“जित्ने आधार जनताको समर्थन”



नेकपा एमालेसँग चुनावी तालमेल गरी काठमाडौं महानरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उपमेयरको उम्मेदवार बन्नुभएका राजाराम श्रेष्ठ अहिले मतदाताहरूको घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । प्रस्तुत छ, नेपाल समाचारपत्रका लागि रामकृष्ण चापागाईंले उहाँसँग गर्नुभएको चुनाव वार्ता ः

काठमाडौंलाई समृद्ध बनाउनका लागि तपाईंको योजना के–के छन् ?

काठमाडौंलाई समृद्ध बनाउन धेरै योजना छन्। महानगरलाई समृद्ध बनाउन केही तत्काल गर्नुपर्ने योजना छन् भने केही दीर्घकालीनरूपमा गर्नुपर्ने योजना छन्। महानगरभित्र हजारौं समस्या छन्। म यहीं जन्मिएको, यहीं हुर्किएको र यहीं शिक्षा–दीक्षा लिएको व्यक्ति हुँ। म यहाँको समस्याप्रति चिरपरिचित छु।

म यसअघि पनि मेयर र उपमेयरको भूमिकामा रहिसकेको हँुदा समस्या समाधान गर्ने उपाय पनि मसँग छन्। काठमाडौंलाई समृद्ध बनाउने मेरो विस्तृत योजना बताउँदा अहिले लामो हुन्छ। यहाँको समस्या राम्रोसँग बुझेकाले समाधान गरेर समृद्ध बनाउन म सक्षम छु।

तपाईंको निर्वाचन जित्ने आधार के हो ?

मैले अघि पनि भनिसकें नि, म यहाँको स्थानीय बासिन्दा हुँ। मलाई यहाँको समस्या र समाधान गर्ने उपाय राम्रोसँग थाहा छ। मेरो विगतको पृष्ठभूमि, जनता र राष्ट्रप्रति समर्पित व्यक्ति, कर्तव्यपालन र उच्च नैतिकता भएको व्यक्ति, जनताले मप्रति देखाएको समर्थन नै मेरो चुनाव जित्ने आधार हो। साथै मलाई यहाँका स्थानीय बासिन्दाहरुले राम्रोसँग चिन्दछन् र जान्दछन्। मैले पहिला पनि जनतालाई कहिल्यै बेइमानी र झुटो आश्वासन दिइन। फरक राजनीतिक पृष्टभूमिको भए पनि मसधैं यहाँका जनताको साथमा छु। त्यस कारण पनि मेरो जित सुनिश्चित छ।

निर्वाचन जितेपछि सबैको साझा जनप्रतिनिधि बन्न सक्नुहुन्छ त ?

निर्वाचनमा होमिँदा मात्र हामी पार्टीका प्रतिनिधि वा उम्मेदवार हौं। निर्वाचित भइसकेपछि सबै महानगरपालिकाका जनप्रतिनिधि हुन्। जसरी हामी मन्दिर जाँदा जुत्ता बाहिर फुकालेर जान्छौं, त्यसै गरी महानगरपालिकामा निर्वाचित भएर गएपछि सबैको साझा जनप्रतिनिधि बन्न सक्नुपर्छ। महानगरपालिकामा निर्वाचित भएपछि पनि पार्टीगत ढंगले हामी अघि बढ्यौं भने समृद्ध महानगर बनाउन सक्दैनौं। सबै समस्यालाई समाधान गर्दै पाार्टीगतभन्दा पनि साझा कार्यक्रम ल्याएर अघि बढ्दा मात्र सफल भइन्छ। म निर्वाचित भएपछि साझा जनप्रतिनिधि बन्नेमा दुईमत नै छैन। यो कुरा नगरबासीका आम मतदाताले बुझेका छन्।
एमालेसँगको तालमेल कसरी सम्भव भयो ?

म फरक राजनीतिक पृष्ठभूमिको भए पनि महानगरपालिकाको विकराल समस्या छिटोभन्दा छिटो समाधान गर्न मलाई सक्षम देखेर नै एमालेसँग चुनावी तालमेल भएको हो। अर्को कुरा पार्टीगत स्वार्थमा चाहिँ दलहरु मिल्ने, जनताको स्वार्थमा चाहिँ दलहरु एक–आपसमा झै–झगडा गर्ने हाम्रो परिपाटी हटाउनका लागि पनि हामीले तालमेल गरेका हौं। हामी समस्या समाधान गर्न र महानगरपालिका र यहाँका बासिन्दाको समस्या मिलेर नै समाधान गर्छांै भनेर तालमेल गरी चुनावी मैदानमा उत्रिएका छौं।

प्रतिक्रिया दिनुहोस्