्यो। यसले पनि बीस वर्ष पछि हुन गइरहेको भनी यसमा सम्पूर्ण मतदाताहरुले आ—आफ्नो उम्मेदवारहरुलाई उत्साहित भएर मतदान गरे। यो जनता जितको अवसर हो भनेर यसकारण पनि भन्न मिल्ने भएको छ।

देशका ठूला पार्टीहरु नेपाली कांग्रेस र एमालेले नै वर्तमान अवस्थामा स्थानीय निकायको निर्वाचनमा अग्रस्थान हासिल गरिरहेका छन्। सक्दो सरकारमा रहेका दलहरु चुनाव हुन नदिने शक्तिसंग साठगाँठ गरी अगाडि आउन खोजिरहेका थिए। त्यसले गर्दा पनि चुनावको अगाडिसम्म पनि कुनै बखत सर्वोच्च अदालतका प्रधानन्यायाधीश विरुद्ध महाभियोग लगाएर र कुनै बखत आफ्नै सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई राजीनामा दिन लगाएर चुनाव गर्न र गराउनबाट भाग्न खोजेको अवस्था थियो। तर नेपाली जनताले कठालो समाएर ल्याइकन भए पनि न प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावलाई सदनमा अगाडि बढ्न दिए, न त राजीनामा दिइसकेका विमलेन्द्र निधिकै राजीनामा स्वीकृति हुन दिए। यदि प्रचण्ड नैतिकवान भए आफ्नो सरकारले गरेका ती दुईवटा कदमको असफलतासंगै सरकारबाट बिदा हुनुपर्ने थियो। तर त्यसो गरिएन।

हाल आएर स्थानीय निकायको निर्वाचनमा धमाधम आफ्नो पक्षमा परिणाम ननिस्केपछि भने प्रचण्ड आफैं सत्ता त्याग्ने मनसायमा हुनुहुन्छ। पहिला पनि प्रधानमन्त्री हुँदा सेना प्रमुख रुक्मांगत कटुवाललाई छुन पुगेको र पशुपतिका पूजारी नेपाली नै रहनुपर्ने माग अगाडि सारेर भारतीय पूजारी हटाउने प्रयाससंगै राजीनामा दिनुपर्ने बाध्यतामा पुग्नुभएको थियो। योभन्दा अगाडि खड्गप्रसाद शर्मा ओलीले पार्टीलाई अग्रस्थानमा पु¥याएर प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो भने प्रचण्ड भने अब पार्टीलाई अत्यन्तै रसातलमा पु¥याएर मात्रै राजीनामा दिन गइरहेको देखिन्छ।

समयले देशमा चुनाव अपरिहार्य गरिदियो। आम निर्वाचन, प्रदेशको चुनाव र स्थानीय तहको निर्वाचनमध्ये स्थानीय तहलाई नै पहिलो प्राथमिकता दिएर यो चुनाव हुन गइरहेकाले पहिलो चरणको निर्वाचनमा जस्तै यही जेठ ३१ गते हुने भनिएको दोस्रो चरणको निर्वाचनमा पनि यसरी नै आमनेपालीको सहभागिता जनाएमा देश र जनताले जित्ने अवसर पाउनेछन्।

आम नागरिकको चाहना खाली रहेको स्थानीय निकाय परिपूर्ति होस् भन्ने मात्रै हो। एमाले, कांग्रेस वा अन्य कुनै पनि पार्टीको उम्मेदवार विजय हुनुसँग भन्दा पनि सर्वसाधारणलाई भने चुनाव भएर खालि रहेको ठाउँमा जनप्रतिनिधि पूर्ति गर्ने मात्रै हो। अनि जनताको प्रत्यक्ष सेवा गर्ने गराउने कार्य सहज रूपमा अगाडि बढोस् भन्ने हो। यसले पनि आम नेपालीको चाहनाअनुरुप नै यो वर्ष स्थानीय तह गठन गरी स्थानीय तहको मतदानसम्म हुनुलाई जनताले आफ्नो विजय ठानिसकेका छन्। अनुगमनकारी र पर्यवेक्षकहरुले यो समयमा निष्पक्ष र शान्तिपूर्ण मतदान सम्पन्न भएको महशुस गर्नुमा पनि कयौं वर्ष कुरेपछि बल्ल निर्वाचन हुन गइरहेकाले हो भन्ने महशुस गर्न सकिन्छ। जनता मात्रै चुनाव चाहन्छन् हार र जित होइन भन्ने पनि यसले स्पष्टै देखाएको छ। अरुलाई गिज्याएर, हेला गरेर वा होच्याएर आफू मात्रै अगाडि बढ्न खोज्दा सफल होइन्न भन्ने कुरा पनि यो समयमा स्पष्ट देखिएको छ। यो एक हिसाबले गौरवको कुरो हो।

मतदानमा भाग मात्रै लिन पाएपछि पनि मतदातामा अत्यन्तै उत्साह बढेको देखिन्छ। आफ्नो प्रतिनिधि हार्दा पनि जित भएको महशुस गर्न सक्ने उदार भावना भएका व्यक्तिहरुले कुनै प्रतिक्रिया नजनाउने, हार स्वीकार गर्ने र धाँदलीपूर्ण चुनाव भयो भन्न नपर्ने भएका कारण पनि यो चुनाव सफल भएको छ। र नेपाली जनताले जितेको महशुस गर्न सकिने स्थिति देखा परेको छ। यदि जनता हारे भने देश हार्छ। बलजफ्ती कुनै पार्टी जित्दैमा पनि यो समयमा जनता जितेको महशुस नहुन सक्दछ। त्यसैले पनि हामी नेपाली जनताको सोच, विचार र सिद्धान्तलाई अंगालेर अगाडि बढ्ने क्रममा पनि राजनीतिक दलहरुले जनताको यो भावनालाई मान्यता दिनु आवश्यक छ। समयले देशमा चुनाव अपरिहार्य गरिदियो। आम निर्वाचन, प्रदेशको चुनाव र स्थानीय तहको निर्वाचन मध्ये स्थानीय तहलाई नै पहिलो प्राथमिकता दिएर यो चुनाव हुन गइरहेकाले पहिलो चरणको निर्वाचनमा जस्तै यही जेठ ३१ गते हुने भनिएको दोस्रो चरणको निर्वाचनमा पनि यसरी नै आम नेपालीको सहभागीता जनाएमा देश र जनताले जित्ने अवसर पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्