“जनताको मन जितेको छु”



जयराम मल्ल
राप्रपाका तर्फबाट
वडा अध्यक्षका उम्मेदवार

यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय चुनावमा काठमाडौं–२० मा राप्रपाको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएका जयराम मल्लका आफ्नै खाले योजना छन्। मल्लसँगको संक्षिप्त कुराकानीः

वडा नम्बर २० का लागि तपाईंका चुनावी अजेन्डा के–के छन् ?

काठमाडौं महानगरपालिकाको विकट वडाका रुपमा चिनिएको २० नम्बर वडाको आर्थिक सामाजिकदेखि अन्य सबै पक्षलाई द्रूत गतिमा विकास गरी लानुपर्ने नितान्त आवश्यक छ। महानगरपालिकाको अन्य वडाको तुलनामा विकासको गति कछुवाको तालमा अगाडि बढेको छ। यस वडालाई सुन्दर, स्वच्छ र नमुना बनाउने मेरो मुख्य योजना हो।

२० वडाका जनताले तपाईंलाई किन जिताउनुपर्ने जस्तो लाग्छ ?

यो वडाको समुन्नति र विकासका लागि मलाई जिताउनुहोस् भनेको छु। उच्चस्तरको स्वास्थ्य उपचार केन्द्र निर्माण गर्ने मेरो योजना छ। त्यस कारण पनि मैले मलाई जिताउनुहोस् भनेको हुँ। त्यतिमात्रै होइन निम्नदेखि उच्च शिक्षासम्म दिलाउन सक्ने गरी शिक्षालय निर्माण, पानी, बिजुली, ढल आदिको व्यवस्थापनका लागि, सनातन धर्म बचाउन र स्थानीय पर्व परम्परा र जात्रा जोगाउनका लागि मलाई जिताउन मैले भनेको छु। यस वडाभित्रका मठ–मन्दिर संरक्षण गर्न र वडाका युवालाई स्वरोजगार बनाउने किसिमका कार्यक्रमहरू ल्याएर रोजगारी सिर्जना गर्न मलाई जिताउन भनेको छु।

कार्यान्वयन कसरी होला त ?

मसँग पुरानो अनुभव छ। म आफैंमा विकासवादी मान्छे हुँ। यो वडाका लागि विकासका काममा बढी महत्त्व दिने योजना छ। म र मेरो पार्टीले योजनाका कार्यक्रम हाम्रो वडामा ल्याउन प्रयत्न गर्छौं। हामी समाज सेवामा लाग्छौं। स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्छौं। स्थानीयको माया र साथ हामीलाई छ। त्यस कारण पनि हामी आफ्ना कार्यक्रम सजिलै पूरा गर्न सक्छौं।

तपाईंको जित्ने आधार के छ ?

वडाबासीको माया र साथ मेरो लागि जित्ने प्रमुख आधार हो। मलाई र मेरो पार्टीलाई यहाँका स्थानीयले माया गर्नुहुन्छ। त्यति मात्रै होइन मैले गरेका विकास निर्माणका कामले पनि स्थानीयको मन जितेको छ।

प्रतिक्रिया दिनुहोस्