“छिटो गर्न निर्देशन दिइसकेका छौं”



गोपीनाथ मैनाली
सचिव, निर्वाचन आयोग

मतगणना कार्य ज्यादै सुस्त भइरहेको गुनासो जताततैबाट आइरहेको छ। मतगणना कार्यमा खटिएका कर्मचारी, उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरूले मतगणना कार्य सुस्त भएको आवाज उठाइरहेको बेलामा आयोग के भन्छ त ? काठमाडौं महानगरपालिकाको मतगणनास्थल अवलोकन गर्न मंगलबार राष्ट्रिय सभागृहसमेत पुग्नुभएका निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले नेपाल समाचारपत्रका लागि सुनील महर्जनसँगको कुराकानीः

मतगणना निकै सुस्त भएको उम्मेदवार, राजनीतिक दलका कार्यकताबाट गुनासो आइरहेको छ। मतगणनाको गति यस्तै रहने हो भने एउटा नगरपालिका वा गाउँपालिकाको नतिजा आउन महिना दिन लाग्ने देखिन्छ। यसलाई निर्वाचन आयोगले कसरी लिइरहेको छ ?

एउटा मतपत्रमा ७ वटा ठाउँमा स्वस्तिक चिह्न लगाएको हेर्नुपर्ने अवस्था छ। एउटा मतपत्र भए पनि सात ठाउँमा हेर्नुपर्ने भएकाले त्यो ७ वटा मतपत्र हेरेको जत्तिकै हुन्छ। त्यसमाथि सदर मत र बदर मत हेर्नुपर्ने भएकाले मतगणना अलि सुस्त हुनु स्वभाविक हो। यसमाथि राजनीतिक दलका कार्यकताहरुले सानोतिनो कुरामा विवाद झिक्ने गरेकाले मतगणना अझै ढिलाई हुने गरेको हो।

मतगणना कार्यलाई तीव्रता दिन केही उपाय अपनाउँदै हुनुहुन्छ त ?

मतगणनाको अवस्था हेर्न मंगलबार म आफैं राष्ट्रिय सभागृह पुगें। मतगणना छिटो गर्नका लागि आवश्यक जनशक्ति र स्रोत व्यस्थापन गर्न जिल्लाका निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ। निर्देशन दिएलगत्तै काठमाडौंमा थप दुई वटा ठाउँबाट मतगणना कार्य शुरु पनि भयो। त्यसै गरी मतगणना कार्यमा सानोतिनो विवाद नझिक्न सहजीकरण गरीदिन राजनीतिक दलका कार्यकतालाई पनि आयोगले अपिल गरिसकेको छ।

निर्देशन त दिनुभयो, तर जिल्लाका निर्वाचन अधिकृतको कार्यालयबाट जनशक्ति नभएको सूचनाहरू प्राप्त भइरहेको छ नि ?

प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी सम्मिलित समितिले नेपाल सरकारका वा संस्थानबाट काज वा जुनसुकै माध्यमबाट जनशक्ति व्यवस्थापन गर्न सक्छ। जनशक्ति व्यवस्थापन गर्न आवश्यक रकम आयोगले दिने भनेको छु।

प्रतिक्रिया दिनुहोस्