रसुवाको मतदान केन्द्रमा महिला कर्मचारी मात्र



नेपाल समाचारपत्र, रसुवा । बैसाख ३१ हुने पहिलो चरणको स्थानीय तहको चुनावको लागि रसुवाको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ ।
गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेमा रहेको रसुवा माबि मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगी सम्म सबै महिला कर्मचारी खटाइएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन स्थल महिला मैत्री र नमुना केन्द्रका रूपमा स्थापित गर्नका लागि महिलाकै नेतृत्वमा निर्वाचन केन्द्र सञ्चालन गर्नका लागि महिला जनशक्ति मात्र खटाइएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले वताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाका जनस्वास्थ्य अधिकृत बसुन्धरा शर्मा मतदान अधिकृत, जिल्ला नापी कार्यालय रसुवाका सर्बेक्षक अन्जु नेपाल सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, दुई जना कार्यालय सहयोगी समेत महिला रहेका छन् । उक्त मतदान केन्द्रमा छ सय ९४ जना मतदाता रहेका छन् ।

चुनावका लागि जिल्लामा दुई सय ५२ जना कर्मचारी परिचालन गरिएको छ । पाँच गाउँपालिका रहेको जिल्लामा ३४ मतदान स्थल र ४२ मतदान केन्द्र रहेको छ ।

२७ हजार ८ सय ५४ जना मतदाता रहेको रसुवामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका लागि ५ सय १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्