फलिफाप



हिजो धरहरानजिकै आइपुगेका एक जना एमाले कार्यकर्ताले गुनासो गर्दै गरेको सुनियो– ‘हैट, अध्यक्ष कमरेडले त थोरै खानुस् र चुनावमा लाग्नुस् पो भन्नु भएछ। थोरै खाएर त कसरी चुनावमा हिँड्नु र? चुनाव भनेपछि यसो तलमाथि त भइहाल्छ नि।’

अर्का कार्यकर्ता भन्दै थिए– ‘धेरै खायो भने प्रचार प्रसारमा दौडन सकिँदैन भनेर कमरेडले त्यसो भन्नुभएको होला नि। ठीकै त भन्नुभयो।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरमा आयोजित एउटा कार्यक्रममा यसो किन भन्नुभयो धरहरालाई थाहा भएन। तर, धरहराले राजधानीमा भएका मासु र मदिरा पसलतिर यसो दूरबीन घुमाउँदा त्यहाँका साहुजीहरू भने अहिले दंगै परेको पाइयो। उनीहरू भन्दैथिए– ‘यस्ता चुनाव त सधैं आइरहे हुन्थ्यो भन्ने लागेको छ।’
हुन पनि जनतासमक्ष मत माग्नुपर्ने र जनतालाई जनार्दन बनाउने चुनावबाट जनविरोधी मात्रै डराउने हो। जनपक्षीय त सधैं खुसी नै हुन्छन्।

जनतासँग लगाव हुने त झन् हौसिनुपर्ने हो। जे होस् चुनावले फ्लेक्स बनाउने, छाप्ने, माइक व्यवसायीदेखि सबैलाई फलिफाप नै भएको देखियो। आउँदो माघ ७ भित्र ३ वटा चुनाव गर्नुपर्ने बाध्यता रहेकाले धेरैलाई धेरैथरि लाभ हुने संकेत धरहराले देखेको छ। लाभ हुनु पनि पर्छ, सर्वसाधारणले मात्रै कति घाटा सहने त? कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्