यथास्थिति र परिवर्तनको दोसाँध



डा. टीकाराम पोखरेल

नेपालमा स्थानीयतहको निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा भएको राष्ट्रपतीय निर्वाचनमा एक वर्षअगाडि मात्र नयाँ पार्टी खोलेका ३९ वर्षीय इमानुयल म्याक्रोन दुई तिहाइमतका साथ राष्ट्रपतिमा विजयी भए। उनी राष्ट्रपति मात्र भएनन् फ्रान्सको इतिहासमै सबैभन्दा कम उमेरका राष्ट्रपति बने। यसलाई केहीले असाधारण सफलताको कथाका रुपमा लिए पनि यो असाधारण सफलताको उदाहरण भने होइन। बरु फ्रान्सेली जनता परिवर्तन चाहन्छन् भन्ने गतिलो उदाहरण हो।

नयाँ व्यक्तिवा पार्टीले चुनाव किन जित्छन् ? यो गहिरो विश्लेषणको विषय हुन सक्ला। तर सतहमा कुरा गर्दा सामान्यतयाः जब पुराना शक्तिहरुप्रति जनताको विश्वास मर्छ र नयाँप्रति आशा पलाउँछ तब नयाँ उदय भएका पार्टी र व्यक्तिले चुनाव जित्छन्। फ्रान्सको अवस्था पनि यसभन्दा भिन्न छैन। म्याक्रोनले फ्रान्सको खस्कँँदो अर्थतन्त्र सुध्रने आशा र उनले विगतका राम्रा कामहरुलाई निरन्तरता दिने भनी प्रतिबद्धता जनाएका कारण पनि म्याक्रोनलाई भारी मतका साथ विजय मिल्यो। म्याक्रोनलाई विपक्षीहरुले अपरिपक्व, अनुभवहीन र गैरराजनीतिक व्यक्ति भन्ने आरोप लगाइरहँदा उनले भने पपुलर मत पाए।

विकसित मुलुकमा जनता सामान्यतयाः हरेक समय नयाँ विकल्प र परिवर्तनको खोजीमा हुन्छन्। भरपर्दो र आशालाग्दो वैकल्पिक शक्ति नभेटेसम्म जनताले पुरानालाई मत दिइरहन्छन्। तर हाम्रो जस्तो अल्पविकसित मुलुकमा भने जनता नयाँ विकल्पमा जाने आँट गर्दैनन्। जब नयाँ विकल्पमा जाने आँट गर्दैनन् तब यथास्थितिको चंगुलमा परिरहन्छन्। यो जनताले आफूले आफैंमाथि गरेको अन्याय हो। आफूमाथि मात्र होइन, अरुको स्वार्थमा आफू प्रयोग भएर देशप्रति नै गरेको अन्याय हो।

यथास्थितिवादी शक्तिले जनतालाई परम्परागत मानसिकताबाट बाहिर निस्कन नदिने कसरत सधैँ गरिरहन्छन्। पुख्र्यौलीसँग पार्टीको सम्बन्ध जोड्नेदेखि पार्टी संगठनमा आबद्ध भएको स्मरण र बाध्यता गराएर मत लिन्छन्। पार्टीबाट स्वार्थ लुट्न जानेका केही अगुवा भनाउँदाहरुले पनि जनतालाई भ्रमको जालोमा पारेर मत जम्मा गर्दछन् र पार्टीलाई बुझाएर स्वार्थ पूर्ति गर्छन्। जनतालाई मत बैंकको रूपमा प्रयोग गर्ने यस्ता क्रियाकलाप विकासोन्मुख मुलुकमा चलिरहन्छन्।

देशलाई समृद्धितर्फ लैजाने कामको अगुवाई गर्ने राजनीतिक नेतृत्वले नै हो। त्यसैले जनताले सही राजनीतिक विकल्प छान्न सक्नुपर्छ, जसले देशलाई समृद्धितर्फ लैजाओस्। जिम्मेवार नागरिक अन्धाधुन्ध कुनै पार्टीको पिछलग्गु बन्नुहुन्न। कुनै नेताको अन्धभक्त पनि बन्नुहुन्न। नागरिक नेताको होइन विकास र समृद्धिको पक्षधर हुनुपर्छ। यथास्थितिवादी नेता र पार्टीको अन्धभक्त भएर दूरदृष्टि भएका नेतागुमाउनु भनेको आफूले आफूलाई अन्याय गर्नु मात्र होइन देशप्रति पनि अन्याय गर्नु हो। देशलाई कुनै विकास र निकास दिन नसक्नेहरुलाई चुनावमा पराजित गर्नु जनताको कर्तव्य हो।

देशले परिवर्तन र समृद्धि खोजको हुन्छ। अबको एजेन्डा परिवर्तनको हो, यथास्थितिको होइन। अब हिजो के गर्यो भन्ने भन्दा पनि भोलि कसले के गर्न सक्छ भन्ने हो। भविष्यको जनप्रतिनिधि हिजोको जनप्रतिनिधिभन्दा बढी काम गर्न सक्ने हुनुपर्दछ। जो सम्भावना बोकेको उम्मेदवार छ, उसलाई मत दिनुपर्दछ।
आवधिक निर्वाचन भनेकै पार्टी र उम्मेदवारको विकल्प छनौट गर्नका लागि हो। सधैं एउटै पार्टीले मात्र शासन गरिरहने भए किन आवधिक निर्वाचन गरिरहनुपथ्र्यो ? त्यसैले लोकतन्त्रले दिएको छनौट गर्ने अवसरको जनताले सदुपयोग गर्नुपर्छ तर यो अवसरलाई यथास्थितिको मानसिकतामा रहेर पूरा गर्न सकिँदैन। अग्रगामी र परिवर्तनशील मानसिकता भए मात्र परिवर्तनलाई आत्मसात् गर्न सकिन्छ।

केही व्यक्तिको परम्परागत मानसिकता कस्तो पनि छ भने, चुनावमा मत दिँदा अनुभव नभएको व्यक्तिलाई दिनुपर्छ। कपाल फुलेका उम्मेदवारको अपेक्षा गरिन्छ। तर यो विल्कुल यथास्थितिवादी मानसिकता हो। अनुभवले मात्र काम हुँदैन, काम त क्षमताले हुन्छ, योग्यताले हुन्छ, दृष्टिकोणले हुन्छ, जोशले हुन्छ, जाँँगरले हुन्छ, मेहनतले हुन्छ, इमानदारिताले हुन्छ। अनुभव भन्ने कुरा काम पाएपछि मात्र प्राप्त हुने हो। अनुभवीलाई मात्र मत दिने हो भने सम्भावना बोकेकाहरुले कहिले मौका पाउने ? किनकि हरेक सम्भावना बोकेको क्षमतावान् मान्छे पहिलोपटक त अनुभवहीन नै हन्छ, जबसम्म उसले अनुभव बटुल्ने जिम्मेवारी पाउँदैन। योग्य व्यक्ति छनौट गर्ने हो भने चुनावमा यो परम्परागत मानसिकताबाट माथि उठ्नैपर्छ।

फ्रान्सजस्तो विकसित मुलुकमा जुझारु नयाँ व्यक्ति खोजिन्छ, जसरी अहिले राष्ट्रपतिमा नयाँ खोजियो। तर नेपालमा किन सधैं यथास्थितिमा रुमलिने ? नेपालमा किन सधैं पुरानै पार्टी र व्यक्ति? यसको अर्थ यो होइन कि पुरानालाई मत दिनुहुन्न। यसको अर्थ यो हो कि पुरानोको नाममा मात्रै चाहिँ मत दिनुहुन्न। उम्मेदवार सक्षम छ भने पुरानालाई बहिष्कार नै गर्नु भने पर्दैन। हिजो जिम्मेवारी पाउँदा देश र जनताका लागि केही गरेको छ भने उसलाई मत दिन सकिन्छ।

यदि केही गरेको छैन भने किन भोटो, मोटो र फोटोकै भरमा सधैं एउटै मात्र व्यक्तिले सत्तामा बसिरहने ? के यो देश कुनै पार्टी वा नेता विशेषको पेवा हो र ?
अतः कुनै पनि नागरिकले मत लहैलहैमा नदिऔं। आफूलाई मन परेको पार्टीको झण्डा बोकेकै भरमा पनि मत नदिऔं। मत घोषणापत्रकै भरमा पनि होइन। बरु घोषणापत्रमा उल्लेख गरिएका कुराहरु पूरा गर्ने योजना र कार्यक्रम के छन् ? मत माग्न घरदैलोमा आएका उम्मेदवार र पार्टीलाई त्यो प्रश्न सोधौं। तपाईंलाई घोषणापत्रमा उल्लेख भएको कुरा पूरा गर्ने योजना पनि छ, ऊ सक्षम पनि छ र उसले गर्छ भन्ने पनि तपाईंमा विश्वास पनि छ भने मात्र त्यस्तो उम्मेदवारलाई मत दिनूस्।

भनिन्छ, राजनीतिमा तपाईंले गलत मानिसलाई मतदान गर्नुभयो भने वा मतदानमा नै भागलिनुभएन भने तपाईं खराबबाट शासित हुन तयार हुनुपर्छ। तपाईंमात्र होइन सम्पूर्ण जनताले खराब मानिसबाट शासित हुनुपर्दछ। त्यसैले सही उम्मेदवारलाई मतदिनु हरेक नागरिकको कर्तव्य हो। पछिल्लो समय नो भोटको अधिकारको बहस पनि चलेको छ। नो भोट पनि गर्न सकिन्छ तर त्यो भनेको मतदानमा भाग लिएर नो भोट गर्ने हो। मतदानमै भाग नलिएर चाहिँ नो भोट हुँदैन। भोटै नहाल्नु भनेको चाहिँ लोकतन्त्रको अभ्यासमै भागन लिनु हो र लोकतन्त्रको अभ्यासमा सहभागी नहुनु भनेको नागरिक दायित्वबाट विमुख हुनु हो। त्यसैले लोकतन्त्रको अभ्यासबाट वञ्चित भएर कर्तव्य विमुख नबनौं।

अबको युगमा मत जोशलाई दिने हो, जाँगरलाई दिने हो, योजनालाई दिने हो, कार्यक्रमलाई दिने हो। जस्तोसुकै योजना र कार्यक्रम भए पनि पार्टीको झण्डा बोकेकै भरमा जोश र जाँगर नभएका र होस् गुमाएकालाई मतदिने हो भने त्यसले यथास्थितिलाई निरन्तरता दिनेबाहेक केही गर्दैन। यथास्थितिमा बस्ने कि अग्रगामी पाइला चाल्ने ? त्यो हाम्रै हातमा छ। अहिले उपयुक्त मौका हो। सोचेर मतदान गरौं।
यथास्थितिवादी शक्तिले जनतालाई परम्परागत मानसिकताबाट बाहिर निस्कन नदिने कसरत सधैं गरिरहन्छन्। पुख्र्यौलीसँग पार्टीको सम्बन्ध जोड्नेदेखि पार्टी संगठनमा आबद्ध भएको स्मरण र बाध्यता गराएर मत लिन्छन्। पार्टीबाट स्वार्थ लुट्न जानेका केही अगुवा भनाउँदाहरुले पनि जनतालाई भ्रमको जालोमा पारेर मत जम्मा गर्दछन् र पार्टीलाई बुझाएर स्वार्थ पूर्ति गर्छन्। जनतालाई मत बैंकको रूपमा प्रयोग गर्ने यस्ता क्रियाकलाप विकासोन्मुख मुलुकमा चलिरहन्छन्।

प्रतिक्रिया दिनुहोस्