मतगणना चाँडो गर



झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनले जनतामा नयाँ आशा र उत्साह थपेको छ । लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा स्थानीय तहमा बढ्दै गएको विकृति र विसंगति नियन्त्रण हुने अपेक्षा जनताले गरेका छन् ।

वैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा रहेका २८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । मतदान भएको तीन दिन बितिसक्दासमेत मतपरिणाम भने निकै ढिलाइ भएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाको मतगणनामा निकै ढिलासुस्ती देखिएको छ ।

निर्वाचन सम्पन्न भएलगत्तै मतगणना कार्य शुरु भए पनि एक दिनमा मुस्किलले १ हजार मात्र मतगणना भएको छ । यसरी मतगणना गर्दा निकै लामो समय लाग्ने देखिन्छ । निर्वाचन आयोगले मतगणना जारी प्रक्रिया परिवर्तन गरी छिटोभन्दा छिटो मतगणना गर्ने कामलाई प्राथमिकता दिनुपर्छ ।

निर्वाचनको मत परिणाममा ढिलाइ हुनुको कारण एकै ठाउँमा मात्र गणना गर्नु हो । स्थानीय तहमा रहेका सबै वडाहरुमा एकैपटक मतगणना गर्दा परिणाम छिटो आउन सक्छ ।
सरकारले जेठ ३१ गते सरकारले दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरेको छ । अहिलेकै गतिमा मतगणना गरे हप्तौ पहिलो चरणको निर्वाचनको मतगणना गर्न नै लाग्न सक्छ । निर्वाचन आयोगले कर्मचारी थप गरेर मतगणना कार्यलाई गति दिनुपर्छ । मतगणना गर्न ढिलाइ हुँदा राज्यलाई आर्थिक व्ययभार पनि पर्ने निश्चित रहेको छ ।

मतगणना प्रक्रियामा नयाँ प्रविधि अपनाएर निर्वाचन आयोगले मतगणना गर्नुपर्छ । हुन त आयोगले चाँडो मतगणना गर्न निर्देशन दिइसकेको छ । निर्वाचनपछि एक⁄दुई दिनमा नै मतपरिणाम सार्वजनिक हुनुपर्ने भए पनि हप्तौ कुर्नुपर्ने अवस्थाले निर्वाचन बारेको जनउत्साह नै गुम्ने खतरा रहेको छ ।

मतगणना कार्यप्रति जनतामा चर्को असन्तुष्टि देखिएको छ । मतपत्र ठूलो भएको र हरेक मतपत्रबाट ७ जना प्रतिनिधिको मत गन्नुपर्ने भएकाले पनि मतगणना कार्यमा ढिलाइ भएको छ । तर, धेरै दल निर्वाचनमा सहभागी भएकाले मतपत्र ठूलो हुनु अस्वभाविक होइन । तर, भइसकेको अवस्थामा कसरी यसको गणना चुस्त बनाउने भन्ने महत्त्वपूर्ण विषय हो ।

समस्याको पहिचान गरी मतगणना कार्यमा देखिएको समस्या समाधान गर्ने काम निर्वाचन आयोगको हो । आयोगले आवश्यकताअनुसार मतगणना स्थलमा मतगणना गर्ने टोली थप्ने र कर्मचारी अभाव भएको स्थानमा कर्मचारी थप्ने कामलाई प्राथमिकता दिनुपर्छ । जनताको मागलाई सम्बोधन गर्न निर्वाचन आयोगले छिटो र छरितो ढंगेले मतगणना गरेर समयमा नै मतपरिणाम घोषणा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्