के हालियो हालियो ?



स्थानीय चुनावअन्तर्गत पहिलो चरणको मतदान करिब २० वर्षपछि भएको छ। पहिलो चरणको चुनावमा सबैको उत्साह पनि रह्यो। मत खसाल्न गइसकेपछि चाहिँ त्यो उत्साहमा ब्रेक लागेको धरहराले देखेको छ। यसपालिको मतपत्र निकै लामो भएर मतदातालाई निकै अप्ठइरो परेछ। धेरै चुनाव चिह्नले मतदाताको आँखालाई नै तिरिमिरी बनाउने रहेछ।

मत खसालेर आएका एक मतदाताको कुरा यो धरहराले सुन्दा उनी भन्दै थिए– उफ् कस्तो न्युजपेपरभन्दा ठूलो रहेछ मतपत्र। मैले त आफ्नो मान्छेको चिह्न नै हेर्न सकिनँ। कस्तो गाह्रो भएको मत दिन पनि। अर्काले त्यसमा थपे– हो भन्या। माथि–माथि ठूला दलका चिह्न। उनीहरूले नै जित्ने गरी मतपत्र बनाएको होला नि। स्वतन्त्र या अन्य साना दलका लागि कठिनै हुने रहेछ।

यस्तै यो मतपत्रले वृद्धवृद्धालाई समस्या पारेको धरहराले देख्यो। केही निर्वाचन स्थलमा साथी लान दिएकामा उनीहरूलाई राहत भयो होला। तर जहाँ साथी पनि जान दिइएन त्यस स्थानमा सायदै मत सदर होला। किनभने मत चिह्न राख्दा त्यसको मसीले अर्को स्थानमा लाग्ने पनि पक्कै छ। त्यसैले मत त हालियो के हालियो हालियो भन्ने मतदाता पो धेरै देखिए है पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्