किन ताक्ने मौसम ?



यसपालि वैशाख ३१ गते हुन लागेको पहिलो चरणको चुनावमा वर्षाले धोका दिने हो कि भन्ने सर्वसाधारणलाई परिरहेको पाइएको छ। हुन पनि धरहराले हिजो मात्रै आफ्नो दूरबिन सोझ्याउँदा वर्षा चर्कै देखेर जनताले यस्तो सोच्नु पनि अन्यथा मानेको छैन। झन् जेठ ३१ मा त अप्ठेरै पो पर्ने हो कि भन्ने धेरैलाई लागेको हुनुपर्छ। तर, धरहराले सर्वसाधारणतिर दूरबिन घुमाउँदा भने अलग्गै उत्साह पनि देखेको छ। उनीहरू वर्षामा पनि भन्दै थिए– ‘छाता ओढेर वा वर्षादि ओढेर भए पनि आफ्नो प्रतिनिधि छान्ने हो।’ मौसम देखाएर चुनावबाट भाग्न खोज्ने प्रवृत्ति गलत रहेछ भन्ने जनताको अभिमत प्रस्टै देखिन थालेको छ। सरकार र निर्वाचन आयोगले असार, साउन वा भदौमै प्रदेश र संसदीय चुनाव गराए पनि सर्वसाधारण जाने मुडमा पो देखिए है।

असार र साउनमा बाली लगाउनुपर्ने भएकाले जनतादेखि सम्बद्ध निकायलाई पनि गाह्रो होला। तर, भदौमा बरु एकैपटक गरिदियो भने संविधानको भावना बेलैमा कदर हुने धरहरालाई लागेको छ। किन कात्तिक वा मंसिर पुर्याउनुपर्यो। जनउत्साह हेर्दा मौसम ताक्नुपर्ने अवस्था देखिएन। मौसम ताक्नु भनेको चुनाव गराउन नचाहनु हो भन्ने संकेत पो पाइयो।

प्रतिक्रिया दिनुहोस्