नेसनल ट्रेडिङको उचित व्यवस्थापन गर्नुपर्यो



निरन्तर घाटामा रहेको नेसनल ट्रेडिङ लिमिटेडले कर्मचारीलाई स्वेच्छिक अवकाश दिन र ऋण तिर्न जग्गा बेच्ने भएको खबर सुनेर आश्चर्य लाग्यो। हुन त आश्चार्य मान्नुपर्ने कुरो हैन यो। उचित व्यवस्थापन र काम गर्न नसकेर यो संस्थान धराशायी बनेको कुरा जगजाहेर नै छ। नेसनल ट्रेडिङ लमिटेडको टेकुमा रहेको करिब ३ अर्ब रुपियाँको जग्गा बिक्री गर्नको लागि अर्थ मन्त्रालयले स्वीकृत पनि दिएको रहेछ।

सञ्चालन राम्ररी गर्न नसकेर लिमिटेडका कर्मचारीलाई अवकाश दिने योजनामा रहेको नेसनल ट्रेडिङलाई सरकारले गठन गर्न लागेको राष्ट्रिय आपूर्ति कम्पनीमा गाभिने योजना पनि रहेको देखियो। कर्मचारी पाल्न नसकेर यो अवस्थामा जानु सञ्चालन गर्न नसक्ने भएर हो। निरन्तर घाटामा जाने स्थिति हुनुमा कमजोर नीति तथा कार्यक्रम नै हो। जेमा गाभेर जसरी चलाए पनि नीति कमजोर भएमा अस्तव्यस्त हुन्छ। त्यसकारण दिगो योजना बनाएर संस्थान चलाउन सक्नुपर्छ। सम्बनिधत निकायले यो कुरा सोचोस्।

– शिशिर गुप्ता, भक्तपुर
नयाँ नगर निर्माणको खबरले खुशी बनायो
काठमाडौं उपत्यकाका चार क्षेत्रमा नयाँ नगर निर्माण गरिने खबर नेपाल समाचारपत्रको अनलाइन न्यूज अफ नेपालमा छापिएको रहेछ। शहरी विकास मन्त्रालयले बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न उपत्यकाका चार क्षेत्रमा नयाँ नगरहरूको निर्माण गर्ने बारेमा हामीलाई जानकारी दिने मधुसुदन रायमाझीलाई धन्यवाद दिन चाहन्छु।

काठमाडौं उपत्यका भौतिक विकास समितिको बैठकले उपत्यकाभित्रका चार दिशामा चार नयाँ नगरहरू निर्माण गर्ने निर्णय गरेको कुरा राम्रो हो। त्यसैले शहरी विकासमन्त्री अर्जुननरसिंह केसीलाई पनि म धन्यवाद दिन चाहन्छु। उहाँकै पहलमा उपत्यकाभित्रका चारवटै दिशाहरूमा चारवटा नयाँ नगरहरू निर्माण गर्नका लागि जग्गाको भौतिक परिवर्तन र टुक्र्याउन नपाउने गरी रोक लगाउने निर्णयसमेत भएको रहेछ। नदी क्षेत्रको विकास, सडक सञ्जाल विकास, प्रशासनिक केन्द्र, संस्थागत क्षेत्र, सम्पदा क्षेत्रको संरक्षण, व्यापारिक क्षेत्र, आवासीय क्षेत्र, मनोरञ्जन, अस्पताल एवं खेलुकद क्षेत्र, पार्क एवं उद्यान क्षेत्र रहने गरी नयाँ नगरको निर्माण गर्ने योजना मन्त्रालयले अगाडि सारेको विषयले विकासको नयाँ बाटो खुलेको छ।

काठमाडौंको पूर्व–उत्तरमा करिब १ लाख रोपनी क्षेत्रफल ओगटेको नयाँ नगर, काठमाडौंको दक्षिण–पश्चिम, पूर्व–दक्षिण र उत्तर दिशामा १०–१० हजार रोपनी क्षेत्रफल ओगटेको अर्को नयाँ नगरको निर्माण हुने भएकोमा स्थानीयलाई फलिफाप हुने देखिएको छ। शहरको संरचना जग्गा एकीकरणको माध्यमबाट निजी जग्गाधनीहरूसमेतको संलग्नतामा सम्पन्न गरिने भएकोले पनि स्थानीय जग्गादाता खुशी छन्। नयाँ नगर निर्माणमा अन्तर्राष्ट्रिय स्टेट अफ आर्ट शहर निर्माण गर्न सम्बन्धित निकायले गहिरो अनुसन्धान र अनुगमन गरी सम्बन्धित विज्ञहरूको सेवा–परामर्श लिन जरुरी देखिएको छ।

काठमाडौंको दक्षिण–पश्चिम, पूर्व–दक्षिण र उत्तर दिशामा नयाँ नगरको भौतिक पूर्वाधार विकास तथा व्यवस्था गर्न सार्वजनिक क्षेत्रबाट १० अर्ब र निजी क्षेत्रबाट ४० अर्ब रुपियाँ लाग्ने अनुमान भएकाले पनि स्थानीयको स्वामित्वमै भएको जस्तो देखिएको छ। काठमाडौंको पूर्व भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याडसम्म, पश्चिम जोरपाटी, क्रिकेट स्टेडियम, मूलपानी, गोठाटार, मनहरा पुल, भक्तपुर जाने पुरानो बाटो, उत्तर साँखु बजार, साँखु जाने मूल सडक र दक्षिणको भक्तपुर पुरानो बाटो वरिपरिका स्थानीयले नयाँ नगरको अनुभूति पाउने भएकोले उनीहरुले आफूलाई भाग्यमानी सम्झनु पर्दछ। त्यतिमात्रै हैन सरकारले यस्ता नयाँ नगर अन्य स्थानमा पनि बनाउने गरी योजना ल्याएका राम्रो हुने थियो।

काठमाडौं पूर्व–दक्षिणअन्तर्गत उपत्यकाभित्र भक्तपुर, जिल्लाको भुक्तपर नयाँ शहर विस्तार क्षेत्र, कटुन्जे, गुण्डु, दधिकोट, सिरुटार, बालकोट क्षेत्रको जग्गा रहेका छन्। पूर्वमा अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिरअगाडि हुँदै सूर्यविनायक वनलाई बाहिर पार्दै फेदको बाटो, पश्चिममा खहरे खोला, बालकोट, विरुवा सडक, पानी ट्याङकी, बालकोट, अमरनगर, थिमी हुँदै अरनिको राजमार्ग सिमाना, उत्तरमा अरनिको राजमार्गको सिमाना, दक्षिणमा भक्तपुर जिल्लाको सिलागमगाल, रानीकोटा, जङ्गल देउ अन्तर्लिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार बिरुवा हुँदै खरेसम्मको क्षेत्रमा र उपत्यकाको दक्षिण–पश्चिम ललितपुरको साबिकको क्षेत्रमा खोकना, बुँगमती गाविसका जग्गाहरू रहेका छन्।

पूर्वमा छ्यासीकोटदेखि साबिक सैंबु गाविसको सिमाना हुँदै फर्सिडोल, बागमती नदीको झोलुंगे पुलसम्म, पश्चिममा बागमती नदी सिमाना, उत्तरमा साबिक सैंबु गाविसको सिमाना र दक्षिणमा बागमती नदी क्षेत्रभित्रको जग्गामा नयाँ नगर निर्माण हुने भएकोले पनि यो योजना सफल बनाउन सबैले हातेमालो गर्न जरुरी छ।

यता काठमाडौंको उत्तर क्षेत्रमा हरित शहर विस्तार गर्ने योजना अगाडि सारिएको छ। काठमाडौंको तारकेश्वर एवं टोखा नगरपालिकाअन्तर्गत सिमाना हुने गरी हरित शहर निर्माण गर्ने योजनामा पनि स्थानीयले साथ सहयोग गर्न जरुरी छ। त्यति मात्रै हैन, पूर्वमा सामाखुसी–टोखा रोड हुँदै टोखा बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मूल सडक, उत्तरमा सपनातीर्थ मालुगं हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रिनल्यान्ड चोकदेखि मनारथ हुँदै महादेव खोला काभ्रेस्थलीको मूल सडकको पुलसम्म नयाँ नगरमा पनि जनताको साथ–सहयोग चाहिएको छ।

– हरिराम काफ्ले, काठमाडौं

उद्योग बन्द गर्न सक्नुपर्छ

सरकारले सन् २०१८ बाट सम्पूर्ण धूमपान र सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत सन्देशमूलक कुरा छाप्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको राम्रो हो। तर उद्योग नै बन्द गर्न सकेमा यी कुरा केही गर्नै पर्दैन। नेपाल सरकारले बालबालिकाले समेत प्रयोग गर्न सक्ने गरी खुल्लारुपमा सुर्तीजन्य वस्तु बेच्न दिँदा विकृति बढेको छ। नीतिगतरुपमै यसको समाधान हुन जरुरी छ।

स्वास्थ्यमन्त्री गगन थापाले नेपाल सरकारको सन् २०३० सम्ममा सुर्तीजन्य मुक्त पुस्ता निर्माण गर्ने उद्देश्य पूरा गर्न प्याकेटमा त्यसको प्रयोग गर्दा हुने रोगका डरलाग्दा चित्र हुनुपर्ने व्यवस्था गर्न लागिएको बताउँदा त्यसका लागि थप योजना बनाउन जरुरी रहेकोले थापाले अब नीतिगतरुपमा नै यो विषयमा गम्भीर हुन जरुरी छ। सुर्तीजन्य पदार्थको उत्पादनलाई निरुत्साहित गर्न अन्तःशुल्क र मूल्य अभिवृद्धि गरी यसको नियन्त्रणका लागि काम गर्ने मन्त्री थापाले बताए पनि उत्पादन र बिक्री कम भएको पाइएको छैन।

त्यसकारण यस विषयमा नयाँ योजनाका साथ लाग्न म उहाँलाई सुझाव दिन चाहन्छु। यसै गरी २०१८ सम्ममा २१ वर्षमुनिका युवालाई सुर्तीजन्य पदार्थ बेचबिखन गर्न नपाइने कानुनी व्यवस्था गरी कार्यान्वयनमा लागिसक्ने थापाको योजनामा भने म पूर्णरुपमा समर्थन गर्दछु। यो विषयलाई स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक सोचोस्।
– मनोज महर्जन, पाल्पा

प्रतिक्रिया दिनुहोस्