हाँस्ला है लोकतन्त्र



चुनावका बेलामा कसको कुरा पत्याउने कसको नपत्याउने भन्ने अन्योल हुने गरेको धरहराले चाल पाएको छ। विश्वास गर्न योग्य व्यक्तिले पनि चुनावको बेलामा भने आफ्नो चुनावी स्वार्थलाई ध्यान दिँदै गलत कुरा पनि गर्दो रहेछ भन्ने कतिपय घटनाक्रमले देखाउँदा रहेछन्। प्रसंग हिजो स्वास्थ्यमन्त्री गगन थापामाथि कपनमा भएको हर्कतको हो।

त्यहाँ कतिपयले उनले पैसा बाँड्दै हिँडेको भने त कतिपयले भोट माग्दै हिँडेको समेत बताए। तर, धरहराले आफ्नै हिसाबले दूरबिन त्यसतर्फ घुमाउँदा त्यो कुरा पुष्टि भएन। उनी निजी कामले त्यता गएको पुष्टि भयो। निजी कामले त्यता गएको व्यक्तिलाई अर्को कुनै पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्ने काम गरे र केही परसम्म लखेट्ने काम पनि गरेछन्। निजी काममा जाँदा पनि अर्को पार्टीको हेडक्वार्टरबाट उनले अनुमतिपत्र पाउनुपर्ने त पक्कै होइन होला?

कि त्यस्तो भइसकेको भए धरहरालाई दूरबीन घुमाउनुअघि पनि हाम्रो कार्यालयबाट अनुमति लेऊ नत्र भन्ने धम्की पो आउँछ कि? कुरा नबुझेर धरहरा हैरान भएको छ। अवस्था खल्बल्याउने कामभन्दा पनि जिम्मेवार पार्टी तथा व्यक्तिहरुले जिम्मेवार भूमिका निर्वाह गर्नु ठीक होला कि? आफैलाई हल्का फुल्का पार्ने काम नगरौं न होऊ प्लिज। निजी कामले त कहिलेकाहीँ आपद् विपद् पर्ला हिँड्न पाउनुपर्यो नि। मौन अवधि भन्दैमा हिँड्नै नहुने अवस्था सिर्जना गरियो भने त हाम्रो लोकतन्त्र हामीतिरै फर्केर हाँस्ला (गिज्याउला) नि फेरि।

प्रतिक्रिया दिनुहोस्