गनगन



स्थानीय निकाय निर्वाचनको पहिलो चरणको मतदानको प्रारम्भिक परिणाम आएपछि धरहरा वरपर हिजो विभिन्न खाले टिप्पणी सुन्न पाइयो। एकथरी भन्दै थिए– ‘सत्तारुढ घटक माओवादीको त बिजोग नै भयो त।’ अर्काथरी भन्दै थिए– ‘केही बिजोग भएको छैन। चुनाव गराउन सक्नु नै प्रधानमन्त्रीको सफलता हो। उहाँको पार्टीले हारेर के फरक पर्छ र ? उहाँले देशलाई जिताउने काम गर्नुभएको छ।’

तेस्रोथरीको टिप्पणी थियो– ‘निर्वाचनमा सत्तापक्षको हार भनेको धाँधली भएको रहेनछ भन्ने प्रमाण पनि हो। जे होस् निर्वाचन निष्पक्ष नै भएको रहेछ।’
चौथोथरी भन्दै थिए– ‘अहिले केही मत आयो भन्दैमा कतिपयलाई चाहिँ किन जुरुक्क उफ्रनु परेको होला ? दुई तिहाइ भागमा त अझै निर्वाचन नै भएको छैन।’
पाँचौंथरीको टिप्पणी थियो– ‘विचरा प्रधानमन्त्री पुकदालाई यसपालि अप्ठेरो पर्ने भो। दोस्रो संविधानसभाको निर्वाचनमा जस्तो धाँधली भयो भन्न पनि मिलेन। आफैं सरकारमा भएपछि कसरी यसो भन्नु ?’

छैठौंथरीको टिप्पणी थियो– ‘चितवनमा चेलीलाई जस्तोसुकै परिणाम आए पनि प्रधानमन्त्रीले गनगन नगर भन्नुपर्ने। किन यसो गरेको होला ? चेलीको परिणाम जे–जस्तो भए पनि निर्वाचन गराएर पुकदाले त जिती नै सके नि।’
यी टिप्पणी सुनेर थाकेको धरहराले आफ्नो दूरबिन अन्यत्रै मोड्नु ठीक ठान्यो। कति गनगन सुन्नु होइन त पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्