जागौं जनता



स्थानीय निर्वाचनअन्तर्गत पहिलो चरणको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ । अहिले पहिलो चरणमा निर्वाचन हुन लागेका ३४ जिल्लामा निर्वाचनको माहौल निकै राम्रोसँग अघि बढिरहेको देख्न पाइन्छ । झन्डै दुई दशकपछि हुन लागेको यो निर्वाचनको महत्व आफैंमा उचाइमा रहेको छ । कतिपय स्थानमा निर्वाचन विरोधी गतिविधि भए पनि ती नगण्य नै रहेका छन् । त्यसैले मुलुक निर्वाचनमा होमिइसकेको भन्दा अतिशयोक्ति हुँदैन । स्थानीय निर्वाचन भनेको स्थानीय समस्यासँग सम्बन्धित र विकास निर्माणसँग सोझै जोडिएको निर्वाचन हो । त्यसैले यसमा जनतालाई मताधिकारबाट रोक्ने कार्य कसैबाट पनि नगरौं ।

स्थानीय निर्वाचनमा ठूला–ठूला कुरा गर्ने भन्दा पनि स्थानीय समस्या के हुन् र तिनको समाधानका लागि कुन पार्टीको उम्मेदवारसँग के वस्तुगत एजेन्डा छन्, त्यसको निक्र्यौल गरेर जनताले चुन्नु सही हुन्छ । जुन एजेन्डा व्यावहारिक पनि हुनुपर्यो । ठूला कुरा गरेर एक–आपसमा हिलो छ्याप्ने तर केही पनि नगर्नेहरूलाई सजाय दिने यो जनतालाई प्राप्त अवसर पनि हो । त्यसैले अबको स्थानीय निर्वाचनमा सत्ता लुछाचँुडी भन्दा पनि स्थानीय विकास र समृद्धिलाई ध्यान दिने उम्मेदवारलाई छनौट गर्नु उपयुक्त हुन्छ ।
यसअघि कुनै दलका तर्फबाट कुनै आश्वासन बाँडिएका छन् र ती पूरा भएका छैनन् भने किन भएन भनेर ती दलका उम्मेदवार भोट माग्न आउँदा सोध्ने साहस गरौं । उनीहरूको जवाफ चित्त बुझेमा भोट हालौं, चित्त नबुझेमा अर्कोलाई रोजौं । गोप्य मतदान भएकोले निर्धक्क भएर सबै जनता निर्वाचनमा सरिक हुनु जरुरी छ । झै–झगडा गर्ने र एक–आपसमा निर्वाचन आयोगले तोकेको भन्दा बाहिर गएर तनाव सिर्जना गर्ने वा आचारसंहिता उल्लंघन गर्नेहरूलाई जनताले सजाय दिने मौका पनि यही हो । वास्तविक रूपमा आफ्नो क्षेत्रको विकासको लागि को लागिपरेको छ, उसलाई पुरस्कृत गर्ने मौका पनि यही हो । त्यसैले जनसमुदायले सचेत भएर निर्वाचनको यो महोत्सवमा सहभागी हुनु जरुरी रहेको छ । कसैलाई मुलुकको यथास्थितिमा चित्त बुझेको छैन भने मतदानमार्फत विद्रोह गर्ने समय पनि यही हो । यहाँको विद्रोहले आफूले चाहेको उम्मेदवारलाई स्थानीय सरकारको चाबी–ताला चलाउने स्थानसम्म पुर्याउन सक्नुहुन्छ । त्यसैले यो मौका कसैले पनि गुमाउनुहुँदैन ।

निर्वाचन जनताको मतादेश लिने सबैभन्दा महत्वपूर्ण अवसर हो । त्यसैले दल र उम्मेदवारहरूले झीना–मसिना कुरामा झगडा गरेर अवस्थालाई तनावपूर्ण बनाउने काम नगरौं । जनतालाई शान्तिपूर्ण ढंगले आफ्नो विवेक प्रयोग गर्ने वातावरण सिर्जना गर्न सबै पक्ष लाग्नु जरुरी रहेको छ । यसो हुन सकेमा नै स्थानीय सरकारमा जनताको वास्तविक प्रतिनिधित्व हुने अवस्था उत्पन्न हुनेछ । सबै मिलेर हरक्षेत्रमा विकासका लागि प्रयास गर्ने हो भने समृद्धि र परिवर्तन त्यति धेरै गाह्रो कुरा पनि होइन । विकासमा विश्वका कुनै पनि मुलुककै हाराहारीमा हामी आउने यथेष्ट सम्भावना रहेको छ । त्यसका लागि हामीलाई चाहिएको छ– उपयुक्त योजना र तिनको इमानदाररूपमा कार्यान्वयन । यसका लागि जनता सचेत भएर निर्वाचनमा लागिपरौं । दल, सरकारलगायतका संयन्त्र र उम्मेदवारहरूले जनताको यो अधिकारको सम्मान गर्दै उपयुक्त वातावरण बनाऔं ।

प्रतिक्रिया दिनुहोस्